श्रृंखला- २: अमर सार्की अर्थात् गरिबीका एक अविच्छिन्न उत्तराधिकारी

तस्बिरः बीएल

कर्णालीका कथित दलितहरूको कथा

प्रश्नः आउँदा दिनका बारेमा तपाईंको के सोचाई छ? 
उत्तरः म भविष्यबारे केही सोच्दिनँ।हिजो र आज मेरो लागि उस्तै हो।हाम्रो जीवनमा उमेरभन्दा अरु केही फेरिँदैन।हिजो पनि म इँट्टा फ्याक्ट्रीमा इँटा बनाउन गएको थिएँ र आज पनि जानु छ। भोलि पनि मैले गर्ने काम उही हो।

हाम्रा समस्या सँधैभरी उस्तै छन्।हामी मुसहरका लागि हिजो नै आज हो र आज नै भोलि किनभने हिजोको भोलि आज हो।यदि तिमी मेरो घर आयौ भने देख्नेछौ त्यहाँ केही फेरिएकै छैन। त्यसैले आज नै सबथोक हो हाम्रो लागि । आज महत्त्वपूर्ण हो।

हामी हाँस्छौं, मजाक गर्छौं, पिउँछौ, खान्छौँ, जे छ आज नै गर्छौं। हामी भोलिका लागि केही साँच्दैनौ- न पैसा, न खाना न आनन्द, न मनोरञ्जन।यदि तिमी कुनै मुसहरलाई उसको भविष्यको सपनाबारे सोध्छौ भने केही उत्तर पाउने छैनौ।किनभने हामी विगतविहिन, वर्तमानविहिन र भविष्यविहिन छाैं । 

प्रश्नः तपाईंको सबैभन्दा ठुलो चाहना के हो ? 
उत्तरः यदि मैले ज्यालाबापत तीन किलो अन्नको ठाउँमा चार किलो पाएँ भने अनि एक गिलास रक्सी र मिठो पोषणयुक्त खाना पाएँ भने निकै खुशी हुनेछु। 

प्रश्नः तपाईंलाई जमिन र राम्रो घर चाहिंदैन ? 
उत्तरः हामी मुसहरलाई कसले दिन्छ जमिन र घर ? मलाई विश्वास लाग्दैन कसैले हामीलाई जमिन दिन्छ भन्ने। के तिमी दिन्छौ ? 

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र/मानवशास्त्र विभागले ‘सोशल इन्कुलजन एटलस एण्ड इथ्नोग्राफिक प्रोफाइल बनाउने क्रममा प्रकाशित गरेको ‘मुसहर अफ नेपाल’ पुस्तकको परिशिष्टमा समावेश एक मुसहरसँगको अन्तरवार्ता हो यो। 

यो पनि पढनुस्

तराईमा बस्ने सामाजिक अनुसन्धानदाता रामचन्द्र श्रेष्ठले आफ्नो अनुसन्धानात्मक लेख ‘मुसहरलाई कसले दिन्छ जमिन’मा उतारेको चित्रले तराईको भयानक गरिबीलाई देखाउँछ। पहाडको गरिबी र तराईको गरिबीमा केही हदसम्म भिन्नता छ।पहाडमा मान्छेहरुसँग ओत लाग्नलाई छानो छाउने एक टुक्रा जमिनसम्म हुन्छ तर तराईमा त त्यो पनि हुन्न। माथिको अन्तर्बार्तामा पाइएको उत्तरले त्यही यथार्थ उतारेको छ । 


मनमा प्रश्न उब्जिरहेको छ। छानो छाउनलाई भएको एक टुक्रा जमिनभित्र पहाडियाचाँहि चैनसँग बसिरहेको छ ? उसलाई किञ्चित दुःख छैन ? के पहाडिया गरिबी भयानक छैन ? यीनै प्रश्नहरुको उत्तर भेटाउनु छ।

यस वर्ष जुम्लामा पछिल्ला दुई दशककै सबैभन्दा बढी हिउँ पर्यो। आज घाम लाग्छ भनेर आश मान्यो फेरि हिउँ परिहाल्छ। हिउँले चिसो निकै बढ्यो। चिसोले मान्छेलाई आजित बनायो।निरन्तरको हिउँले बालीनाली राम्रो हुन्छ। फलफूल राम्रो हुन्छ।तर, जनजीवन भने कष्टकर हुन्छ।आवतजावतमा समस्या पर्छ। घाम नलाग्ने ठाउँमा मान्छेलाई झन् कष्ट हुन्छ।

