तिहारको माहौल। शहर फूलैफूलले ढकमक्क बलेको छ। यति बेला काठमाडौंको धुलाम्य शहर पनि बेहुली अन्माउन लागे जत्तिकै रमाईलो छ। जतागयो उतै फूलैफूल र माला सजाएर बेच्न राखेको देखिन्छ।
यहि रमाईलोलाई मानिसले आफ्नै ढंगले अनुभूत गरिरहेका छन्। बजारमा समान किन्ने र बेच्ने मानिसको भीड उत्तिकै देखिन्छ भने घरघरमा माला उन्ने र तिहारको मरमसला तयार पार्ने चटारो उत्तिकै भेटिन्छ।
यहि तिहारको रमझममा वानियाटार नजिकै रहेको नवजीवन ग्राममा आश्रय लिइरहेका मानिसमा तिहारको चटारो अलि बेग्लै थियो। उनीहरू कोही फुलको माला बनाउन व्यस्त थिए भने केही फूलबारीमा गोडमेल गर्न मस्त थिए।
एकातिर देउसीभैलो खेल्नेको जमात आफ्नै स्वरमा भट्टयाउँदै थिए भने केही महिला आफ्नै सुरमा रमाईलो गरिरहेका थिए।
दुर्गानाथ दाहाल समाजसेवामा परिचित नाम हो। कतिले सडकका डाक्टर पनि भन्छन्, उनलाई।
सडकमा वेवारिसे अवस्थामा भेटिएका जीव जनावरदेखि मानवको समेत तत्काल उद्धार गर्ने दाहालले हालै मात्र नवजीवन ग्रामको निर्माण गरेर सडकपेटिमा वेवारिसे अवस्थामा फेला परेका मनोरोगीलाई संरक्षण दिइरहेका छन्।
सडकमा भेटिएको कुनै प्राणीलाई तत्काल सडकमै पुगेर उपचार गर्ने र उनीहरुलाई आश्रय दिने काममा तल्लिन दाहालले भरखरै ४० लाखको लागतमा नवजीवन ग्राम आश्रय निर्माण गरी १५ जनालाई आश्रय दिएका छन्।
उनले वेवारिसे अवस्थाका भेटिएका ती मानिसलाई आश्रय मात्र दिएका छैनन्, आश्रम वरिपरी रहेको साढे चार रोपनी जग्गामा फूल लगाएर उनीहरूलाई रोजगारी पनि दिएका छन्।
यसले मनोरोगीमा सकारात्मक सोचको विकाश हुने उनको भनाई छ। भन्छन्, ‘शारिरीक र मानसिक रूपमा विक्षिप्त मानिसलाई आश्रममा यत्तिकै राख्नु भन्दा उनीहरूलाई कुनै न कुनै काममा लगायो भने सोचेर बस्ने समय हुदैन। उनीहरूको मनोरोग पनि कम हुन्छ।’
कसैसँग हात नथापी समाजसेवामा जुटेका दाहाल फूल बेचेर भएको आम्दानी सेवाघरकै लागि खर्च गर्ने गरेको बताउँछन्। ‘आज बिहान मात्र १५ हजारको फुल बेच्यौं’, उनी भन्छन्–‘आश्रममा सेवा लिने मानिसको लागि खर्च जुटाउन अरूको हात थाप्न नपरोस् भनेर हामीले यही जग्गामा सिजन अनुसारको खेती गरिरहेका छौं।’
उनी ४ हजार फुल रोप्दा एक सिजनमा ४ लाखसम्म कमाईं हुने बताउँछन्। भन्छन्, ‘सरकारले आफ्नै देशमा उत्पादन हुने समान अन्य देशबाट ल्याउन नदिने नीति ल्याउने हो भने तरकारी र फूल खेतीले स्वदेशमै प्रशस्त आम्दानी गर्न सकिन्छ।’
दाहाल पेशाले व्यवसायी हुन्। काभ्रे घर भएका उनले कृषि पेशाबाटै आफ्नो व्यवसाय सुरु गरेका थिए । काभ्रेमा बेमौसमी तरकारी खेतीबाटै व्यवसाय सुरु गरेका उनले महाबौद्धमा कपडाको व्यवसाय पनि गरेका थिए।
२०७२ सालको महाभूकम्पले व्यवसायप्रतिको उनको रुचि एक्कासी समाजसेवामा रुपान्तरण गर्यो। उनी भन्छन्–‘एक सेकेन्डमा मान्छेको लासैलास भएको देखेपछि पैसाको पछाडि कुद्नु बेकार जस्तो लाग्यो।’
अहिले उनी नवजीवन ग्राममा आश्रित मानिसको सेवा गर्नमै व्यस्त देखिन्छन्। आश्रम वरीपरी फुलेको फूललाई मुसार्दै भन्छन्– ‘वेवारिसे अवस्थामा भेटिएका यि मानव र फूलहरुले मेरो जीवनको रंग भरिदिएको छ।’