मनभित्रको उकुस मुकुस

तस्बिरः बिएल

‘नखाइयो कसम, न लाइयो माया तिमीसँग।

बोलियो हाँसियो न भयो दाँयाबाँया तिमीसँग।

प्रिय मन, सिरानीमा लेखिएका यी शाब्दिक उपहारसँगै आज धेरैपछि म फेरि हराएका शब्दहरूको खोजी गर्दै गुम्सिएका रहरहरूलाई मनको आँगनीमा फुकाउँदै तिमी सामु पोखिदै छु, अलिकति उही पुरानै भावदशामा।

तिमी सहजै स्पर्श गरिदिन सक्छौ मेरा हर अन्तरंगलाई। जीवनका पाटाहरूमा तिमी कहीँ कतै अल्मलिएपछि, म कतै अल्झिएपछि समय बल्झिएको हो अरू केही होइन।

तिमीसँग नजिकिन नपाईकन बढेको दूरी र तिनै बढेको दूरी र अन्योलतामा पनि मनले यदाकदा खोजिरहने शाब्दिक निकटताबाट म टाढा हुन सकेकी भने थिइनँ।

विश्वासका पूर्वाधारहरू खडा गर्नु पर्दैन मैले तिम्रो अगाडि किनकि सत्यता भ्रमपूर्ण हुन सक्दैन। मनभित्र उकुस मुकुस कुराहरूको भिडन्त चलिरहेको बेला कस्तो छ तिमीलाई? खुसी छौ कि छैनौं? के कस्ता उपलब्धि प्राप्त गर्‍यौ जीवनमा आजसम्म? जस्ता सबैले सोध्ने औपचारिक प्रश्न नै सोध्न बिर्सेछु।

यी औपचारिकताको कुनै अर्थ नै नरहेझै लाग्छ अलिकति त किनकि बिहान उदाउँछ, दिन कर्मशील बन्छ, साँझ ढल्कन्छ अनि रात लम्पसार पर्छ हरेक दिन नै।

म कुनैबेला सोधिदिन्थेँ तिमीलाई यो जिन्दगीमा के गर्नु छ? मेरो सोधाईमा तिमी पलभर पनि नअकमकाईकन झट्ट उत्तर दिन्थ्यौ -‘ यो जिन्दगी जस्तो हुँदा पनि बाँचेर सिध्याउनु छ केवल मृत्युलाई पर्खेर....’

अनि मुस्कुराउँथ्यौ मतिर हेर्दै। मलाई सबै सबै कुरा याद छ। सघन निराशा नै बोकेका शब्दहरू पनि निकै प्यारा थिए मेरा लागि। अझै छन् र रहिरहने छन्। शायद यही कारणले म औपचारिक बनिनँ कहिल्यै पनि र तिमी त छँदै थिएनौं। शायद मेरो मनले त्यतिबेला तिम्रो मनको सामिप्यता खोजेको थियो मलाई पत्तो नै नदिईकन।

त्यतिबेला त सबै कुरामा अन्जान म कसरी बुझ्न सक्थेँ र यो दिलको कुरा। तिमीले पनि त कहिल्यै केहि बुझाउने प्रयास गरेनौं। तिम्रो अव्यक्त मौन भाषालाई मेरो उमेरको चञ्चलता र अबोधपनाले सधै निर्ममतापूर्वक हत्या गरिरहेको रहेछ अहिले अनुभव गर्छु। जीवनमा व्याप्त हुने सम्झनाको हरेक पत्र पत्रमा मैले तिमीलाई राखेकी रहेछु। तिमीलाई पनि हैन् तिम्रा निराशा बोकेका शब्दहरूलाई। ती शब्दहरू शाश्वत सत्य थिए।

धरातलभन्दा माथि उठेका अनि अलिकति कल्पना र धेरै यथार्थताको चरम उचाईमा पुगेका। कसरी बिर्सन सक्थे म ती कुराहरूलाई जुन सम्झनामा कैद गरेकी नभए पनि ह्रदयको टोकरीमा सुरक्षित थिए। यसो नियालेर हेर्दा विगतदेखि अहिलेसम्म समय त्यतिकै बितिरहेको रहेछ।

कहिले भित्र भित्रै खुम्चिएर, अनि कहिले आकाश झैं फैलिएको भ्रम समेटेर। कामका अनगिन्ती लेखाजोखाहरू तिमीले गरेका छौ पक्कै अनि मैले पनि गरेँ, अरूहरूले पनि गरिरहेका छन्।

जे जस्तो हुँदा पनि एउटा नियम भित्रको अनुभूति मात्र रहेछ जीवन जस्तो लाग्छ। प्रकृतिको नियम अनुरूप जीवन चल्न सक्दैन तर कोशिश गरिरहन्छ। व्यस्तता बिच त्यति धेरै सोच्ने अवसर नै कहाँ मिल्छ र तिम्रो बारेमा म सम्झिरहन्छु र सोच्छु भनेर भन्नलाई।

