अलविदा बिदुर : स्याङ्जाको जन्म, लिस्वनको निधन

तस्बिरः बिएल

कहाँको जन्म, कहाँको मरण कसले के भन्न सक्छ र ? भनेजस्तै भयो स्याङ्जा पुतलीबजारका विदुर रेग्मीको जीवनमा पनि ।

स्याङ्जा नगरपालिका बाडखोला नयाँ बजारमा जन्मेका रेग्मीको निधन भने पोर्चुगलको राजधानी लिस्बनमा भयो। २९ वर्षको अल्पायुमै उनले अप्रिल ६ तारिख राति यो संसारलाई अलविदा भने।

हृदयाघात भएर लिस्बन अल्कान्त्रामा बाटोमा पल्टिरहेका रेग्मीलाई बटुवाले देखेर पुलिसलाई खबर गरेका थिए। पुलिसले एम्बुलेन्सलाई खबर गरेर डाक्टर आइपुग्दा उनले सदाका लागि यो संसार छोडिसकेका थिए। 

अहिले उनको शव लिस्बनमा राखिएको छ। गैरआवासीय नेपाली संघ पोर्चुगल र विभिन्न संघ संस्थाका अगुवाको पहलमा उनको शवलाई नेपाल पठाउने तयारी भइरहेको छ। शव पठाउन निकै खर्चिलो हुने भएकोले पोर्चुगलमा बस्ने नेपालीले सहयोग संकलन थालेका छन्।

विद्यार्थी कालदेखिनै राजनीतिक गतिविधिमा संलग्न विदुर पोखरामा अध्ययन गर्दा राजनीतिमा निकै क्रियाशील थिए। उनी गत स्थानीय निर्वाचनमा पुतलीबजार नगरपालिकाको मेयर पदमा उपविजेता रहेका तुलसी रेग्मीका एक मात्र छोरा हुन्। उनकी एक दिदी र दुई बहिनी छन्। 

 

प्रकाशित मिति: : 2019-04-09 03:48:43

प्रतिकृया दिनुहोस्