दृष्टिविहीन भएकोमा कुनै पछुतो छैन-आकाश शाह(भिडियोसहित)

तस्बिरः बिएल नेपाली सेवा

गायक आकाश शाहको आवाजमा रहेको लोक पप तथा डान्सिङ गीत यति बेला बजारमा आएको छ। 'पाटी डान्स नामक गीत' रिलिज भएको झण्डै एक महिना भैसक्यो।

 यो उनको पाँचौ गीत हो। यसअघि उनले 'मेरो माया आँसुले आँखा भिजे पनि', 'उदायो सूर्य' लगायतका गीतहरु गाइसकेका छन्। यी गीतहरुमा लय, शब्द, आवाज आफ्नै भए-पनि 'पाटी डान्समा' भने शब्द विकास घलेको रहेको छ।

२०७१ सालबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका शाहले दृष्टिविहिनहरुसँग क्षमता भएता पनि समाजले सजिलै विस्वास गर्न नसकिरहेको बिएल नेपालीलाई बताए। 'शरिरको कुनै अङ्ग नचल्दैमा मानिस असक्षम हुँदैन।' उनले भने, 'हामीलाई एक पटक विश्वास गरेर त हेर्नुस्।'

उनी शिक्षक पनि हुन्। सिन्दुपाल्चोक स्थित श्री बन्देवी माविमा माध्यमिक तहमा अध्यापनरथ छन्। शिक्षाशास्त्र उनको मुल विषय हो।

उनी सानो हुँदा रेडियो सुन्ने गर्थे। त्यहीँबाट उनको गीत संगितमा लगाव बढेको हो। अझ भनौं सानोमा उनको सहयात्री नै रेडियो थियो।

३४ वर्षीया शाह सिन्धुपाल्चोक जिल्लाको ऐंसेलुखर्क माविमा सात कक्षासम्म पढे। उनी घरका जेठा छोरा हुन्। भाइ नेपाल आर्मिमा छन्। दुई बहिनी छन्। उनीहरुको बिहे भैसकेको छ।

उनका बाबाको मृत्यु हुँदा उनी पाँच वर्षका थिए। उनी भन्छन् 'सायद मेरो बुबा भैदिएको भए कति खुसी हुनुहुन्थ्यो होला।'

यति भनिरहँदा उनको गला अवरुद्ध भैसकेको थियो। 'प्रकृतिले कस्लाई कति बेला ठग्छ थाहै हुँदो रहेनछ,' स्कुले दिनलाई सम्झिदै भन्छन्, 'जब म सात कक्षामा भर्ना भएँ। त्यसपछि मलाइ प्रकृतिले नराम्रोसँग ठग्यो। जसरी दिन रातमा परिणत हुन्छ, त्यसरी नै मेरो उज्यालो जिवन बिस्तारै अन्धकारमा परिणत हुँदै गयो।'

उनलाई आँखाले नदेखिदाको संसार नमज्जाको लाग्छ। उनको पाइला पाइलामा अँध्यारोपनले प्रवेश गर्दै गयो। उनी भावुक हुँदा यो धर्तिमा एक्लो छु जस्तो सोच्छन्।

पूर्ण दृष्टिविहिन भइसकेपछि आकाश स्कुल छोड्न बाद्य भए। दुई वर्षसम्म उनको साहारा घरको सानो कोठा र अनि रेडियो मात्र बन्यो। समाजका केही मान्छे भन्थे, 'अब तेरो जिन्दगी सकियो।' तर परिश्रमीहरुलाई कस्ले काहाँ पो रोक्न सक्छ र? उनी स्कुलको राम्रो विद्यार्थी थिए। धेरै पढ्न मन लाग्थ्यो। तर दृष्टिविहिनहरु कहाँ पढ्छन् भन्ने उनलाई थाहा थिएन। एक दिन हेलेन केलर इन्टरनेस्नल संस्थाका अम्बर गरुङसँग उनको भेट भयो। उनले नै पुर्वाञ्चल ज्ञान चच्छु धरानमा कक्षा आठमा भर्ना गरिदिए। उनले कक्षा आठको पडाई त्यहीँ पुरा गरे।

उनी पोखराको अमरसिंह विद्यालयमा पढ्न थाले। २०५९ सालमा त्यहीँबाट एसएलसी दिए र प्रथम श्रेणीमा उतिर्ण भए। त्यसपछि सपनाको सहर काठमाडौं गए र उच्च शिक्षा हाशिल गरे।

