इरानले अमेरिकी ड्रोन खसालेको पेन्टागनद्वारा पुष्टि : बढ्यो युद्धको खतरा

अमेरिकी ड्रोन जसलाई इरानले क्षेप्याश्त्र हानेर खसाली दियो । तस्बिर : पेन्टागन

अमेरिकी सेनाको एउटा जासुसी ड्रोनलाई इरानले खसालिदिएको पेन्टागनले पुष्टि गरेको  छ । पेन्टागनका उच्च अधिकारीहरूका अनुसार स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको ड्रोन जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिएको हो । 

यसअघि इरानको इस्लामिक रिभोलुसन गार्डस् कोर(आइआरजिसी) ले बिहीवार सबेरै उक्त जासुसी ड्रोन इरानी आकाशभित्र पाइएकोले त्यसलाई खसालिएको जनाएको छ ।

यो 'अमेरिकालाई स्पष्ट सन्देश' हो, आइआरजिसीका कमान्डर मेजर जनरल हुसैन सलामीले इरानी सरकारी सञ्चार माध्यम इर्नालाई बताएका छन् ।

केही समययता अमेरिका र इरानबीच तनाव चुलिदै गएको छ । त्यही क्रममा भएको यो घटनाले युद्धको खतरा बढाएको छ । 

केही दिनअघि गल्फ अफ ओमानमा दुईवटा पेट्रोलियम तेल ट्याङ्करमाथि हमला भएको हमलामा इरानको हात रहेको भन्दै अमेरिकाले एक हजार अमेरिकी सेना खटाउने बताएको थियो। तर, इरानले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ।

यसैबीच रुसी सहायक विदेशमन्त्री सर्गेई रियाबकफले अमेरिकाले जानाजान इरानलाई युद्धका लागि उक्साउने काम बन्द गर्नुपर्ने बताएका छन् भने चिनियाँ विदेशमन्त्री वाङ् यीले इरानमाथि थोपरिएको चर्को दबाबले पूरै मध्यपूर्वमा सम्हाल्न नसकिने खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । 

 
प्रकाशित मिति: : 2019-06-20 21:29:46

प्रतिकृया दिनुहोस्