मदिरा सेवनपछि प्रहरीलाई आक्रमण गर्ने ६ युवामाथि मुद्दा

बिएल

मदिरा सेवन गरेर प्रहरीमाथि दूरव्यवहार र आक्रमण गर्ने ६ युवालाई पक्राउ गरिएको छ।

गस्तीमा रहेका प्रहरीमाथि मोरङको रतुवामाई नगरपालिका–८ दाम्रभिट्टामा आक्रमण भएपछि बुधबार राति पक्राउ गरिएका युवाविरूद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए। प्रहरीले धनकुटाको महालक्ष्मी नगरपालिका–३ का १९ वर्षीय सुमन कार्की, दिप्सन थापा, २० वर्षीय डुवेन्द्र थापा, शासन कार्की, रतुवामाई–८ का २० वर्षीय रवि पराजुली र रतुवामाई–७ का २० वर्षीय सुजन बस्नेतलाई पक्राउ गरेको हो।

पक्राउ परेका मध्ये रवि पराजुलीको जन्मदिन मनाउन युवाहरू जम्मा भएका थिए। डीएसपी श्रेष्ठका अनुसार साथीको जन्मदिनमा मदिरा सेवन गरेर बजारमा होहल्ला गर्दै राति ११ बजे हिँडिरहेको पाइएपछि प्रहरीले सम्झाईबुझाई गरेर पठाएको थियो। त्यसपछि गस्ती गर्दै वडा कार्यालय छेउ पुगेको प्रहरी टोलीले त्यहाँको चउरमा मदिरा सेवन गरेर होहल्ला गरिरहेको अवस्थामा उनीहरूलाई भेटेको थियो।

गोठाला बन्दै पर्यटन उद्यमी (भिडियोसहित)

त्यहाँ पनि सम्झाईबुझाई गर्दा युवाहरूले सुरुमा प्रहरी चौकी दाम्रभिट्टाका सहायक निरीक्षक (असइ) सुरेन्द्रकुमार मण्डलमाथि दुरव्यवहार गरेको डीएसपी श्रेष्ठले बताए। ‘त्यस क्रममा त्यहाँ रहेकामध्ये सुमनले प्रहरी जवान राजु श्रेष्ठमाथि मदिराको बोतल प्रहार गरे,’ उनले भने, ‘लट्ठीले छेक्न सकेका कारण बोतल भने लागेन।’ सबै युवालाई पक्राउ गरेर कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ।

पक्राउ परेका मध्ये धनकुटा घर भएका सुमन, डुवेन्द्र र शासन कोरियन भाषा पढेर इटहरीमा बस्दै आएको खुलेको छ। दिप्सन फार्मेसीका विद्यार्थी हुन्।

प्रकाशित मिति: : 2019-11-14 12:13:02

प्रतिकृया दिनुहोस्