जेरो भूमे : प्रदेश ५, भूमेका सांस्कृतिक झलकहरू (भिडियोमा)

तस्बिरः सुरेन्द्र

नेपालमा संघीय गणतन्त्र स्थापनापछि शासन सत्ता स्थानीयको मातहतमा हस्तान्तरण भयो। सबै स्थानीय निकायहरू आ-आफ्नो क्षेत्र र ठाउँको पूर्वाधार, कृषि, पर्यटनको विकास र प्रवर्धन गर्ने क्रममा छन्।

यसै क्रममा रूकुम (पूर्व) को भूमे गाउँपालिका पनि पर्यटन प्रवर्धनमा जुटेका छन्।

स्थानीय मौलिक कला तथा सांस्कृतिक संरक्षण र प्रवर्द्धन गर्ने हेतुले रूकुम (पूर्व), भूमे गाउँपालिकामा वर्षेनि सांस्कृतिक प्रतियोगिताको लागि आर्थिक सहयोग गर्दै आएको छ। त्यसैको निरन्तरता दिँदै गत असारको २ देखि ५ गतेसम्म दोस्रो परम्परागत सांस्कृतिक प्रतियोगिता खाबाङ बगरमा भूमे पर्वको उपलक्षमा आयोजना भएको थियो।

भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले मौलिक कला तथा संस्कृति संरक्षण तथा सम्वर्धन गर्न खुला अन्तर गाउँ सांस्कृतिक प्रतियोगिता आयोजना गरेको बताए।

'यसको मुख्य उद्देश्य आफ्नो परम्परागत लोक संस्कृति जोगाउन र आउने युवा पुस्तालाई हस्तान्तरण गर्ने उद्धेश्य पनि हो,' उनले भने।

त्यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह श्रेष्ठले यहाँको मौलिक कला, संस्कृति, जीवनशैली, प्राकृतिक सौन्दर्य र इतिहास बोकेकोले गाउँपालिकाले संरक्षणको साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सहयोग गर्दै आएको बताए।

भूमे पर्व मगर खाम भाषी बाहुल्यता भएको रूकुम (पुर्व) का भूमे गाउँपालिकाका प्राय सबै गाउँ, पुथा उत्तरगंगा गाउँपालिका, पूर्वोत्तर रोल्पा जिल्लाको थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिकालगायतका क्षेत्रहरूमा भूमे पर्व प्रत्येक वर्षको असार १ गतेदेखि एक सातासम्म धुमधामले मनाउने चलन छ।

यो पर्वमा परिवारजन भेट्ने र गाउँ बाहिर बसोबास गरेकाहरु गाउँ फर्किएर साथीभाइ भेटघाट गर्ने समय पनि हो।

भूमे पर्व अठार मगरात क्षेत्रका मगर समुदायको सबैभन्दा ठूलो चाड हो। यस क्षेत्रका बासिन्दा प्रकृतिपूजक हुन्, उनीहरू भूमेलाई पूजा गर्छन्। पर्व सुरू हुने अघिल्लो दिन नजिकका लेकमा युवा युवतिहरू फूल टिप्न जान्छन्। लेकमा फूल टिपेर फर्किने र थानमा धुप हालेर पूजा गरे पश्चात अर्को दिन गाउँदै नाच्दै आ-आफ्नो गाँउ फर्किएपछि विधिवत रूपमा पर्व सुरू हुन्छ।

हिउँदे बाली भित्र्याएको खुसियाली र बर्खेबालीमा हानी नोक्सान नहोस् भनेर भूमे पूजा गरिन्छ। बाढी पहिरो जस्ता दैवीप्रकोप नआओस् भनेर भूमेथानमा भेडा या सुंगुरको बलि चढाइन्छ। असार १ गते भूमे पूजा गरिन्छ। गाउँ–ठाउँ अनुसार एक दिनदेखि एक सातासम्म भूमे पर्व मनाउने चलन छ।

