कर्णालीमा पर्यटकको आगमन वृद्धि गर्न हवाई भाडादर घटाइने

महोत्सव हुने स्थान। फाइल तस्बिर

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीमा पर्यटकको आगमन बृद्धि गर्न हवाई टिकटको भाडादर घटाइने बताएका छन्।

कर्णाली प्रदेशको डोल्पा लगायतका पर्यटकीय सम्पादनले धनी भएका जिल्लाहरूमा हाल हवाई भाडादर महँगो भएको र सडक यातायात सहज नभएकाले पर्यटकको संख्या घटिरहेको मन्त्री ज्वालाले बताए।

मनोरम छटाले भरिपूर्ण सुन्दर नेपालकै गहिरो ताल फोक्सुण्डो र ठूलो ताल  रारामा जाने पर्यटकको इच्छा हुँदा हुदै पनि महँगो र सहज रुपमा हवाई टिकट उपलब्धता नहुँदा पर्यटक डोल्पा जान आनाकानी गरिरहेकाले हवाई टिकट दर घटाएर पर्यटकको आगमनमा वृद्धि गरिने मन्त्री ज्वालाको भनाई छ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा गरिन थालिएको डोल्पो महोत्सव तथा क्रिष्टल माउण्टेन विद्यालयको रजतजयन्ती २०७६ को निमन्त्रण ग्रहण गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले बताएका हुन्।

डोल्पामा पर्यटन प्रवद्धन गर्ने हेतुले यही भदौ २४ देखि २८ सम्म उपल्लो डोल्पोको डोल्पो बुद्ध गाउँपालिकामा पर्ने विश्कै अग्लो मानववस्ती धो तरापमा महोत्सव हुन लागेको हो ।

‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पुर्वाधार’ भन्ने नाराका साथ डोल्पोबुद्ध गाउँपालिका मुख्य आयोजक छार्काताङ्गसोङ्ग र शे फोक्सुण्डो गाउँपालिका सह आयोजक र पर्यटन बोर्ड र भिजन डोल्पो प्रवद्र्दन रहेका छन्।

डोल्पाको पर्यटन प्रवद्र्दन गर्ने उद्धेश्यले हुन लागिरहेको डोल्पो महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुर्‍याउने डोल्पो महोत्सव मुल आयोजक समितिका संयोजक क्याल्पो थापा भोटेले बताए।

विश्व पर्यटन बजारमा नेपाल एउटा छुट्टै पहिचान बोकेको महत्वपूर्ण गन्तव्य हो। हिमाल, पहाड र तराई विविध प्राकृतिक, धार्मिक र साँस्कृतिक रूपमा धनि देश नेपाल भित्र रहेका अनेकौं गन्तब्यहरु मध्ये डोल्पा जिल्ला विशेष गरी साहसिक पर्यटनको लागि प्रचुर सम्भावना बोकेको एक महत्वपूर्ण गन्तव्य हो।

डोल्पामा रहेको खस तथा मष्टो संस्कृति, तराली संस्कृति, र डोल्पो संस्कृतिलगायत बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, डोल्पो भाषा (पोइके भाषा) लगायत शे– गोन्पा, त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमी जस्ता अलौकिक प्राकृतिक उपहारहरुको स्वादपान गर्न सकिन्छ।

प्राकृतिक रूपमा पुथा हिमाल, कान्जिरोवा हिमाल, धवलागिरी, मुकोट, डाँफेसेल, नोर्वुगाङ्ग, शे शिखर, डोल्पो, चुरेन हिमाल, लगायत अन्य नाम नखुलेका सयौं हिमालहरू, तथा फोक्सुन्डो ताल, फोक्सुन्डो झरना, घ्याकोच्येन लगायतका हिमतालहरु रहेका छन्।

यस क्षेत्र यार्चागुन्बु (यार्चागुम्बा) लगायतका बहुमुल्य जडिवुटीहरु पाउनुका साथै लोपोन्मुख जिव, हिउँचितुवा लगायतका अन्य वन्यजन्तुहरुको वासस्थान पनि हो। त्यसैगरी धार्मिक रुपमा शे–रिवो ड्रुक्टा (क्रिष्टल माउन्टेनं), कुलापासाङ्ग, बुद्धरिवो, पावरी (पावड्रुङ्गा) लगायत हजारौं वर्ष पुराना धार्मिक स्मारकहरु शे– गोन्पा (गुम्बा), साम्लिङ्ग बोन गोन्पा, रिवोभुम्वा गोन्पा, गगर लाभ्राङ्ग, बोनछोवा गोन्पा, याङ्गजेर गोन्पा लगायत गोन्पाहरु रहेका छन्।

कर्णालीमा पर्यटन प्रवद्र्दन गर्न पर्यटकको आगमनलाई बृद्धि गर्नुपर्ने र कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगन्जबाट डोल्पामा सिधा र नियमित हवाई सेवा संचालनमा ल्याउनुपर्नेमा आफूहरुले मन्त्रीहरुलाई माग गरेको डोल्पो महोत्सवका सल्लाहाकार हंशबहादुर शाहीले बताए।

डोल्पो महोत्सवको प्रचारप्रसार तीव्र बनाई बढी भन्दा बढी पर्यटक डोल्पामा भित्र्यायाउन अभियानकै रुपमा आयोजक सल्लाहाकार संचारकर्मी समेतको टोली विरेन्द्रनगर सुर्खेतमा प्रदेशस्तरीय प्रचारप्रसारमा जुटेको छ।

प्रकाशित मिति: : 2019-08-20 19:17:35

प्रतिकृया दिनुहोस्