के होला अफताब आलमको मुद्धा?

बिएल

नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताब आलम २६ असोजमा रौतहटको शेख इद्रीस गेटबाट पक्राउ परे ।

उनी माथि १२ वर्ष पुरानो मुद्धा थियो। पहिलो संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा चुनाव बिथोल्न २७ चैत २०६४ मा उनले आफ्नै चुनावी क्षेत्रमा बम बनाउन भारतबाट केही व्यक्ति र सामान खरिद गरेर ल्याएका थिए।

तर, बम बनाउने क्रममा सावधानी अपनाउन नसक्दा बम बनाउने स्थानमै एक्कासी विस्फोट भयो। विस्फोटको घटनामा २२ जना घाइते भए। घाइतेका कारण घटना सार्वजनिक हुने डरले अफताब आलमले आफ्नै चिनजानको इँटाभट्टामा २२ जनालाई जिउँदै जलाए।

१२ वर्षसम्म यो जघन्न हत्याकाण्डलाई दबाउन अनेकौ खेल भए। पुलिस प्रशाषन मात्र होइन, महान्यायधिवक्ता कार्यालयदेखि कानुनी राज्यको दुहाई दिने नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टी नेपाली कांग्रेसको शीर्ष नेतासम्म घटनालाई दबाउन सक्रिय भए।

घटनालाई दबाउन यति सम्म काम भयो, तत्कालिन नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा कांग्रेस पार्टीले अफताबलाई मन्त्री बनाउने निर्णयसमेत गर्यो।

तर, मानवअधिकार आयोगको चर्को दबाब र घटनाका प्रत्यक्षदर्शी तथा मारिएका आफन्तहरूको लगातारको खबरदारी पछि अन्ततः प्रहरी सक्रिय भयो र घटनाको १२ वर्षपछि अफताब आलम पक्राउ परे।

इँटाभट्टामा जिउँदै जलाइएका २० भारतीयको पूर्ण विवरण अझै आइसकेको छैन। तर, चुनावी प्रचारमा प्रयोग गर्न आफूसँग लगिएको भनिएका रौतहट साविक सरुवठा गाविस–९ तथा हाल यमुनामाई गाउँपालिका–४ का ओशी अख्तर र ‘पिन्टु’ भन्ने त्रिलोकप्रताप सिंह मारिएको आरोप लागेपछि अफताब आलम प्रहरी हिरासतमा पुगेका हुन्।

विस्फोटमा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसँगै अन्य २० भारतीयलाई पनि इँटाभट्टामा लगिएको प्रत्यक्षदर्शीले प्रहरीमा बयान दिएका छन्। हत्या आरोप लागेका अफताबलाई पहिलो पटक ३ कात्तिकमा अदालतमा उपस्थित गराएर ५ दिनको म्याद थप गरिएको थियो।

अफताब पक्राउपछि प्रहरीको अनुसन्धानमा विस्फोटमा घाइते भएका मानिसलाई इँटाभट्टासम्म ओसार्न प्रयोग भएको ट्याक्टरसमेत फेला पार्यो। ना १ त ६४७२ नम्बरको ट्रयाक्टर २३ असार २०६७ मा अरुलाई बेचिएको प्रहरी अनुसन्धानमा फेला परेको छ। प्रहरीका अनुसार २४ जेठ २०५७ मा अफताबकै नाममा ट्रयाक्टर खरिद भएको थियो।
अहिले प्रहरीले बम विस्फाेट हुँदा घाईते भनिएका गोडैटा नगरपालिका–२ सर्लाहीस्थित पिपरनाथ गाउँका सफिक मोहम्मदले दिएको भिडियो बयानलाई मुख्य प्रमाण मानेको छ।

रटाइएकोे बयान

अफताब आलमलाई प्रहरीले पक्राउ गरेसँगै प्रत्यक्षदर्शीको रूपमा धेरै मानिस अगाडि आएका छन्। केही प्रत्यक्षदर्शीको बयान सुन्दा अपत्यारिलो लाग्छ। यसले अफताबको मुद्धा प्रभावित हुने त होइन, भन्ने आशंका पनि उब्जिएको छ। घटनाको प्रत्यक्षदर्शीको रूपमा रामबहादुर शाह, अम्बुकुमार यादव, ओशी अख्तरका ससूरा समसुल हक र त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण शाहले बयान दिइरहका छन्।

शाहले आफ्नो सन्तान गुमाएका छन्। यसमा दुइमत छैन। तर उनको बयान सुन्दा उनी आफै घटनास्थलमा थिए भन्ने भ्रम सिर्जना भइरहेको छ। अर्का बयानकर्ता ओशी अख्तरका ससूरा समसुल हकले जोगीको भेषमा आफू अफताबको गाउँमा गएर घटनाको पुष्टी गरेको बताएका छन्। मुस्लिम गाउँमा जोगीको भेषमा उनी कसरी पुगे? यसले पनि प्रश्न उब्जाएको छ।

अर्कोतर्फ अफताबको गाउँ राजपुर नगरपालिका–४ मा कोही पनि यो घटनाको विषयमा चुँइक्क बोल्न चाहदैनन्। राजपुर नगरपालिका ४ नम्वर वडा अध्यक्ष अन्सारुल हकको एउटै जवाफ छ–‘यहाँ केही भएको छैन।’ यसले के पुष्टि हुन्छ भने घटनाको विषयमा मानिसहरूलाई सुरूदेखि नै बोल्न प्रशिक्षित गरिएको छ।

