हजुरआमाकाे कथाकाे स्मरणले लेखक बनेकी अमृता (भिडियाे सहित)

बिएल

युवा, अधवैशे, बालबालिका सबैका उपन्यास, कथा बजारमा आए। तर, आएनन् हजुरआमाका कथा। हजुरआमाको कथा लेख्न कम्ता चुनौती थिएन उनलाई। जब उनी हजुरआमालाई काठमाडाै‌ंकाे साघुँरा गल्लीमा खोज्दै हिड्थिन्। कतिपय समय अल्मलिएर हराइन्।

उनी काठमाडाैंका साघुँरा गल्लीमा अलमलिए पनि मन भने कहिले अल्मलिएन। उमेरले ८० पार गरेका आमाहरु खोज्दै जान्थिन्। अनुहारमा मुजा परेका रेसाहरु झैं हजुरआमाले संगालेका इतिहास उनले आफ्नो रेकर्डरमा रेकर्ड गर्दै कापीका पानामा लीपिवद्ध गर्दै गइन्।

हजुरआमाका कथाहरु लीपिवद्ध पार्दै गर्दा अनेक प्रश्नको सामना गर्नुपर्थ्याे उनले। उनलाई आफ्नै मामा घरको हजुरआमाका कुराहरुले सानै देखि तानिरहन्थ्यो। त्यसैले आफ्नै हजुरआमाका कथाबाट शुरु गरिन् “हजुरआमाको कथा”।

आठ दशक पार गरेका हजुरआमाहरुसँग कुरा गर्नु र कुरा झिक्नु भनेको कम्ती गाह्राे कुरा हाेइन। कसैले सरसर्ती आफ्ना कुरा राख्थे। कोही गफ गर्दै जाँदा बिर्सेर फेरि त्यही पुग्ने। कसैले ढिलो सम्झने। कोही अपत्यारिला पात्रहरु पनि थिए।

हजुरआमाकी लेखिकालाई हजुरआमासँग कुराकानी गर्न जाँदा धेरै प्रश्नहरु तेर्सिन्थ्याे। कतिपय समय हजुरआमाहरुले जात के हो? कसकी छोरी? भनेर हैरान पार्थे। धेरै पटक उनी हजुरआमाका सन्तानहरुको सेन्सरसिपमा पर्थिन्। के–के सोध्नुहुन्छ? हाम्रो सामुन्ने सोध्नुस्? लेखेपछि हामीलाई पठाउनु जस्ता धेरै कुराहरु हुन्थ्याे। लेखिकासँग कथाहरु लेखेर २३ औ अंक पुर्याइसक्दा त धेरै व्यक्ति रिसाए पनि। मेरो आमा, हजुरआमाको तपाईले लेखिदिनु भएन भनेर।

आठ दशक पार गरेका हजुरआमा कोही क्रान्तिकारी थिए, कोही कवि त केही संगीतकार।

नेपालको पहिलो फ्रेन्च भाषा उल्था गर्ने भगवती उप्रेतीको कथा होस् वा कान्छी दुलाल अर्थात आहुतीकाे आमाको कथा। आठ दशकअघि यो समाजमा जन्मेर पनि चतुरी अर्थात कान्छीले आर्थिक हिसाबले सम्पन्न भएका कारण समाजबाट जातीय छुवाछुतको अनुभव गर्नु नपरेको कुराले सबैलाई चकित पार्थ्याे। हजुरआमाकी लेखिकाले हजुरआमा साथै नातिनीका पनि अनुभव उतारेकी छिन् पुस्तकमा। हातहातमा मोबाइल, इन्टरनेट, घर–घरमा टिभीको जमानाका अहिलेका पुस्ता हजुरआमाका कथा पढ्दा यस्तो पनि थियो? भनेर चकित पर्छन्। 

नालापानीमा अझै बलभद्रको यादमा गाउँलेहरू शीर उठाउँछन्

हजुरआमाकी लेखिका अमृता लम्सालको परिचय धेरै छ। ६ दशकअघि चाबहिल चुच्चेपाटीको ब्राह्मण परिवारमा जन्मेकी अमृताको बाल्यकाल निकै संघर्षपूर्ण बित्यो। उनकै शव्दमा भन्नु पर्दा उनले बाल्यकाल महसुस नै गर्न पाइनन् रे। हुनत उनी सम्पन्न घरमा जन्मेकी हुन्।

त्यो समयमा बुबा मन्दिरप्रसाद लम्साल र बिए पास आमा जयन्ती, दुबै जागिरे। ६ दशकअघि ब्राह्मणको छोरीले खाना पकाउनु हुँदैन भन्ने मान्यता थियो। तर अमृताका पाँच दिदीबहिनी घरदेखि बाहिरको सबै काम गर्थे। अमृता अहिले पनि सम्झन्छिन् “आमाले विवाह पछि नै आई ए र बिए पास गर्नुभएकाे हाे।”

