चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको औपचारिक भ्रमणका लागि शनिबार आए। २३ वर्षपछि नेपाल आएका चिनियाँ राष्ट्रपतिको भ्रमणले विभिन्न सन्धी–सम्झौंतामा हस्ताक्षर भयो। नेपाल–चीन सम्बन्धलाई सुमधुर बनाउन यो भेटघाट आवश्यक थियो।
दुई देशबीचको मित्रता कायम राख्न र विभिन्न खालका सहयोग आदानप्रदान गर्न यस्तो खाले भ्रमणले ठूलो अर्थ राख्छ।
आर्थिक रूपले पिछडिएको हामी जस्ता मुलुकका लागि त यो झन् आवश्यक नै छ। ५० वर्षअघि हामीले चामल सहयोग गर्ने देश अहिले धेरै अगाडि पुगिसकेका छन्। उनीहरूको आर्थिक विकासको सूंचाक हामीसँग तुलना गर्ने हो भने आकाश र पातलको फरक देखिन थालिसकेको छ।
यति बेला नेपालको आर्थिक दूरावस्था हेर्दा अन्य देश पनि अचम्मित पर्छन्। अझ राजनीतिक अवस्था, विशेषत भ्रष्टाचारको कुरा गर्ने हो भने स्थिति झनै भयाभह छ। सबैभन्दा भ्रष्टाचार हुने देशको सूचिमा नेपालको नाम पनि अगाडि नै आउँछ।
यति भनिरहँदा मैले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा राज्यले गरेको खर्चलाई जोड्न खोजेको होइन।
पछिल्लो तीन दिनमा सरकारले जसरी रातारात सडक पिच गर्यो र सडक रंग्यायो। यसले नेपाली जनता चकित परेका छन्।
सडक छेउछाउ नेपालका विभिन्न पर्यटकीय स्थलको फ्लेक्स वनाएर काठमाडौंको सडक रमझम बनाइयो। सडकका छेउछाउ दूबो काटेर छपरी छापेर तीनकुनेको वातावरण नै हरियाली बनायो।
चिनियाँ राष्ट्रपतिको सवारी हुने प्रायः सबै सडक कालोपत्रे गरियो। राष्ट्रपति सी चिनफिङ नेपाल उत्रिनु दुई घण्टा अघिसम्म सडक विभागका कर्मचारी माइतीघरमा बाटो पिच गर्दै गरेको पनि देखियो।
विदेशी पाहुँना नेपाल आउँदा न्यानो आतिथ्यका लागि सडक रंग्याउनुमा हामी जस्ता सर्वसाधारणको आपत्ति हुने कुरा भएन। तर, कुराको मूल चुरो भनेको विदेशी पाहुँना आउँदा रातारात सरसफाई र रंगरोगन गर्न भ्याउने सरकारले आफ्नो नागरिक वर्षोदेखि दुर्गन्धित बाटोबाट हिड्दा पनि बेवास्था किन गरेको होला?
यसको सोझो अर्थ–मन्त्री, प्रधानमन्त्री हुन भोट हामीले हालिदिनु पर्ने। अनि ५ वर्ष हामीलाई दुर्गन्धमा राख्ने जिम्मा उहाँहरूले बोके जस्तो देखियो।
त्यसैले चिनियाँ राष्ट्रपतिको भ्रमणले के पनि देखायो भने–हामीले कस्ता नेतृत्वलाई चुनेर पठाएका रहेछौं?
यसबाट नेपालीले के पाढ सिक्ने?
चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने हल्लासँगै सरकार पुलकित देखिएको थियो। नेपालीको महान चाँड बडादशैं आए जस्तै सरकारलाई पनि दशैंले झपक्कै छोएको थियो। दशैँमा आम नेपालीले १०–१२ दिन अगाडी नै घर सफा गरेर रंग्याउने काम सकिसकेका हुन्छन्।
त्यस्तै नेपाल सरकारले पनि चिनियाँ राष्ट्रपति आउने तय भएपछि वषौंदेखिको खाल्डा–खुल्डी भएका सडक कालोपत्रे गर्ने र रंग्याउने काम सम्पन्न गर्यो।
अन्य समय जनतालाई जति नै असुविधा भएपनि सरकारको ध्यान जादैन्थ्यो।
राष्ट्रपतिका लागि अहिले गरिएको कालोपत्रे कति दिन टिक्ने हो, सर्वसाधारणको लागि चासोको विषय बन्नु पक्का छ। किनभने यसअघि सरकारले गर्ने कालोपत्रे २–३ महिनामै गायब भएर खाल्डा खुल्डीमा परिणत भएको अनुभव हामीले भोग्दै आएका छौं।
नेपाल सरकारले विदेशी पाहुँना आउँदा सडक रंग्याउन सक्ने। तर अरु समयमा किन नसक्ने? यो प्रश्न अहिले टड्कारो भएर आएको छ।
सरकारले आफ्नो जनताको लागि पनि यसरी नै काम गरिदिएको भए सर्वसाधारण जनता कति खुसी हुन्थे होला?
जनताको पनि आफ्नो प्रतिनिधिप्रति कति राम्रो सोचाई हुन्थ्यो होला। नेताहरूका यस्तै गतिविधिले नेपाली जनताको विश्वास घट्दै गएको छ।
नेपाली जनतामा पर्ने असर
चिनियाँ राष्ट्रपतिको भ्रमणमा देखिएको दृश्य नेपालीका लागि नौलो होइन। यसभन्दा अगाडि पनि मित्रराष्ट्रका पाहुँनाहरूको भ्रमणमा रातारात चमत्कार भएको दृश्य हामीले देखेका हौं। यो भन्दाअगाडी सार्क सम्मेलन हुँदा पनि यसरी नै सडक रंग्याइएको थियो।
योभन्दा पनि ठूलो कुरा सडक ठप्प बनाएर यात्रीलाई समस्यामा पार्ने गरिन्थ्यो। काठमाडौं जस्तो महंगी ठाउँमा दिनभरी नोकरी गरेर बिहान बेलुका हातमुख जोड्ने वर्गका लागि एक दिन सवारी ठप्प गर्नु कतिसम्म अन्याय होला? यतिसम्म संवेदना हाम्रो नेताहरूमा हुँदो हो त देशको अवस्था यति ओरालो लाग्दैन्थ्यो होला।
यसपालि पनि राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा मान्न २ दिने भ्रमणमा चिनियाँ राष्ट्रपति सी नेपाल आए। उनलाई राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीदेखि अन्य मन्त्री तथा नेताहरूले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। सी नेपाल आउनु ३ घण्टा अगाडीदेखि नै सडक ठप्प बनाइएको थियो। राष्ट्रपति नेपाल आउनुअघि प्रधानमन्त्री ओली स्वयम सडक अवलोकनका लागि बाहिर निस्किएका थिए।
यसरी सडक बन्द गरेर सवारी चलाउने प्रचलन निकै नराम्रो हो। घन्टौं सवारीसाधन ठप्प बनाउँदा यसले जनतामा पर्ने असरको मूल्यांकन सरकारले गर्नुपर्छ।