महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारीसाधान सञ्चालन गर्दा सवारी साधनको सरसफाई र मर्मत संहारमा ध्यान दिन आग्रह गरेको छ।
मंगलबार काठमाडौंमा उपत्यकाको सार्वजनिक सवारी व्यवस्थापन सम्बन्धमा सरोकारवाला निकायसंग छलफल गर्दै महाशाखाले सवारी दुर्घटना न्युनिकरण गर्नका लागि पनि सवारी साधनको उचित मर्मत सम्भार अपरिहार्य रहेको भन्दै यसमा ध्यान दिन आग्रह गरेको हो। महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले यातायात व्यवस्थापनको सुधार यातायात व्यवसायीबाटै सुरु हुनुपर्ने बताए।
यातायातका साधन भित्रको अवस्था, सिट लगाएतको व्यवस्थाको पनि सुधार हुनुपर्ने भन्दै यसका लागि कारवाही गर्न बाध्य नबनाउन पनि उनले यातायात व्यवसायीसंग आग्रह गरे।
छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले सडकको उचित व्यवस्था गरे ट्राफिक व्यवस्थापनमा सहज हुने धारणा राखे। गाडीमा यात्रु कति राख्ने भन्ने बारेमा यातायात व्यवस्था बिभागसंगको छलफलबाट टुङ्गो लगाउनुपर्ने जिकिर गरे।
छलफलका क्रममा सरकोकारवालाहरुले काठमाडौंको ट्राफिक व्यवस्थापनका लागी आमनागरिकहरु पनि सचेत हुनुपर्ने बताएका थिए।