अमृताको जीवनमा बुबाको प्रेरणादायी भूमिका छ। बुबाका बारेमा सम्झँदा अहिले पनि उनकाे आँखा रसाउने गर्छ। उनका बुवा बितेको पनि धेरै भैसक्यो। आमा जयन्ती जीवित छिन्। घरकी जेठी छोरी थिइन्, अमृता। जसको काँधमा बहिनीहरु हुर्काउने जिम्मेवारी पनि थियाे।

आमा पढेलेखेकी जागिरे भएपनि पाँच छोरी नै छोरी जन्माएका कारण समाजकाे दृष्टीमा उनी हेयकी पात्र थिइन्। अमृताले बुबाको घुम्नते जागिरका कारण विभिन्न स्थानमा जानुपर्याे। त्यसैले घरमै बसेर पढ्न पाइनन्। काठमाडाैं आएपछि उनले २०३३ सालमा एसएलसी दिइन्। त्याे पनि उमेर नपुगेका कारण बुबाले उमेर बढाइदिएर। 

एसएलसी पास भएर पद्यम कन्या क्याम्पसमा भर्ना भएकी अमृताकाे त्यही साल मंसिरमा बास्कोटा परिवारमा विवाह भयो। संयुक्त परिवार र नयाँ बानेश्वरको ऊ बेलाकाे चर्चित परिवार। सात जना त दाजुभाई नै थिए। उनको विवाह हुँदा चार जना दाजुभाईको विवाह भइसकेकाे थियो। जसमध्ये सानी थिइन, अमृता।

आफ्नो बाल्यकाल महसुस गर्न नपाइकनै संयुक्त परिवारको भार समाल्नु पर्यो उनले। स्वतन्त्रतामा हुर्केकी अमृताले सुनको पिजरामा बस्नुपर्यो। दशै तिहारको बेला ओटुको एक जना हनुमान साहूकोबाट सारी, धोती के के छ सबै पोको बाँधेर घरको आँगनमा ल्याएपछि परिवारले भन्थ्याे– ल के के चाहिन्छ? छान भनेर। 

सम्बन्ध–संघर्ष र लेखन यात्रा 

नेपाल प्रहरीको शान, महिला ब्याण्ड (भिडियाे सहित)

अमृताले १६ वर्षकै उमेरमा छोरी अनुपमालाई जन्म दिइन्। किशाेरी अवस्थामै उनले पहिलाे सन्तानलाई जन्म दिएकी थिइन्। यसपछि अमृतालाई घरको घेरामा बसेर यसै जीवन जाने भयो जस्तो लाग्यो। उनी आफ्नो ससुरासँग बसेर बीबीसी समाचारको बारमो छलफल गर्थिन्। उनलाई घरकाले आठौ छोरा हुन खोज्छेस् भनेर पनि नसुनाएका होइनन्।

छोरी, बुहारीले पढ्नु हुदैन भन्ने सोचबाट ग्रसित समाजको असर उनको घरमा नपरेकाे हाेइन। एउटा उखान नै छ नि– खाने मुखलाई जुँगाले छेक्दैन भने झै अमृताले आफ्नै मनको द्वन्द्वलाई जितेर घरबाट बाहिर पाइला टेकिन्। अमृताले घरमा नभनेर प्राइभेट फारम भरेर आइए भर्ना भएकी थिइन। परीक्षा माइतमा बसेर दिइन्। आइए परीक्षा उत्तीर्ण गरेपछि छोरा सुदेशकाे पनि जन्म भयो। छोराको भार उनलाई परेन। आमा जस्तै हेरचाह गर्ने महिला घरमा थिए। उनले नै हुर्काइदिए।

जुन घरमा छोरा जागिर खादैन्थे। बुबाको सम्पत्तिमा रमाउँथे। त्यो घरका व्यक्तिले अमृतालाई जागिर गर्न दिने सम्भावना नै थिएन। तर, २०४१ सालमा उनले कसैको सहयोगमा राष्ट्रिय बाणिज्य बैंकमा जागिर खान शुरु गरिन्। उनको लागि झनै गाह्राे भयो।

अमृताको केही वर्षपछि थापाथली शाखामा सरूवा भयो। जति पीडा पाए पनि अमृता आफूले गर्ने काम र कर्तव्यबाट कहिले पछि हटिनन्। भनौ न घरबाटै मौन विद्रोह शुरू गरेकी थिइन। त्यो बेला अमृताकी बहिनी बबिताले आफूलाई पढ्न सहज होस् भनेर दिदीलाई लगेर जाने निधो गरेकी थिइन्।

बहिनी बबिताले गर्दा अमृताको लेखन यात्रा नेपाल प्रेस इन्टिच्युटको आठौं ब्याचको पत्रकारिता तालिमबाट शुरु भयो। यसपछि उनले राष्ट्रिय बाणिज्य बैंकको आकर्षक जागिर छोडिन्। माओवादी जनयुद्धले महिलामा पारेको असर र प्रभावबारेको अध्ययन गर्न २०५५ सालमा उनले पश्चिमी नेपालका विभिन्न क्षेत्रहरुको स्थलगत निरीक्षण गरि रिपोर्ट समेत तयार पारेकी थिइन्।

