आफ्नै छोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बर्दियाका ४० वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा रहेको टोलीले बर्दियाको मधुवन नगरपालिका–६ स्थित नेपाल भारत सीमा नजिकबाट भारततर्फ जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
बिगत केही महिनादेखि आफ्नै १८ वर्षे छोरीलाई भारतको बैङ्लोर लगी एक महिनासम्म पटक पटक यातना तथा धम्की दिइ जबरजस्ती करणी गरेको पीडितको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
मंसिर २४ गते नेपाल फर्कने क्रममा बाँकेको नेपालगञ्ज न्यूरोडस्थित एक होटलमा राखी फेरि जबरजस्तीकरणी गरेको अनुसन्धानबाट खुलेको छ। उनले छोरीलाई मंगलवार घर जान अशुभ हुने भन्दै बुधबार जाने बहानामा होटलमा राखेको प्रहरीले जनाएको छ। बुधबार बर्दियामा रहेको आफ्नो घर पुगेपछि पीडितले प्रहरीलाई खबर गरेकी थिइन्।
पक्राउ परेका बाबुमाथि थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।