ट्रेकिङ गाइडहरूलाई किटोनको प्राथमिक उपचार र उद्धार सम्बन्धी तालिम

अतिथिहरूका साथमा तालिममा सहभागी गाइडहरू। तस्बिरः बिएल

कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एशोसियसन अफ नेपालले (किटोन) का सदस्य ट्रेकिङ कम्पनीमा कार्यरत गाइडहरूलाई प्राथमिक उपचार र उद्धार सम्बन्धी तालिम दिएको छ।

कोरियाली दूतावासको सहयोगमा मंगलबार नेपाल पर्यटन बोर्डमा किटोनका सदस्य ट्राभल ट्रेकिङ कम्पनीमा कार्यरत गाइड र सहायक गाइडलाई तालिम दिइएको हो।

कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत राजदूत पार्क योङ सिकले नेपालको पर्यटन प्रवर्धनका लागि गाइडहरूको भूमिका महत्वपूर्ण हुने अवगत गराए।

सिकले  नेपालको लुम्बिनी कोरियन पर्यटकको आकर्षक गन्तब्य भएको भन्दै नेपाल पर्यटन बोर्डले लुम्बिनीको प्रचार प्रसार र प्रवर्धनमा विशेष ध्यान दिनुपर्ने औल्याए।

लज र खानपानमा अझै सुधार गर्नुपर्ने धारणा राख्दै राजदूत सिकले किटोनसँगको सहकार्यमा कोरियन पर्यटकको सुरक्षा र सुविधामा बिभिन्न कार्यक्रम गरेकाले यस किसिमको तालिमले थप सहयोग पुग्ने अपेक्षा गरे।

उनले कोरियामा विश्वबिख्यात हिमाल आरोहीहरू रहेकाले उनीहरूको आवागनले नेपालको पर्यटन प्रवर्धनमा सहयोगी सिद्ध हुने दाबी गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कोरियाली पर्यटक नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको र यसको बृद्धिको लागि किटोनसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको बताए।

कार्यक्रममा बोल्दै किटोनका अध्यक्ष अमरबहादुर शाहीले यस्तो तालिमले कोरियन पर्यटकलाई सहज तरिकाले नेपाल भ्रमणको वातावरण बन्ने धारणा राखे।

उनले पर्यटकको सुरक्षा र सुरक्षित गन्तब्यसम्मको यात्रामा हुने सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने हुनाले आगामी दिनमा नेपाल भ्रमणमा आउने कोरियन पर्यटनको संख्यामा वृद्धिमा सहयोग पुग्ने बताए।

अध्यक्ष शाहीले विगत पाँच वर्षको अवधिमा नेपाल भ्रमण गर्ने कोरियाली पर्यटकको संख्यामा उल्लेख्य रुपमा बृद्धि भएको भन्दै यसलाई अझै बढाउन आगामी दिनमा कोरियामा हुने प्राविधिक कार्यक्रम ट्राभल मेला बी टु बीमा नेपाल पर्यटन बोर्ड र किटोनसँग सहकार्यका लागि अनुरोधसमेत गरे। उनले यो कार्यक्रमबाट नेपालले परिणाममुखी नतिजा ल्याउने अपेक्षासमेत गरे।

कार्यक्रममा अध्यक्ष शाहीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन कोरियाली सरकार समक्ष सहयोगका लागि राजदूतसमक्ष अनुरोधसमेत गरे।

कार्यक्रममा बोल्दै कोरियाली राजदूत सिकले २०१९ मा कोरियाली पर्यटकको संख्या ३७००० को हाराहारीमा पुग्ने र यस किसिमकका तालिमले आउँदा दिनमा कोरियाली पर्यटकको संख्यामा अझ बृद्धि हुने बिचार व्यक्त गरे।

अध्यक्ष अमरबहादुर शाही नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी र कोरियाली राजदूत पार्क योङ सिकले कार्यक्रमको संयुक्त रुपमा उद्द्घाटन गरेका थिए।

प्रकाशित मिति: : 2019-08-20 18:45:26

प्रतिकृया दिनुहोस्