अमेरिकाको मिजौरी-दुर्घटनामा निधन भएका तीन नेपालीको दाहसंस्कार: ओभाएनन् आफन्तका आँखा

कहाँको जन्म कहाँको मरण : कसले के भन्न सक्छ र ? तस्बिर : सामाजिक सञ्जाल

अमेरिकाको मिजौरीमा सेप्टेम्बर ३ मा भएको एक सडक दु्र्घटनामा निधन भएका तीन नेपालीको दाहसंस्कार गरिएको छ ।

एनआरएनए-एनसीसी, युएसएका तत्कालिन सल्लाहकार तथा कन्सास सिटी नेप्लिज सोसाइटीका अध्यक्ष डा. राजन पन्तले उनीहरूको मिजौरीको स्प्रिङफिल्डमा हिन्दू परम्पराअनुसार आइतबार दिउँसो दाहसंस्कार गरिएको बताए । उनका अनुसार दाहसंस्कार पहिले अमेरिकाको विभिन्न राज्यबाट आएका आफन्त तथा नेपाली डायस्पोराका अगुवाहरूको उपस्थितिमा एक श्रद्धाञ्जलीसभा आयोजना गरिएको थियो । उनीहरूले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेका थिए ।

उनीहरूले दुर्घटनामा परेर उपचार गराइरहेका प्रभास ओझा र सौर्य ओझाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए । 

गत सेप्टेम्बर ३ मंगलबार मिजौरीको जोप्लिनमा भएको एक पारिवारिक कार गभ्मीर दुर्घटनामा परेको थियो । कारमा सवार पाँचमध्ये तीनको दु:खद निधन भएको थियो भने दुईजनाको उपचार भैरहेको छ । निधन हुनेमा २५ वर्षिय श्रद्धा खनाल ओझा र उनका बाबुआमा ६६ वर्षीय गोविन्द प्रसाद खनाल र ५२ वर्षीय शान्तादेवी खनाल रहेका छन् । दुर्घटनामा श्रद्धाका पति प्रभास घाइते भएका थिए भने प्रभास-श्रद्धाका चार वर्षीय छोरा सौर्य गम्भीर घाइते भएका थिए । सौर्यको स्थानीय अस्पतालको आइसीयुमा राखेर उपचार जारी राखिएको छ भने प्रभास क्रमश: सामान्य अवस्थामा फर्किरहेको बताइएको छ । 

भाका, भुल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो ।
इन्द्र बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो ।।
राजा रङक सबै सम्मान उसका बैषम्य गर्दैन त्यो ।
आयो टप टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।।

टेक्सासको एलेनबाट तीज मानेर मिजौरीको ब्लुस्प्रिङमा रहेको घर फर्कदै गर्दा ओझा-खनाल परिवारका सदस्य सवार गाडीलाई इन्टरस्टेट ४४ राजमार्गमा पछाडिबाट मिनी ट्रकले ठक्कर दिएको थियो । ट्राफिक लाइटमा रोकिएको बेला दिइएको ठक्करले गोविन्द खनालको घटनास्थलमै र शान्ताको अस्पताल लैजादा बाटोमै निधन भएको थियो भने श्रद्धालाई अस्पताल पुर्याएपछि चिकित्सकहरूले मृतघोषणा गरेका थिए ।

पुर्खौली घर खोटाङ रहेका उनीहरूको पछिल्लो बसोबास विराटनगर रहेको थियो । गोविन्द र शान्ता केही समयअघि मात्र छोरी-ज्वाइँको निमन्त्रणामा अमेरिका घुम्न आएका थिए । डिभी परेर अमेरिका आएको ओझा परिवारले प्राथमिक संघर्ष छिचोलेर सहज जीवन व्यतित गर्ने अवस्थामा जीवनस्तर उकालेका थिए । 

 

प्रकाशित मिति: : 2019-09-09 02:46:21

प्रतिकृया दिनुहोस्