यो पर्वमा सुमधुर स्थानीय वाद्य वादनको तालमा ताल मिलाई २२ चालामा नाच्दै हप्ता दिनसम्म भूमे नाचमा स्थानीय रमाउँछन्। पर्व भरि युवा युवति, महिला पुरूष गोलाकार भई दुई पङतिमा स्थानीय बाजाको धुनमा लयबद्ध रुपमा धुमधामले भूमे नाच्ने गर्छन्।

नचारू

यहाँको अर्को सांस्कृतिक नाँच नचारू हो। यो नाँच कात्तिकको अन्तिम सातादेखि पुस अन्तिम सातासम्म गाउँ गाउँ डुलेर नाचिन्छ र माघे संक्रान्तिमा नचारू समापन हुन्छ।
यो नाचमा पुरूष मात्र नाच्छन्। दिन र रातको पोशाक, गीत र तालहरु फरकफरक हुन्छन्।

उनीहरु दिनमा नाच्दा च्योल्ना र रातमा घाँगर लगाउँछन् भने साँझमा लामो बाहुला भएको लबिता लगाउँछन्।

नचारू नाचसँगै हाँस्य कलाकारको टोली हुन्छ, जसलाई धँगे भन्छन्। विभिन्न हाउभाउमा नचारूसँग अगाडि पछाडि गर्दै दर्शकलाई मनोरञ्जन दिलाउँछन्। रातमा देवि देउता र सृष्टिको उत्पत्तिको कथा पनि सुनाउँछन्।

डिग्रे (पैसरी) नाच

यस क्षेत्रमा डिग्रे (पैसरी) नाँच हिउँद र बर्खा दुबैमा नाचिन्छ। उनीहरू दिनमा नाच्ने गर्छन्। साउन संक्रान्ति, विभिन्न चाड पर्व, दसैं तिहार, मेला पर्व मान्न आउँदा नाच्ने चलन छ।

झोलेनी नाँच

झोलेनी नाँच पनि यहाँ नाच्ने गरिन्छ। महिला समूहहरू टोलटोलमा नाच्दै गाउँदै हिँड्छन्। गाउँघरको सुख दुःखका गीतहरू गाउँछन्। झोलेनी टोलीलाई गाउँलेले भेटीका रुपमा पैसा दिने चलन छ। दक्षिणा पाएपछि उनीहरू आषिश दिन्छन्।

फाँक नाच

फाँक नाच यस क्षेत्रका लोपोन्मुख हुनलागेको मौलिक संस्कृतिक हो। महिला र पुरुषको छुट्टाछुट्टै समूह मिलेर फाँक भाकामा गाउँदै यो नाँच नाचिन्छ। एक टोलीले गाउने र अर्कोले जवाफ फर्काउने गर्छन्।

मयुर नाँच

मयुर नाँच रूकुम (पश्चिम) को प्रचलित नाँच हो र पूर्वको चुनबाङ तिर पनि नाचिन्छ। मयुरका प्वाँखबाट बनेको मयुर (गरूवा) भिरेर महिला र पुरूष गोलाकार भएर बाजाको तालमा नाचिन्छ। प्रायः हरेक मेला, पर्व र दिवसमा मयुर नाँच नाच्ने चलन छ।

भूमे गाउँपालिकाले यस्ता विभिन्न किसिमका मौलिक र परम्परागत कला सांस्कृतिक नाँचहरु संरक्षण र प्रवर्धन गर्ने उद्धेश्यले हरेक वर्ष प्रतियोगिता राखिएको छ। यसको निरन्तरता दिन भूमे गाउँपालिका लागिपरेका छ।

यस्ता किसिमका सांस्कृतिक कार्यक्रमले स्थानीय परम्परागत नाचहरु र जिवनशैली झल्काउने संस्कृतिको जगेर्ना गर्न सहयोग पुर्‍याउने र पर्यटनमा टेवा पुग्नेछ। भूमे गाउँपालिकाको काम सराहनीय र स्वागत योग्य छ ।

 

यो पनि हेर्नुहोस्

संस्कृतिको संरक्षणमा भूमेको निरन्तरता

प्रकाशित मिति: : 2019-09-13 17:01:37

प्रतिकृया दिनुहोस्