हिजोआज आफैंलाई बिर्सिन्छ बिस्तारै यान्त्रिक बन्दै गइरहेको संवेदनाहीन मान्छेको समुदायले। त्यसैले तिमीलाई निर्धक्क भएर सम्झन्छु हरपल मैले फेर्न साससगै भनेर म झूठ बोल्न सक्दिनँ, मलाई माफ गर प्रिय मन।

थाहा छ मलाई कुनै बेलाको झूठ पनि प्रिय हुन्छ मनलाई रोमाञ्चित र उमड्गित बनाउँछ। तर, सत्यता यही हो। जब मलाई शाब्दिक संकटको बोध हुन्छ, जब म एकान्त भित्र पनि एकान्त खोज्छु आफूलाई सहज रूपले नियाल्न र मूल्यांकन गर्न, जब लखेटिरहन्छन् मलाई विगत, वर्तमान र आगतको अमूर्त अनि संवेदना विहिन पक्षहरूले, जब शून्यता भित्र असिम आन्नद या पीडाबोधको ध्वनि गुन्जिन थाल्छ हो ठिक त्यति बेला म औपचारिक बनेर होइन ह्रदयपूर्वक सम्झिन्छु तिमीलाई अनि मनलाग्छ तिम्रा निराशा ओकल्ने जम्मै खुराकहरूलाई एउटा प्यासी बनेर घटघटी पिइदिऊँ र जीवनको वास्तविक तृप्ति लिन थालूँ।

शाश्वत सत्य यही हो म भित्र निहित मायाको। शाब्दिक तृप्ति समेट्नु र तरड्गित हुनु मेरो अधिकार हो भन्ने पनि लाग्थ्यो। आज मुख फोरेर भन्दैछु के तिमी दिन्छौ मलाई मैले चाहेको मिठो तृप्ति। तिमीले स्वीकारोक्तिमा टाउको हल्लाएको नहेरिकन नै म आफ्नो अधिकार प्राप्त गर्छु मलाई यति थाहा छ।

जीवनमा मैले मागेर केही लिन सकिनँ न त खोसेर नै लिने इच्छा कहिले उत्पन्न भयो। तर म चोरिदिन्छु तिमीबाट तिमीलाई नै तिम्रो मौनता भित्रै.... चिन्ता नगर तिमीलाई आफू चोरिनुको अनुभव पनि रत्तिभर हुदैन। धेरै कुराहरू छन्। हरेक पललाई यो पत्रमा समेट्न सक्दिनँ। यति थाहा छ कि मलाई तिमी आवश्यक छौ मेरा लागि एक सिड्गो शरीरको लागि सिड्गो मनको आवश्यकता झै।

धेरै प्रशंसाका हवाई पुलहरू निर्माण गर्न सक्दिनँ। न त मलाई रहस्यको सुरूङ मार्ग नै यहाँ निर्माण गर्नुछ। मलाई त हिँड्नु छ यही धरातलमा निश्चिन्त भएर अभावका हरेक पलमा तिम्रो शाब्दिक सामिप्यताको प्राणवायु लिएर!

हत्केलाभरि ठेला उठेजस्तो जिन्दगी चस्किरहन्छ बेला बेलामा। निराश हुन्छु , खुशी हुन्छु , सहनशील बन्छु र अनेक किसिमका आवश्यक क्रियाकलापहरू समयको माग अनुरूप गर्दै जान्छु तर अति संवेदनशीलताका तरड्गहरू जुन मेरा रक्तकणमा सल्बलाएका छन् तिनले मनोमानी गर्छन् धेरैपटक अनि भावविभोर हुन्छु।

मलाई थाहा छ यो मेरो कमजोरी हो तर यो संवेदनशीलतालाई म शरीरको अड्गभन्दा बढी माया गर्छु। कहिले पनि निकालेर फ्याँक्न सक्दिनँ। तिम्रो बुझाईमा यो उच्चकोटिको ठहर्छ र त म खुशी हुन्छु। कतिबेला अधर मुस्कुराउँछन्। कतिबेला यी आँखाहरू रसाउँछन् अनि कतिबेला जिन्दगीले विश्राम लिन्छ केही थाहा नहुने यो जिन्दगीको उमेरमा लेखिएको यो पत्र शायद अन्तिम पनि हुनसक्छ।

यो केवल सम्भावना मात्र हो निश्चित लेखाजोखा भने होइन। यतिबेला अनुमति चाहन्छु यो पत्रबाट र लेख्दाको समयमा आएको तिम्रो सघन यादबाट पर आफूलाई उभ्याएर उस्तै यान्त्रिक जीवनमा आफूलाई घिसारिरहनको लागि....

तिम्रो यादले यो असारको प्रथम दिनमा मात्र कम्पित बनाउने होइन यो शरीर चितामा पुग्ने बेलासम्म पनि उस्तै हालत हुनेछ मेरो एउटा अर्को सत्य ओकलीदिए मैले विट मार्दै गर्दा.... फेरि भेटौला........

 

प्रकाशित मिति: : 2019-09-14 09:34:44

प्रतिकृया दिनुहोस्