हिमाली जिल्ला मुस्ताङको थासाङ-२ कोबाङमा थकाली जातिको महान सांस्कृतिक पर्व कुमार यात्रा बिहिबारदेखि सुरू भएको छ।
धार्मिक रितिरिवाज अनुसार सुरू भएको पर्वमा यो वर्ष ५ देखि १३ वर्षका बिजोर उमेरका थकाली समुदायका गौचन, तुलाचन, शेरचन र भट्टचन थरका छेवर गरिसकेका ७ कुमार केटाले स्योपेन लव फालो (कुमार यात्रा) मा भाग लिएका छन्।
देशका बिभिन्न भुभागमा छरिएर रहेका र विदेश रहेकासमेत थकाली समुदायको यात्रामा उल्लेख्य सहभागी छ।
बिहिबार बेलुका कुमारहरूलाई ट्हुम्व (लामा गुरू) द्वारा थकाली परम्परा अनुसार विशेष पूजा गरेर कोट घरमा बुझाईयो।
पहिलो दिन धार्मिक विधि ( ल्होक्पच्हुजी) विधि अनुसार कोटघरमा स्योपेन लव फालोको विधिवत रुपमा सुरुवात भयो ।
दोस्रो दिन (म्हरस्याङ क्यु ह्यव स्युता क्यु महाडतहेव) विधि अनुसार शुक्रबार बिहान साढे ५ बजे ४ कि.मि. दूरीमा रहेको म्हरस्याङ क्यूमा कुमारहरूले चोखो पानीले नुहाएर र शुद्ध भई चन्दन र केसरीको टिका तथा फेटा लगाए।
चोखो भएर फर्किँदा टुकुचे मुखिया निरझरमान शेरचनको घरमा कुमारहरूको स्वागत (केल्साङ) र आशिर्वाद पाएर चिया नास्ता पछि यात्रा अगाडि बढ्यो।
कुमारहरु फर्किँदा खन्ती गाउँको कन्याहरूले फूल मालाबाट उनीहरूको स्वागत (केल्साङ) गरेपछि कोट घरमा फर्किएका थिए।
कुमारहरूले १३ मुखिया, थकाली सेवा समितिका प्रतिनिधि, भद्र भलाद्मी र क्हुनदलहरू कोटघरमा जम्मा भई आशिर्वाद लिए।
दिउँसो खाना खाएर नर्साङ गुम्बामा पुगेर टुम्व लामाद्वारा धार्मिक विधि अनुसार कुमारहरुले नरिच्योहव देवीबाट आशिर्वाद प्राप्त गरे।
पूजापाठ पश्चात फर्किने क्रममा यात्रामा सहभागी कुमारका अभिभावक, भद्र भलाद्मीहरुले माङ्चो गीत गाउँदै कोटघर फर्किएका थिए।
कोट घर पुगेर थप विधि अनुसार च्याङग्राको सिंह, छाला र आगो बोकेर करीब ३०० मिटर मुनि ल्ह्याङ क्यु खोला किनारमा ग्रह दशा सेलाए ।
आजको फालो विधि पछि कोटघरमा थासाङ गाउँपालिका वडा न. २ को छ गाउँ (खन्ती, कोबाङ, लार्जुङ, भुर्जुङकोट, नाखुम र नौरीकोट) का कलाकार टोलीले सन्देश मुलुक (स्ह्योमे) हाँस्य अभिनय प्रस्तुत गरेका थिए।
‘हाम्रो संस्कृति जोगाऔं, आफ्नो पहिचान बचाऔं,’ भन्ने मुल नाराका साथ भदौ १९-२३ गतेसम्म यात्रा कोबाङमा मनाइन्छ।
स्योपेन अर्थात कुमार केटाहरूलाई लामा गुरूहरू, स्योपेनको अभिवावकहरुले आशिश दिए। यो वर्ष विशेष तरीकाले मनाउने र गाउँलेले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शनसहित अन्य विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ।
फालो पर्व (कुमार यात्रा) थकाली जातिको परापूर्वकालदेखि मान्दै आएको एक ऐतिहासिक सांस्कृतिक पर्व हो। किम्बदन्ती अनुसार भगवान नरिच्ह्योव र पूर्खाहरु बिच बाचाकबोल बमोजिम पर्व मनाउने चलन छ।
उक्त यात्रामा भगवान नरिच्ह्योवाट कुमार केटालाई आशिषसहित अलौकिक शक्ति प्रदान गर्ने र सबै गाउँको रक्षा गर्ने जनविश्वास छ।
थकाली सेवा समिति नेपाल (केन्द्र) को आयोजनामा भइरहेको स्योपेन लव फालोलाई थकाली आमा समूह र धौलागिरी युवा क्लबले हातेमालो गरेका छन्।
हेर्नुहोस् तस्बिरहरू