चीनले निर्मल पुर्जालाई शिशापाङ्गमा आरोहणको अनुमति दियो

तस्वीर: निर्मल पुर्जाकाे फेसबुकबाट।

चीनको चाईना–तिब्बत माउण्टेनियरिङ एसोसिएसनले चर्चित नेपाली पर्वातारोही निर्मल पुर्जालाई शिशापाङ्गमा हिमाल आरोहणका लागि अनुमति दिएको छ। बिएल नेपाली सेवालाई प्राप्त जानकारी अनुसार अनुमति पाएसँगै पुर्जा उनको चौधौं हिमाल आरोहणतर्फ लागिसकेका छन्। 

केहि साताअघि मात्रै पुर्जाले १ सय ५७ दिनमा ८ हजार मिटर माथिका १३ वटा हिमाल आरोहण गरिसकेका थिए। बाँकी एउटा हिमाल शिशापाङ्गमाको आरोहण अनुमतिले उनको सपना पुरा हुने भएको छ। यस अघि चार हप्तामा उनले आठ हजार मिटर अग्ला ६ हिमाल चढेर कीर्तिमान बनाइसकेका छन्। उनले विश्वका १४ वटा अग्ला हिमाल चढ्ने लक्ष्य लिएका थिए।

पूर्व बेलायती सैनिकसमेत रहेका पुर्जाले अप्रिल २३ मा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण, मे १२ मा ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरी, मे १५ मा ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा, मे २२ मा ८ हजार ८ सय ४८ मिटरको सर्वोच्च शिखर सगरमाथा र ८ हजार ५ सय १६ मिटरको लोत्से साथै मे २४ मा ८ हजार ४ सय ८१ मिटरको मकालु हिमालको सफल आरोहण गरेका थिए।

मकालुपछि पुर्जाले पाकिस्तानको ८ हजार ६ सय ११ मिटर अग्लो माउन्ट केटु, ८ हजार १ सय २६ मिटर अग्लो नागा पर्वत, ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक, ८ हजार १० मिटर अग्लो जी वान र ८ हजार ३५ मिटर अग्लो जी टु, तिब्ततमा रहेको ८ हजार १ सय ८८ मिटर अग्लो चो यु र नेपालकै ८ हजार १ सय ६३ मिटर अग्लो मनासलु हिमाल आरोहण गरेका छन्।

केहि साताअघि मात्रै उनले मनास्लु र चोयू सफलतापूर्वक आरोहण गरेका थिए।

तर ८ हजार २७ मिटर अग्लो शिशापाङ्गमा हिमाल आरोहणका लागि चीनले रोक लगाएको थियो।
‘प्रोजेक्ट पोसिबल’ का लागि १४ अग्ला हिमाल ७ महिनामा आरोहण गरेर कीर्तिमान बनाउन लागेका पुर्जाले १३ वटा हिमाल आरोहण गरिसकेका छन् र शिशापाङ्गमा हिमाल चढ्न अड्किएका थिए ।

उनले आफ्नो फेसबुकमार्फत आफूलाई चीनको शिशापाङ्गमा आरोहणका लागि नेपाल सरकारले चीन सरकारसँग कुटनीतिक पहल गरिदिन अनुरोध गरेका थिए।
प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, पर्यटन मन्त्री, नेपाल चिनियाँ अधिकारीसँग भेट गरेर उक्त हिमाल आरोहणको वातावरण मिलाउन आग्रह गरेका थिए।

स्रोतका अनुसार नेपाल सरकारले चीनसँग कुटनीतिक पहल गरेपछि उनले अनुमति प्राप्त गरेका हुन्। पुर्जाको लागि नेपाल पर्वतारोहण संघले चीन–तिब्बत माउण्टेनियरिङ एसोसिएसनलाई अनुमतिको लागि पत्राचार गरेको संघका महासिचव कुल गुरुङले बिएल नेपाली सेवालाई जानकारी गराए।

नेपाल पर्यटन बोर्डका प्रमुख दिपाकराज जोशीले पुर्जाको सफल आरोहणको कामना गरेका छन्। ‘यो हाम्रो लागी सुखद् खबर हो,’ जोशीले बिएल नेपाली सेवासँग भने।
फ्रेण्ड्स एडभाञ्चर टिमका संचालक राजेन्द्र लामाका अनुसार पुर्जाले यो हिमाल सहित १४ वटा आरोहण गरे सरकारले मनाउन लागेको भिजिट नेपाल २०२० लाई समेत अन्तर्राष्ट्रिय बजारमा राम्रो सन्देश जानेछ।

त्यसैगरी ए वान एक्सकर्सन एडभाञ्चरका संचालक तथा पर्यटन व्यवसायी राजकुमार थापाले पुर्जाको आरोहणले अन्तर्राष्ट्रिय साहसिक पर्यटन क्षेत्रमा विश्वभर प्रवर्दन गर्न ठूलो सहयोग पुग्ने बताए।

हिमाल आरोहणको इतिहासमा तेन्जिङ नोर्गेपछि नेपालले अन्तर्राष्ट्रिय बजारमा पुर्जाबाट ठूलो चर्चा कमाउने सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2019-10-10 17:12:30

प्रतिकृया दिनुहोस्