सुनसरीको धरान उपमहानगरपालिका–६ घर भएका निलम्बित प्रहरी जवान ३५ वर्षीय सन्तोष तामाङ लागुऔषधसहित विराटनगरबाट पक्राउ परेका छन्।
यसअघि पनि लागुऔषध मुद्दामा निलम्बन गरेर कारबाही अघि बढाइएका उनी दोस्रो पटक लागुऔषधसहित पक्राउ परेका हुन्। भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट उनी मंगलबार पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए।
उनका अनुसार लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले को १३ प ५०६४ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा तामाङले लगाएको हेल्मेट भित्र लुकाएको अवस्थामा १५ ट्याब्लेट लागुऔषध नाइट्रोजन फेला पारेको थियो। उनीविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन बुधबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यसअघि इलाका प्रहरी कार्यालय धरानले गत असार २० बाट लागु हुने गरी निलम्बन गरेर उनीमाथि लागुऔषध मुद्दा चलाएको थियो। धनकुटा दरबन्दी रहेका उनी जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीको गाडीका चालक थिए।
घटनाअनुसार धरान रंगशालापछाडि अर्का प्रहरी जवान दिपक तामाङ सर्वसाधारणलाई लागुऔषध दिँदै गर्दा गत असार १७ पक्राउ परेका थिए। दिपकलाई धरानकै ओम लिम्बू र दिलकुमार लिम्बूलाई चार सय क्याप्सुल स्पास्मोप्रोक्सिभन प्लस नामक लागुऔषध दिँदै गर्दा रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले बताए। उनका अनुसार ओम र दिलकुमारले प्रहरी जवान सन्तोष तामाङले अर्का प्रहरी जवान दिपकमार्फत इनरुवाबाट लागुऔषध पठाइदिएको बताएपछि सन्तोषलाई पनि धरान तानेर कारबाही अघि बढाइएको थियो।
लागुऔषध मुद्दा चलाइएका दुवै प्रहरी जवानलाई त्यति बेला एकै पटक निलम्बन गरिएको थियो। सुनसरीका विभिन्न नाका हुँदै लागुऔषध नेपाल ल्याएर सन्तोषले दिपकमार्फत प्रयोगकर्तालाई ‘सप्लाई’ गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो।
लागुऔषध मुद्दा चलाइएका मध्ये जिल्ला अदालत इनरुवाले मागेको जनही ५० हजार रुपैयाँ धरौटी बुझाएर दुई प्रहरी जवान र ओम लिम्बू छुटेका थिए। दिलकुमार लिम्बूलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दियो।
मुद्दा बिचाराधिन रहेका कारण दुवै प्रहरी जवान निलम्बनकै अवस्थामा रहे पनि फेरि सन्तोष भने भारतबाट लागुऔषध लिएर आउँदै गर्दा पक्राउ परेका हुन्। प्रहरी पेशामा जोडिएका व्यक्ति पटक–पटक लागुऔषध जस्तो जघन्य अपराधको मुद्दामा जोडिएपछि गम्भीर ढंगबाट अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए।
उनले प्रहरी जवान तामाङको अरु व्यक्तिसँगको कनेक्सन पनि खोतल्न थालिएको बताए। यसअघि भारतबाट ल्याएर लागुऔषध ग्राहकसम्म पुर्याउने काम गर्दै आएका उनी निलम्बनमा परेपछि यसको कुलतमा पनि फसेको निस्कर्षमा प्रहरी पुगेको छ।