 अमर सार्की  श्रीमती गोरीकलासँग

२०७५ फागुन ३ गते राति हिउँ र पानी सँगै पर्यो।४ गते बिहान चिसो निकै बढेकाले बोहरागाउँका गाउँले सित्तिमित्ति घर बाहिर निस्कने आँट गरेका थिएनन्।तर, स्थानीय अमर सार्की भने बिहानै जंगलबाट मुडो ल्याएर फर्किसकेका थिए।चिसो बिहानमा पसिनाले भिज्ने गरी जीउ तताएका अमर ४३ वर्षका भए।उनी आफ्नो दैनिकी पूरा गर्न चिसोको कुनै प्रवाह नगरी बिहानै निस्किएका थिए। 

जंगलबाट मुडो बिसाएर घरभित्र पस्ने बेलामा उनकी नयाँ बुहारी भर्खर चुलोमा भात बसालिरहेकी थिइन्।उनले चुरोट सल्काए।जेठो छोराले भ्याकुडो(जंगली चरा) मारेर ल्याएका थिए।त्यसलाई पोलेर एक कुनामा राखे।भात बाफिदै जान्छ।उनले सल्काएको चुरोटको धुवा कोठाभरि फैलन्छ।

छेउमा बसेकी उनकी श्रीमती गोरीकलाको आवाज त्यसैमा घोलिएर आउँछ। केही आश मान्दै पीडामिश्रित स्वरमा सुस्केरा हाल्दै बोल्छिन्- ‘दुःखा कुडा गरु भुन्या कति गरुँ ? कैखन गरुँ ? हेन्न्या फेन्न्या केही नाई। एक दिन
सुविस्ता नभई मन्न्या(मर्ने) दिन आइग्या।रात निद नाई, दिन भोक नाई।’

जम्मा ३८ वर्षकी उनी आफू मर्ने बेला भयो भन्दै थिइन।उनको अनुहार उज्यालो थिएन।बोलाइमा खुलापन थिएन। उत्साह मरेको थियो।आफ्नो दुःखका दिन सम्झदै भन्दै थिइन्- ‘भगवानले यस्तै भाग दिएका रैछुन।’ पाको उमेरकी महिलाजस्तै बोलिन् गोरीकला। उनकाे पीडामिश्रित स्वरले भन्छ उमेर ढल्किसकेकाे छ।

दुई कोठाको घर।बाहिर एउटा खाट नअट्ने कोठा।भित्र भान्छा।परिवारका सबै बसेर एकैपटक खानलाई ठाउँ नपुग्ने। भात पाक्दै गर्दा दुईजना अरु थपिएपछि छोरा-बुहारी ठाउँ छोडेर बाहिर निस्किए।जेठो छोराले बिहे गरेपछि बाहिरको कोठामा उनीहरु सुत्छन्।माइलो र साइलो छोरा काम गर्न भनेर काठमाडौं गएका छन्।उनीहरु आफूले कमाएको केही पैसा घर पठाउँछन् त्यसले पनि घर खर्च चलाउन सहज बनाएको छ।

‘घरका सबै जाहान साथै(संगै) बसी कहिल्यै खाना खाया नाई।’ गोरीकलाबाट साँघुरो घरको पीडा प्रतिविम्वित हुन्छ। 

केटोकेटी दुई-तीन वर्षको अन्तरमा जन्मेका हुन्।हुर्काउन भएका दु:ख सम्झिने हो भने पहाडले थिचेझैं हुन्छ।साना भएको बेला काखमै सुतिहाल्थे।तीनले वरिपरिबाट झिंजोलेनन् भने पनि एक गाँस खाएको खाएजस्तै लाग्दैनथ्यो। तर, हिजोआज ती सबै घर भए भने सास्ती हुन्छ।गोरीकला भन्छिन्- ‘पहिला टट्की(केटाकेटी) बादै(सँधै) आफूसँग भैदिएले जस्तो हुन्छियो हिजोआज नभैदिएले जास्ते लाग्दोछ।’ उनी थप्छिन्- ‘आम्ना सन्तान त आम्नै वरिपरि उनो हुनु राम्मो हो कट्ठ के गरुँ?, आम्नो घर नाई।’ दोहोर्याउँदै साँघुरो घरभित्रकाे पीडा फराकिलो बनाउँछिन्। 

