गत साताको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि देशभर १११ जनाको मृत्यु हुनुका साथै ४० जना बेपत्ता छन्।
बाढी, पहिरो र डुबानले प्रदेश नं. १, २, ३ मा सबैभन्दा बढी क्षति भयो।
साथी पवित्रा माझीको जन्मथलो सर्लाहीको बागमती नगरपालिकास्थित नयाँबस्तीमा २०० जना मुस्लिम, दलित र मुसहर बस्ती पूर्ण प्रभावित भयो।
खबर पाउने बितिकै सहयोगका लागि हामी यात्रा द्वारा महिला सशसक्तीकरण (नेपाल) का केही स्वयम् सेवक त्यहाँ जाने निर्णय गर्यौं।
न्युरोडको गुच्चा टोलबाट ५ बोरा जति महिला, पुरुष र बालबालिकाका लागि आवश्यक लुगा/कपडा र अन्य समानहरु संकलन गर्यौ।
हाम्रो सानो सहयोगले पीडितलाई केही सहयोग हुने आशमा हामी तीन जना सर्लाहीतर्फ लाग्यौ।
एकातिर डर र अर्को तिर उत्साह बोकेर हामी रात्री बसमा सामान राखेर सर्लाहीतिर अगाडि बढ्यौ।
बेलुका ६ बजे हिँडेका हामी भोलिपल्ट दिउँसो १२ बजे सर्लाही पुग्यौ। काठमाडौंबाट ६-७ घन्टाको यात्रामा पुगिने ठाउँ भए पनि बाटोमा ८ घन्टा लामो जाम परेपछि हामी बल्ल सर्लाही पुगेका थियौं।
त्यसपछि पवित्रा र उनको श्रीमान सन्तोषको सहयोगमा हामीले त्यहाँका पीडित ४० घरधुरीलाई हामीले लगेको सामानहरू बाढ्यौं।
बस्तीबाट भित्र अलिक टाढा पर्ने नयाँ बस्तीमा दलित, मुस्लिम र मुसहर जातिको बसोबास रहेछ।
हामीले सामान बाडिसकेपछि पातलो धोती लगाएर आउनुभएको आमाले सोध्नु भयो,‘मेरा भी नाम लिख्लाइछी?’, शायद उहाँको नाम लिस्टमा रहेनछ।
हामीले लगेका सामानहरू सकिएकाले हामी फेरि आउने भन्दै उहाँलाई आश्वासान दियौं।
त्यहाँका १५० थप पीडितको लिस्ट बोकेर हामी फेरि काठमाडौं फर्कियौं।
त्यहाँ सबैको घरमा बाढी पसेको थियो। घरमा भएका लत्ता कपडा, अन्नलगायत सबै सामान बाढीले बिगारेको थियो।
त्यहाँका स-साना नानीका आँखाहरूले धेरै प्रश्न सोध्धै थिए। हामी कहिलेसम्म यस्तो विपत्तिमा बस्ने भनेर सारा गाउँ तड्पिरहेको थियो।
ती सारा प्रश्नको जवाफ हामीसँग थिएन। तर, फेरि केही सहयोग लिएर फर्किने बाचा गर्दै हामी गाउलेसँग बिदा भयौ। रात्री बसमै फर्कने भनेको थकान र भोकले हामी त्यो रात पवित्राकै घरमा बस्यौ।
भोलिपल्ट पानी परिरहेको थियो। बिहान ९ बजे सिन्धुलीको बाटो भएर काठमाडौं जाने माइक्रो चढ्यौं।
पानी परिरहेकाले मनमा डर लागिरहेको थियो- पहिरोले कतै बाटो त छेकेको छैन?, बाटो बन्द भएको रहेछ भने के गर्ने होला?, जाममा परेर घर पुग्नै गाह्रो हुने हो कि, यस्तै डर र त्रास लिएर हाम्रो यात्रा अगाडि बढ्यो।
गाडी आफ्नै गतीमा दौडिरहेको थियो। थकानले होला सायद सबैजना निदाएका थिए।
झर्याम्म!! ठूलो आवाजले सबैको निन्द्रा खुल्यो। लौ न माथि बाट खसेको पहिरोबाट ढुंगा खस्यो कि भन्ने लाग्यो। तर, विपरित दिशाबाट आएको बोलेरोले हाम्रो गाडीलाई ठक्कर दिएको रहेछ।
उक्त ठक्करले हाम्रो माइक्रोको सिसा फुटाएर हामी बसेको लास्ट सिटसम्म आइपुगेको थियो। बहिनी मोनिसाको अनुहारभरी सिसै सिसा भयो। त्यो बेला हामीलाई यस्तो डर लाग्यो कि एक छिन स्वास फेर्नै गाह्रो भयो। हातमा रगत बगिरहेको थियो। अनुहार रोक्ने हुँदा हातमा लागेर सिसाले काटेछ। धन्न अनुहारमा केही भएन।
हाम्रो होस हवासै उड्यो। तर भगवानको कृपाले हामीलाई सामान्य चोटपटक बाहेक केही भएन।
ड्राइभरको हात काटेको रहेछ। पानी परिरहेकोले बाटो चिप्लो थियो। त्यसमाथि झन पहिरो जाने डर थियो।
केही प्राथमिक उपचार गरेर ड्राइभरले आँट गरेर गाडी अगाडि बढाउनुभयो। अलिकति अगाडि बढेपछि माथिबाट खसेको पहिरोले बाटो बगाएको रहेछ। २ घण्टा लामो जाममा परियो। त्यसपछि फेरि बिस्तारै बिस्तारै अगाडि बढ्दै काठमाडौं आइपुग्यौं।
यस्तै त्रास र डरै डरमा सर्लाहीबाट काठमाडौं आएका हामी पुन नयाँ बास्तीको बाचा पुरा गर्नुछ। समग्रमा यात्रा रमाइलै रह्यो।