डाक्टर गोबिन्द आचार्य नेपाल रत्न राज्यलक्ष्मी क्याम्पस, भृकुटीमण्डप प्रदर्शनीमार्गका उप-प्रध्यापक छन्। उनी विद्यार्थीलाई पढाउँदा आनन्द लागेको बताउँछन्।
दुई वर्ष अगाडि म बिए प्रथम पर्ष पढ्दै गर्दा कक्षाका केही आँखा देख्ने साथीले कानेखुसी गर्दै हल्लाखल्ला गरिरहेका थिए। त्यसबेला गोबिन्द सरले भनेका थिए, 'यो पढ्ने उमेर हो। हल्ला नगर। यस्तो सुविधा पाउँदा पनि तिमीहरू हल्ला गर्छौ।'
कहिले काहीँ सरले आफ्नो बाल्यकालको कुरा चाखलाग्ने गरि सुनाउँथे। म अगाडिको बेन्चमा बसेर ध्यान दिएर सुनिरहन्थेँ। मेरो ध्यान उनको पढाउने शैलीमा भन्दा पनि उनको व्यक्तित्वमा गएर टक्क अडिन्थ्यो।
उनले पढाएको सुन्नमा भन्दा पनि 'कसरि यो सर यहाँसम्म आउनुभयो होला?' भन्ने प्रश्नले मेरो मनमा बारम्बार जिज्ञासाका तरंगहरू उर्लाउँथ्यो। त्यो बेला सरलाई हतार हुन्थ्यो। अनि डिटेल लिन सकिदैनथ्यो। तर, मनले भनिरहन्थ्यो एकदिन 'तैले सरलाई पात्र बनाएर उनको जीवन समेटेर एउटा स्टोरी लेख्नुपर्छ।'
सुखद संयोग नै मान्नुपर्छ मलाई नै पढाएका सरलाई अफिसमै बोलाएर सँगै चिया पिउँदै बात मार्ने अवसर मिल्यो।
उनी पनि म जस्तै दृष्टिविहीन हुन्। काठमाडौं कीर्तिपुर ट्ङ्लाफाटस्थित आफ्नै निवासमा बस्दै आएका उनले नेपाली प्रगतिवादी खण्डकाव्यका प्रवृत्तिमा २०७५ सालमा विद्यावारिधि गरेका हुन्।
विगत १७ वर्षदेखि काठमाडौंको रत्न राज्यमा क्याम्पसमा अध्यापनरत छन्।
रत्नपार्क, बसपार्क, भृकुटीमण्डप जस्ता ठाउँहरु गोबिन्द सरका लागि सहज बनिसकेका छन्। बाटोमा अव्यवस्थित रुपले ठडाइएका पोल र पिल्लरहरुमा ठोक्किदा दुख्न छाडेको वर्षौ भइसकेको छ। उनी भन्छन्, 'पढाउन जाने क्रममा हिँड्दाहिड्दै हात खुट्टा ठोक्किएर बलिया भएका छन्। लाग्छ म अझ बलियो हुँदैछु।'
२०२२ सालमा अर्घाखाँची जिल्लास्थित रजस्थल नगरपालिका-१० अर्घाअँधेरिमा जन्मिएका उनी जन्मजात दृष्टिविहीन हुन्। उनका बाबा पण्डित थिए। धार्मिक काम गर्थे। आमा भने घरको काममै व्यस्त हुन्थिन्।
साङ्ग जस्तै अधिकार अपाङ्गहरुको पनि हुन्छ। सबै समान हुन्। तर, पालनपोषण, शिक्षा, स्वास्थ्य सबै अपाङ्गता भएकाका लागि टाँढाका देवता बनिदिन्छन्। यही कुराले कहिले काहिँ उनकोमन साह्रै कुडिन्छ। 'आँखा देख्नेहरु जस्तै के हाम्रो चाहना हुँदैन? के हाम्रा रहर हुँदैनन्?' उनले मन दुखाउँदै ओकलेका यी वाक्य अबुझका लागि हुन्। अबुज कुनै एक दुई व्यक्ति होइनन्। सिंगो राज्य हो।
राज्य सञ्चालनका नाइकेहरु हुन्। त्यसै राज्यको व्यवहार, यसले तयार पारेको मानसिकताले उनलाई नराम्रो सँग दुखाइदिन्छ।
उनी यो समय र व्यवहारका भुक्तभोगी प्रतिनिधि पात्र पनि हुन्।
उनी विकट ठाउँमा जन्मिएका हुन्। उनको गाउँ अर्घाअँधेरीबाट गाडी हेर्न (गाडीको आवाज सुन्न) दुई, तीन घण्टाको बाटो हिड्नुपर्छ। उनका लागि त्यो ठाउँ सहज थिएन।
उनी भन्छन्, 'अहिले पो गाडी जान्छ। २०३० सालसम्म गाडीको आवाज सुन्नलाई पाल्पा जानुपर्थ्यो।'
