एक सातामा दुई गायक पक्राउ परे, दुर्गेश थापा अनी भिटेन भनिने समिर घिसिङ। दुबैलाई पक्राउ गर्ने कार्यालय मात्रै होइन, कारण पनि लगभग समान छन्– अश्लिलता फैलाएको आराेप।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको गम्भीर प्रकृतिको अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएको महानगरीय प्रहरी अपराध महाशाखाले यी दुबै गायकलाई पक्राउ गरेको थियो।
गायक तथा मोडल दुर्गेश पक्राउको कारण थियो, उनको तिहारे गीत ‘ह्यापी तिहार’ का शब्द। तीजको गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा...’ बाट चर्चामा आएका गायकले तिहारमा पनि उस्तै धमाका मच्याउने योजनासहित ‘ह्यापी तिहार’ बोलको गीत ल्याए, म्युजिक भिडियो बनाएर।
गीत रिलिज भए लगत्तै सामाजिक सञ्जाल टिकटकमा भाइरल भयो। उनको गीत आउनु र पूर्वयुवराज पारस शाह हार्ली डेभिड्सन बाइकमा पोखराका सडकमा बरालिनु एकै समय पर्यो।
पारसको त्यही दृष्य कैद गरेका टिकटके प्रयोगकर्ताले पृष्ठभूमिमा दुर्गेशको गीत ‘डन आयो डन’ राख्दै गीत भाइरल बनाइदिए।
उनको गीतको प्रारम्भमै मदिरा प्रोत्साहन गरिएको थियो। दिदीभाइ, दाजुबहिनीको सम्बन्धको चाँड तिहारलाई मदिरामय बनाउन उनले गीतको प्रारम्भ नै ‘ह्यापी तिहार, ह्यापी तिहार चिसो बियर’ राखेका मात्रै थिएनन्, उनको म्युजिक भिडियो अर्ना नामक बियरले प्रायोजन गरेको थियो र म्युजिक भिडियो भरि अर्ना बियरको प्रमोशन गरिएको थियो।
गीतमा एक लाइन ‘गाँजा ले खाउँ’ भन्ने भावसमेत राखिएको थियो। यसैलाई आधार बनाएर दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन पर्यो। निवेदन प्रहरीकोमा पुग्यो र उनी पक्राउ परे।
आफूले अपलोड गरेको गीत डिलेट गर्ने र नयाँ भर्सन राख्दा गाँजा र बियर शब्द हटाउनुपर्ने प्रहरीको सर्त दुर्गेशले स्वीकार गरे र गीत यूट्युवबाट हटाए। लगत्तै रिहा पनि भए। उनले बुधबार गीतको संशोधित भर्सन ल्याए, जसमा गाँजा र बियर शब्द सेन्सर गरिएको छ।
भिटेन पक्राउको कारण पनि दुर्गेशको जस्तै नै हो।
चार महिनाअगाडि रिलिज भएको उनको नयाँ र्याप ‘हामी यस्तै त हो नी ब्रो....’ मा उनले गाँजाको प्रसंग राखेका मात्रै थिएनन्, गाँजा बनाएर खाएको दृष्यसमेत म्युजिक भिडियोमा समावेश गराएका थिए।
दुर्गेश पक्राउ परेपछि यस्तै गीत गाउने अन्यलाई केही नगर्ने, दुर्गेशलाई हेपेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको आलोचना भएपछि बिहीबार भिटेन पनि पक्राउ परे।
उनले पनि दुर्गेशले झै गीत हटाए। तर, दुर्गेशझै मुक्ति पाएनन्। सामाजिक अश्लिलता फैलाएको आरोपमा प्रहरीले हिरासतमा राख्यो। हिरासतमै राख्नुको कारण देखायो- प्रहरीको असई दर्जाको पोशाक लगाएर गाँजा बनाउँदै गरेको उनको तस्बिर जुन उनले आफ्नो फेसबुक पेजमा राखेका थिए।
गीत पनि अभिब्यक्ति स्वतन्त्रताको एउटा पाटो हो। यो त अझ सृजनासँग जोडिन्छ। समाजमा देखेका कुरा गीत मार्फत अभिब्यक्त गर्न पाउनु गायकी अधिकार हो। अभिब्यक्ति स्वतन्त्रता भनेको जे पायो त्यही बोल्ने पक्कै हैन। यसकाे पनि सीमा र मर्यादा पक्कै हुन्छ। आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् हुन्छ या हुन्न त्यसमा सजग हुनै पर्छ।