पोहोर साल विदेशीको सहयोगमा जुम्लामा सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालयमार्फत जतना आवास कार्याक्रम लागु भयो।त्यो कार्यक्रमले बोहरागाउँको दलित बस्तीमा १७ घर सित्तैमा बने।यो कार्यक्रममा पहुँच हुनेको हालिमुहाली भयो भन्ने गोरीकलालाई लागेको छ।जनप्रतिनिधिले नै त्यसो गरेको भन्ने गाउँलेको ठहर छ।वडामा दलित महिला सदस्यको कोटाबाट निर्वाचित प्रतिनिधिले आफ्नो पार्टी निकटकालाई मात्र सो सूचना दिएपछि अरु बञ्चित भए। १७ वटै घर पाउँनेमा उनको राजनीतिक आस्था निकटका छन्।गाउँमै तिनतलाको जस्तावाला घर भएका, ठेकेदार र राम्रो आम्दानी हुनेले पनि राजनीतिक आस्थाको आधारमा घर पाए।तर, वास्तविक गरीवले पाएनन्।साँघुरो घरलाई देखाउँदै ‘सबैले घर पाया, आम्ना टटकी(छोराहरुलाई) न स्याउन्या (सुताउने) ठाउँ नाई क्या गरुं?, आम्नो आगेल्लो कोई नाई पछिल्लो कोइ नाई’ गोरीकलाले पँहुचबिहनिताको सुस्केरा हालिन्। 

वाबुको बिडो थाम्दै आइरहेका छन अमर सार्की

यतिबेला उनका लोग्ने सकिन आँटेको चुरोटको धुँवा उडाउँदै थिए। अन्तिम सर्को तान्न ठुटो चुरोट गोरीकलालाई दिए । 

अमर भर्खर मान्छे चिन्ने र वरपरको थाहा पाउने भएका थिए, उनको घरमा ठुला भनेका बा मात्रै थिए।आमा थिइनन्।दुईटी बहिनी र एउटा सानो दुधमुखे भाइ। सबै बा गर्थे। बाले गरेको सुख, दुःखले चार भाइ, बहिनी हुर्के।त्यही बीचमा जेठा अमरको बिहे भयो।थोरै खर्चमा।धुलो माटोमा साथी-संगीसँग घरबार खेल्दाखेल्दै बढेका बहिनी पनि बिहे गर्ने भए।उनीहरुले भागी बिहे गरे।अमरका बाले ठीकै छ जे गर्यौ, राम्रै गर्यौ भने।उनीहरु माइत आउजाउ गर्न लागे।सब ठिकठाक चलिरह्यो । 

बाबु सँधै दाउरा लिएर बजार जान्थे।हरेक दिन दाउरा बेचेर कमाएका पैसाले नै उनीहरुको दैनिकी चलिरहेको थियो।उनीहरुले खाने-लाउने त्यसैबाट चलिरहेको थियो।त्यसअलबा बा गाउँकै देवकोटा बाहुनका हली पनि लागेका थिए।बदलामा उनले धान लगाउने खेत पाएका थिए।त्यही खेतले उनीहरुलाई अन्नसँगको दर्शन गराउँथ्यो।तर, त्याे खेत भने साहुकै नामकाे थियाे। बाकै चाकरीको प्रतिफल उनीहरुले घर लगाउने जग्गा पाएका थिए।उनका बाप्रति निकै उदार र दयावान बनेका देवकोटाले उनीहरुलाई घर बनाउने जग्गा उनीहरुको नाममा पास गराइदिए। उनले त्यसबेला देवकोटालाई देउता माने।त्यसपछि उनीहरुले जतिपटक हलो जोत्न भने उतिपटक 'हस्' भनिदिए। 

बाबुले सँधै जिल्ला प्रहरी कार्यालयमा दाउरा दिन्थे। बिहे भएको साल उनले छोराको काँधमा यो जिम्मेवारी सुम्पे।अब अमर हरेक दिन जिल्ला प्रहरी कार्यालयमा दाउरा पुर्याउँन जान थाले। त्यसपछि सँधै कमाएर आफू सबैलाई खुवाउने बा अब आफ्नो आश गर्ने भए।अमरले प्रहरी कार्यालयमा दाउरा पुर्याउन बाबुले दिएको जिम्मेवारी उत्तराधिकारीको रुपमा पूरा गर्दै आए।