शिक्षाशास्त्रमा स्नातक उनले ललितकला क्याम्पसमा दुई वर्ष लगातार संगीत पनि सिके। 'जिन्दगी सिक्ने र सिकाउने प्रक्रिया हो,' त्यसैले उनी भन्छन्, 'दृष्टिविहिनहरुलाई पनि संगीत सिकाउने गरिरहेको छु।'

शाह यतिबेला श्रीमती र दुई छोराहरुसँग बस्दै आएका छन्। उनी अरुले गाएका १५ वटा गीतका सर्जक पनि हुन्।

शाह हिजो हिजो आफू दृष्टविहिन भएकोमा जति वियोग डुविरहेका हुन्थे, आज त्यसको केही प्रतिशत पनि निराश छैनन्। निर्धक्क भन्छन्, 'म आफू दृष्टिविहिन भएकोमा कुनै पछुतो छैन।'

उनी अध्यापन सँगसँगै संगीतलाई पनि अगाडि बढाउन कम्मर कसेर लागेका छन्। हाल सिन्धुपाल्चोक जिल्लाका विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा गीत गाउने गरिरहेका छन्। संगीत कम्पोजको कामलाई पनि सँगसँगै लिइरहेका छन्। उनले यो काम आफ्ना गुरू चन्दन श्रेष्ठसँग सिकेका हुन्।

उनी शिक्षक भएदेखि विद्यार्थी आकर्षणका विभिन्न उपाय अपनाइरहेका छन्। कक्षामा गीत गाएर ध्यान केन्द्रित गर्नेदेखि अरु विभिन्न उपाया अवलम्बन गरिरहेका छन्। यति हुँदाहुँदै पनि उनका केही दु:ख छन्। जुन हिजोदेखि बेहोरिरहेका छन्। अपाङ्गता भएकै कारणले गर्दा परीक्षामा लेख्ने सहयोगी नपाउनु विद्यालयदेखि क्याम्पससम्म उनी पढ्दाको ठूलो समस्या हो। आठ कक्षाबाट छात्रबासमा दृष्टिविहीन साथिहरुसँग बसे पनि पढ्न आँखा देख्ने साथिसँग पर्थ्यो।

दृष्टिविहिनलाई पढ्न भनेर ब्रेललिपिको पुस्तक तयार भएको भएनि पुस्तकमा सितिमिति पहुँच हुँदैन थियो। सबैभन्दा सकस भनेको परीक्षामा लेख्ने सहयोगी खोज्नको लागि नै हुन्थ्यो। वर्षभरी पढिसकेपछि लेखिदिने मान्छे नभेटिदा अस्पताल भर्ना हुने खालको तनाव बेहोर्नु पर्थ्यो। सात कक्षासम्मसँगै पढेका साथिहरु दृष्टिविहिन भैसकेपछि उनीसँग खेल्न समेत मान्दैनथे। त्यसबेला उनलाई जीवन साह्रै उराठ लाग्थ्यो।

कालो वादलमा चाँदीको घेरा हुन्छ भनेजस्तै निराशा बीचमा पनि भरोसा हुन्थ्यो। त्यही भरोसाका स्रोत थिए, आमा र स्कुलका गुरूहरू। गीत, संगीतलाई निरन्तरता दिन पनि उनीहरुले नै उत्साहित गरिरहे। 'जब म बन्द कोठामा एक्लै हुन्थे मेरो जीवन रेडियो र घरका चार ओटा भित्ताहरु मात्र हुन् जस्तो लाग्थ्यो' त्यसबेलाको समयलाई सम्झदा उनी अहिलेपनि नोस्टाल्जिक हुन्छन्।

संगीत जीवनको आयाम बनाएका उनका यस क्षेत्रमा पनि दु:ख छन्। उनले जति पनि गीत गएका छन् ती सबै आफ्नै लगानीका हुन्। 'मैले आफ्ना आवश्यकताहरु  कटाएर गीत संगीतमा लगानी गरेको  छु,' उनी भन्छन्, 'जीवन संघर्षको मैदानजस्तो लाग्छ। साङ्ग व्यक्तिहरुको पहुँच भएर मिडिया नजिक छिट्टै पुग्ने र कलागला भएर पनि पहुँच नभएकाहरु पर्दा पछाडि रहने स्थिति छ।'

अध्यापन र संगीत क्षेत्रमा तन मन लगाएका शाह हाल सिन्धुपाल्चोक जिल्लामा रहेको नेपाल नेत्रहिन संघको अध्क्षयसमेत छन्।

प्रकाशित मिति: : 2019-11-11 09:49:13

प्रतिकृया दिनुहोस्