दुर्गेश र भिटेनको गीत, शब्द र दृष्यमा कमजोरी नभएका हैनन्। तर, पक्राउ गरी प्रहरी कार्यालयमा पुर्याउने अनी सकेसम्म प्रहरी हिरासतमै राख्ने गरी उनीहरुले अपराध पक्कै गरेका होइनन्।
दुर्गेशको नियत सफा देखिन्न म्युजिक भिडियोमा। नयाँ भर्सनमा उनको कुनियत देखिएकाे छ। उनले गीत सृजनालाई मदिरा प्रवर्धनमा दुरुपयोग गरेका हुन्। तर, उनले प्रयोग गरेको 'ह्यापी तिहार, चिसो बियर' अनी गाँजाको प्रसंग मात्र कारबाही योग्य पक्कै हैन।
कुनै स्रोतालाई उनको म्युजिक भिडियो या शब्दमा आपत्ति लागेर उजुरी दिएको हकमा उजुरीकर्ताको गुनासो सम्बोधन गर्दै गायकलाई सामान्य सचेत गराउन सक्थ्यो प्रहरीले।
भिटेनको गीत रिलिज भएर लोकप्रिय भइसकेको महिनौंपछि प्रहरी कारबाहीमा उत्रिनु दुर्गेशलाई मात्र पक्रने भन्ने गुनासोको जवाफ दिने प्रयास मात्र हो।
उनको र्यापका शब्द कसैलाई ठिक लाग्न सक्छ, कसैलाई अपाच्य। अपाच्य लागेको हो भने पनि उनको काम पक्राउ गरेर प्रहरी कार्यालयमा राखेर हुर्मतलिँदै हिरासतमै राख्नुपर्ने हदसम्मको पक्कै हैन। उनलाई समेत सचेत गराएर ध्यानाकर्षण गराउन सकिन्थ्यो।
उनले प्रहरीको पोशाक प्रयोग गरेर गाँजा बनाउनु अभिब्यक्ति स्वतन्त्रताको दुरूपयोग पक्कै हो। तर, यो काम पनि हिरासतमै राखेर मुद्दा नै चलाउने हदसम्मको पक्कै हैन। उनलाई प्रहरीको पोशाकको प्रयोगबारे विद्यमान नियम कानुन सम्झाएर गल्ती सुधार्न लगाउँदै मुक्त गर्न सकिन्थ्यो । तर, प्रहरीले गरेन।
बेलाबखत सामाजिक सदाचारको दुहाई दिँदै प्रहरी कारबाहीमा उत्रिइरहन्छ। कहिले कानुन अनुसार उमेर पुगेको र राजीखुसीले होटलमा बसेका जोडी समातेर सामाजिक सदाचार कायम गर्ने मुर्खता गर्छ प्रहरीले। कहिले लामो कपालले सामाजिक सदाचारमा धावा बोलेको भन्दै युवाहरुको कपाल काट्दै पनि हिँड्छ।
दुर्गेश र भिटेनलाई पक्राउ गरी प्रहरी कार्यालयमा राखेर हुर्मत लिने र हिरासतमै राख्ने प्रहरीको काम अपराध नियन्त्रणमा असफल हुँदा समाजमा बढ्दै गएको आलोचना कम गर्न सामाजिक सदाचार कायम गर्ने ठेकेदार बन्ने दुष्प्रयास मात्रै हो। यसले खस्कदै गएको प्रहरीको छवी न उचो बनाउँछ, न सामाजिक सदाचार नै कायम गराउँछ।
प्रहरीको यस्ता गतिविधीले गणतन्त्रको खिल्ली उडाउने र प्रहरीलाई ‘सामाजिक सदाचार’ को हतियार प्रहार गरी जसलाई पनि दुःख दिएर निरंकुश मात्र बनाउँछ।
लोकतान्त्रिक गणतन्त्रको अभ्यासरत समाजमा राज्यको यस्तो सन्काहा ब्यबहार स्वीकार्य हुन सक्दैन। प्रहरी सामाजिक सदाचारको ठेकेदार हैन, कानुन परिपालना गराउनुपर्ने निकाय हो।
कानुनी राज्यप्रति जनविश्वास बढाउन यस्ता फण्डामा लाग्नु कानुनी राज्यप्रतिको उपहास मात्रै हो। त्यसैले कारवाही यी गायकलाई होइन, ती प्रहरीलाई गर्नुपर्छ जसले सामाजिक सदाचारको नाममा गायकको हुर्मत लिने काम गरे।