सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र शेर्माथानमा हिमपात सुरु भएसँगै जनजीवन प्रभावित भएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेमार्थान, ता¥र्के घ्याङ, ठाडेपार्टी, मेलम्ची घ्याङलगाएत उच्च भूभागमा शुक्रबारदेखि हिमपात सुरु भएको हो।
त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि हिउँ परेको छ। भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागी डाँडा आसपासमा हिउँ परेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए।
हिउँ पर्न सुरु भएपछि जिल्लामा चिसो बढेको छ। शुक्रबार बिहानैदेखि हल्का वर्षासहित हिमपात सुरु भएसँगै जिल्लाको उच्च भूभाग तथा शेमार्थान, मेलम्ची घ्याङ, भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागी डाँडालगायतका स्थान अहिले ढाकिएका छन्।
हिउँ परेसँगै पर्यटकको पनि घुइँचो लागेको छ। चिसोका कारण वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी महिला, बालबालिका बढी प्रभावित भएका छन्।