राज्यकै संरक्षणमा १२ बर्ष लुकेको अपराध

संविधान सभाको चुनाव हुनुअघि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार थियो। नेपाली कांग्रेसकै तत्कालीन महामन्त्री कृष्ण सिटौला गृहमन्त्री भएको समयमा परदहवा नरसंहार भएको थियो।

चुनावको एक दिनअघि आफ्नै काकाको घरमा भएको विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप अफताब आलम माथि लागेको छ।

फरदहवा नरसंहारको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटमा लक्ष्मण न्यौपाने एसपी थिए। उनका अलावा सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामाले पनि घटनालाई ढाकछोप गर्न भूमिका खेलेको पीडितपक्षको आरोप छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीकै तत्कालीन जिल्ला नेतृत्वको संरक्षणमा अफताबले प्रमाण नष्ट गर्न घाइते र मृतकलाई इँटाभट्टाको चिम्नीमा हालेर खरानी बनाएको पीडित पक्षको आरोप नकार्न नसकिने अनुसन्धान खटिएका प्रहरी अधिकारी बताउँछन् ।

प्रहरी अधिकारीका अनुसार घटना भएको ७ दिनपछि तत्कालीन गृहमन्त्री सिटौला, तत्कालीन गृहसचिव र प्रहरी महानिरीक्षक ओमविक्रम राणा रौतहट पुगेका थिए।

उनीहरूले जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन एसपी न्यौपानेसँग छलफल समेत गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताएका छन्। यसपछि पनि पीडितले न्याय पाउन सकेनन्। घटनालाई कागजीरूपमा निमिट्यान्न पार्ने काम भयो।

प्रहरीले त्यति बेला ‘झारा टार्न’ एकजना प्रत्यक्षदर्र्शीको बयान भने लिएको थियो। बम विस्फोटमा घरको छाना उडेपनि रातारात निर्माण भएको तथा तलको पर्खाल समेत नयाँ लगाएको बयान ती प्रत्यक्षदर्र्शीले दिएका थिए।

केही दिनपछि श्रीनारायण सिंह आफ्नो छोरा त्रिलोकप्रताप सिंह र रुक्साना खातुन आफ्नो छोरा ओशी अख्तरको हत्या भएको भन्दै अफताबविरुद्ध किटानी जाहेरी लिएर प्रहरीसमक्ष पुगेका थिए। तर, प्रहरीका तत्कालीन एसपी न्यौपानेले जाहेरी लिन नमानेको त्रिलोकप्रतापले बताइसकेका छन्।

उनका अनुसार हुलाकमार्फत् पठाइएको जाहेरी पछि प्रहरीले बाध्य भएर दर्ता गरेको थियो। त्यति बेला केही मानिसको बयान हिरासतमा लिने काम भएको थियो। प्रहरीमा जाहेरी परेपछि अफताब शक्ति प्रदर्शन गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित भएका थिए।

जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने भनेर गरेको निर्णय उच्च अदालत हेटौंडा हुँदै महान्यायाधिवक्ता कार्यालयले समेत सदर गरेको थियो। त्यति बेला यज्ञमूर्ति बञ्जाडे महान्यायाधीवक्ता थिए।

आफूले न्याय नपाएपछि पीडित परिवार सर्वोच्चको ढोका ढक्ढक्याउन पुगेका थिए। सर्वेच्चका तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले पीडितको जाहेरी दर्ता गरेर घटनाको अनुसन्धान गर्न आदेश दिएको थियो।

घटना भएपछि हालसम्म प्रहरी प्रमुख

राजपुर फरहदवा नरसंहार हुँदा २०६४ सालदेखि हालसम्म जिल्ला प्रहरी प्रमुखको हैसियतमा नेतृत्व गरेका प्रहरी उपरीक्षकको सूची यस्तो छ –
१. लक्ष्मण न्यौपाने – २०६४–०८–१२ देखि २०६५–४–६ सम्म
२. जयबहादुर चन्द – २०६५–०४–०६ देखि २०६५–०७–२९ सम्म
३. धनानन्द भट्ट – २०६५–०७–२९ देखि २०६६–०८–०३ सम्म
४. पिताम्बर अधिकारी – २०६६–०८–१९ देखि २०६८–०२–२४ सम्म
५. घनश्याम अर्याल – २०६८–०२–३१ देखि २०६८–०८–१९ सम्म
६. ठूले राई – २०६८–०८–१९ देखि २०६९–०६–२५ सम्म
७. महेशविक्रम शाह – २०६९–०६–२५ देखि २०६९–१०–१७ सम्म
८. गोविन्दराम परियार – २०६९–१०–१७ देखि २०७०–०९–१७ सम्म
९. उमेश रंजितकार – २०७०–०९–१७ देखि २०७१–०५–१२ सम्म
१०. सानुबाबु थपलिया – २०७१–०५–१२ देखि २०७२–०४–१५ सम्म
११. प्रद्युम्नकुमार कार्की – २०७२–०४–१५ देखि २०७२–०८–१२ सम्म
१२. गणेश रेग्मी – २०७२–०८–१५ देखि २०७३–०८–०९ सम्म
१३. यज्ञविनोद पोखरेल – २०७३–०८–१६ देखि २०७५–०१–२८ सम्म
१४. रविन्द्र केसी – २०७५–०१–३१ देखि ०७५–०३–२६ सम्म
१५. केदार ढकाल – २०७५–०३–२७ देखि २०७५–११–११ सम्म
१६. भुपेन्द्रबहादुर खत्री – २०७५–११–०८ देखि हालसम्म कार्यरत

 

प्रकाशित मिति: : 2019-10-31 17:38:54

प्रतिकृया दिनुहोस्