बालाई उनका लगी (हली लागेको खेतको मालिक)ले काममा लगाइदिए। बाले अमरलाई प्रहरी कार्यालयमा दाउरा फाल्दाफाल्दै उनको परिवारको आकार बढ्दै गयो। झण्डै दुई-दुई वर्षको अन्तरमा तीन छोरा भए।हाल ज़ठो छोरो २० वर्षको भयो।माइलो १८ वर्षको र साइलो १६ वर्षको।त्यसको केही समयपछि अर्को बच्चा पनि जन्मियो।ऊ १२ वर्षको छ।कक्षा पाँचमा पढिरहेको।स्कुलमा फष्ट हुन्छ। तर, यतिबेला उसलाई ड्रेस र किताबको अभाव छ। 

उतिबेला परिवार नियोजनबारे केही पनि थाहा थिएन।पछि चार छोरा जन्मिसकेपछि मात्रै थाहा भयो- बच्चा धेरै जन्माउनु हुँदैन रहेछ भन्ने कुरा।पछि थाहा पाएर केही पार लागेन।परिवार नियोजनका कुरा सुन्नुभन्दा बढी छोराहरु हुर्काउनमा ध्यान गयो।

बढ्दै गरेको अमरको परिवारमा थपिइन्- उनकी लाटी साली।ससुरालीमा कोही नभएपछि ओत लाग्नलाई अमरको साँघुरो घरमा आइपुगिन्।पछि प्रहरी कार्यालयमा दाउरा पुर्याउँने काम साली र श्रीमतीले गर्न थाले।उनले जंगलबाट घरसम्म ल्याइदिने काम मात्रै गरे हुने भयो।

यहीबीचमा उनले घर बनाउने सिकर्मीको काम पनि सिके तर आफ्ना औजार नभएकाले अरुको भर पर्नुपर्ने भयो। औजारै नभएपछि काम पाउन पनि मुस्किल।त्यसैले उनी हिजोआज केही काम गर्दैनन्।

प्रहरी कार्यालयमा लिने दाउराबाट मासिक १४ हजार आँउछ।त्यो रकमले आधा महिना पनि पुग्दैन।जंगलबाट दाउरा ल्याउन नपाएको दिन गाउँबाटै किनेर लिनुपर्छ।त्यसो गर्यो भने त्यो १४ हजार बाँढिन्छ।त्यसमाथि वन समितिले कडाइ गर्यो भने कम्ताको सास्ती हुँदैन।त्यसो भयो भने त घरमा खान पनि पुग्दैन।पेश्की माग्नुर्छ।पेश्की कहिले फर्छ्यौट हुँदैन। उनकाे नाममा सँध बेरुजु रहिरहन्छ। 

माथिका जस्तै प्रश्नको उत्तर पनि लगभग माथिको जस्तै छ।मुसहरजस्तै अमर पनि सपनाविहिन र भविष्यविहिन छन्।उनको विगत पनि सम्झनलायक छैन।उनलाई बाबु-बाजेको पैत्रिक सम्पति थियो/थिएन केही थाहा छैन।बाबु-बाजेप्रति केही गुनासो पनि छैन। ‘बाले हली लागेर पाएको जमीनमा ओत लाग्न पाएको छु। बाले दिएको जिम्मेवारी सम्हालेर घरबार चलाएको छु।अब यो काम जेठो छोराको जिम्मा लगाएर बस्न पाए हुन्थ्यो भन्ने लागेको छ’, अमरले भने।उनी अहिले प्रहरी कार्यालयमा दाउरा फाल्न जाने उत्तराधिकारी चयनको तयारीमा छन्।

उनको घरमा खाना पाकिससकेको हुन्छ। खानाअघि बिहान छोराले ल्याएको भ्यकुडोसँग रक्सी खान लागेका छन्। 

बिहान उनको अवस्थाबारे सोधपुछ गर्दा उनको परिवारले केही आश मानेको थियो। 'उनको बारेमा लेखेर सु्ख, दु:ख सबैसामु पुर्याउने बाहेक केही सकिदैन',मैले यसै भनेँ।

दाउरा नबिकेको दिन, अमर सार्कीको घरमा यो भाँडो तात्दैन।

एक फरक प्रश्नको उत्तरमा अमरले भने ‘बिहान-बेलुका गरेर हरेक दिन एक बोलत रक्सी खान्छु, जे गरेर भए पनि यसको जोहो चाँहि गर्नैपर्छ। नत्र टेन्सन हुन्छ।’

प्रकाशित मिति: : 2019-04-05 21:21:40

प्रतिकृया दिनुहोस्