महराको मुद्दामा ‘कैफियत’ प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

तस्बिरः बिएल नेपाली सेवा

निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा उच्च अदालत पाटनले प्रतिवेदन माग्ने आदेश गरेको छ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीसहितको इजलासले शुक्रबार 'कैफियत प्रतिवेदन' माग्ने आदेश जारी गरेको हो।

पूर्वसभामुख महराले काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

जिल्ला अदालतको आदेश बदर हुने वा नहुने निर्णय भने दोस्रो सुनुवाइमा हुनेछ। उच्च अदालतले जिल्ला अदालतबाट प्रतिवेदन पेस भएपछि दोस्रो पेसी तोक्नेछ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले गत कात्तिक १८ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। उक्त आदेशविरूद्ध महराले बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

निवेदन दर्ता भएपछि शुक्रबार नियमित प्रक्रिया अन्तर्गतको सुनुवाइ भएको थियो। जिल्ला अदालतले आदेश अनुसारको प्रतिवेदन पठाएपछि मुद्दाको थप सुनुवाइ हुनेछ।

महरा असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ परेका थिए। पीडित महिलाले नै महराले आफूमाथि बजरजस्ती गरेको भन्दै मिडियामार्फत् सार्वजनिक गरेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

महरा अहिले सदरखोर डिल्लीबजार जेलमा छन्।

प्रकाशित मिति: : 2019-11-22 15:48:39

प्रतिकृया दिनुहोस्