उनी सानो हुँदा साथीहरू स्कुल जान्थे। उनी सुन्तलाको रूखनेरको बाटोमा बसेर साथीहरु स्कुल जाँदा गाइगुइँ हल्ला गरेको आवाज सुनेर बस्थे। त्यसले उनलाई पढ्न मन लाग्थ्यो। मनमा जिज्ञासाहरु उठिरहन्थे। लाग्थ्यो 'कस्तो हुन्छ होला, स्कुल?' जन्मेको ११ वर्षसम्म घरका चार भित्ताहरु, अनि बुवाले रोपेका बाँसको रुख यस्तै अन्य रुखहरु उन्को खेल्ने चौतारी थिए। अनि एकान्तको साथी पनि तिनै।
सुन्तलाका तिखा काणेधारी पातहरु छाम्दै सुन्तला टिपेका दिनहरु अझै उनको स्मृतिमा ताजमहल झैं ठडिएर बसेका छन्।
तेज दिमाग भएका गोबिन्द सरका काका गाउँकै स्कुलमा पठाउँथे। ब्ल्याक बोर्डका अक्षरलाई देख्न नसके पनि सुन्नका लागि मात्रै उनलाई काकाले स्कुल लैजान्थे। स्कुलमा गुरुहरुले पढाएको सुन्ने काम मात्र हुन्थ्यो। थप प्रगति केही थिएन। होस पनि कसरी? आखिर त्यो दृष्टिविहीनहरु पढ्ने स्कुल नै थिएन।
मान्छेको दिन सँधै एकनासको हुँदैन। उनको जीवनमा पनि त्यस्तै भयो। त्यति बेला उनी १२ वर्षका थिए। गाउँ नजिकैको एक घरमा पूजा गर्न जाँदा अचानक बाटोमा बाबाको मृत्यु भयो। घरका माइला छोरा उनलाई बाबाको मृत्युले क्षतविक्षत बनायो। मृत्युले कसैले जित्न सक्दैन भन्ने उनले महसुस नगरेका पनि होइनन्। बाबाको बर्खी सकेर काकासँग काठमाडौंको यात्रा तय गरे। गोविन्द सर आफ्नो विगत सुनाउँदा निकै भावुक थिए।
'त्यति बेला खुट्टामा जुत्ता थिएन। जाने बेलामा बाबाले पूजामा पाएको कोट आमाले लगाइदिनुभएको थियो। घिउ खुट्टाको पैतलामा लगाइदिनुभएको थियो। तीन घण्टाको पैदल यात्रापछि पाल्पा पुग्यौं,' उनी त्यसबेलाको यात्रा वर्णन यसरी गर्दै थिए, 'पाल्पाबाट पोखरा हुँदै गाडीमा काठमाडौं आएका थियौं।'
उनी २०३२ सालमा काठमाडौंको कीर्तिपुरस्थित ल्याब स्कुलमा भर्ना भए। त्यहीँबाट उनको औपचारिक अध्ययन यात्रा प्रारम्भ भयो।
पढाइमा राम्रो भएकै कारण कक्षा जम्प गर्न सजिलो भयो। ब्रेल सिकिसकेपछि सिधै चार कक्षा पढ्ने अवसर मिल्यो। २०४१ सालमा एसएलसी पास गरेका उनलाई होस्टेल बस्दा घरको याद खुब आउँथ्यो। आमाको ममता सम्झिएर कयौं रात रोएर कटाए। अहिले पनि आमाको आवाज कानमा गुन्जिरहेजस्तो लाग्छ।
एसएलसी पछि उनले ताहाचाल क्याम्पसबाट शिक्षा संकायमा प्रमाणपत्र तह पास गरे। त्रिविबाट स्नातकोत्तर सकाए। उनले स्पेसल निड एजुकेसनमा एक वर्षे कोर्ष गरेका छन् भने कानुनमा स्नातक पनि सकाएका छन्।
लामो समयसम्म शिक्षा लिन - दिनमा व्यस्त गोविन्द सरले २०५१ सालमा विष्णु कुमारी नेपालसँग बिहे गरे। उनीहरूका दुई छोरी छन्। जेठी छोरी समिक्षा माहाराजगञ्जमा बिएस्सी नर्सिङ् गर्दैछिन् भने कान्छी छोरी स्विकृति बिबिए पढीरहेकी छिन्।
२०५६ सालमा बिबिसीले आयोजना गरेको स्रोता कवि सम्मेलनमा दोस्रो हुन सफल भएका उनी २०७३ सालमा प्रतिभा पुरस्कारबाट सम्मानित भए।
कथा, निबन्ध, कविता, समालोचना जस्ता विषयमा कलम चलाउने उनी समाजले आँखा नदेख्ने भनेर गलत धारणा बनाउनेका लागि दरिलो झापड बनेका छन्।