त्यो बेला अमृतासहित शोभा गौतमहरुलाई निकै अप्ठ्यारो परेको थियो। जसले अमृताको नयाँ पहिचान पनि बनायो र धेरै कुरा गुमायो पनि। अमृता २०५२ सालमा स्थापना भएको संचारिका समूहकी संस्थापक सचिव पनि हुन्। अमृतालाई रोल्पाबाट फर्केपछिको लेखले संचारिकादेखि सबैले धेरै कुरा सुनाएको अहिले पनि सम्झना छ।

अमृता सन् १९९५ मा बेजिङमा भएको चौथो विश्व महिला सम्मेलनका लागि नेपालको तयारी समितिकाे सदस्यसचिव पदमा रही काम गरिसकेकी व्यक्ति हुन्। 

अमृताले समाजमा प्रतिष्ठा कमाउँदै गर्दा घरमा भने उनकाे सम्बन्ध बिग्रदाे थियाे। उनी विवाह घरको बारेमा सम्झन् चाहदिनन्। तर, विगतमा जाँदा त्यही कुराले पोलिरहन्छ।

अमृताको स्वतन्त्रता र आत्मनिर्णय घरका लागि सह्य भएन। कार्यालय होस् वा घर, अरुको अधिकारका लागि बोल्न सहज हुन्छ। जव आफ्नो अधिकारको कुरा आउँछ घर होस् वा समाज, बोल्न निकै आँट चाहिन्छ।

यस्तै कुरा अमृताकी बहिनीले पनि दिदीलाई सुनाउँथिन्। अरुको अधिकारका लागि बोल्ने। आफूलाई हजारौ दुःख सहेर बस्ने भन्दै बहिनीले व्यङ्ग गर्थिन्। अमृताले सम्बन्ध टुटाउन खोजेकी थिइनन्। अमृताको पीडा उनलाई भन्दा पनि छोराछोरीलाई महसुस भयो। उनी भित्रभित्रै खोक्राे भैसकेकी थिइन।

अनेकौ दुःख,कष्ट सहेर पनि बाहिर हाँसो देखाउँथिन्। भनिन्छ नि– जसले धेरै माया गर्छ। उसले हाँसो भित्रको आँसु पनि देख्छ। उनकी बहिनी, छोराछोरीले उनको आँसु देखे। छोराको एक शव्द नै उनको लागि काफी भयो। छोरा सुदेशले सानैदेखि आमालाई तिमी भनेर सम्बोधन गर्थ्याे। एक दिन “मम्मी तिमी जीवनभर यसरी नै बस्छौ? भन्ने प्रश्न गर्यो।

उनले कहाँ जाने छोरा भनेर प्रतिप्रश्न गरिनन्? छाेराले हिड् तिमी र म अलग्गै कोठा लिएर बसौं भनेपछि अमृता झसङ्ग भइन। अमृताकी छोरी पहिले नै पढ्न अमेरिका गइसकेकी थिइन्। मम्मी त्यहाँ बस्न सक्नुहुन्न यहाँ (अमेरिका) आउनु भनेर भनिरहन्थिन्। अमृताकै शव्दमा ‘२३ वर्ष सँगै बसेको हो। यो भनेको ठट्टा पक्कै हाेइन्। वैवाहिक सम्बन्धमा दुई जनाको कुरा मात्रै मिलेन। मैले टुटाउन खोजेकी थिइन्। तर, दुई जनाको कुरा कहिले मिलेन।

अहिले पनि त्यो घरमा उनको सम्बन्ध सबैसँग राम्रो छ। अहिले पनि उनी घर प्रति उत्तिकै सम्मान राख्छिन्। अमृतालाई नेपालमै बस्दा घरबाट छुट्टिएर बस्न गाह्राे पर्याे। त्यसैले उनी छोरासहित अमेरिका हानिइनन्।

अमेरिकामा आमा र छोराको संघर्ष पनि कम थिएन। अमृताले अमेरिका बसाइँका क्रममा स्वयंसेवकको काम गरिन्। स्वयंसेवकमा काम गर्दा उनले दोस्रो विश्वयुद्धताका काम गरेका बुढाबुढी एलेक्सेण्डो, बव हेरिङलगायतका व्यक्तिसँग काम गर्ने माैका पाइन्। उनीहरु वाकर घिसारेर आएपनि काम गर्थ्ये। उनीहरुको कुरा सुन्दा अमृतालाई अचम्म लाग्थ्याे। यसले प्रेरणा पनि दिन्थ्याे।  

पिएचडी सर्टिफिकेट बाेकेर बृद्धाश्रम बसेकी शान्तिप्रियाको दुबै मृगौला चल्न छोड्यो (भिडियाे सहित)

अमृताको आवाज हर्स आउँछ। धेरैले भन्छन्। उनले पनि अरुले भनेपछि मात्रै थाहा पाएकी हुन्। यो भएको पाँच वर्ष जति भयो। एकपटक धेरै बिरामी पनि भइन्। रगत धेरै गएपछि उनको अपरेसन गर्नुपर्यो। दुइपटक वायोप्सी पनि गर्नुपरेको थियो। अमृता भन्छिन् ‘मैले याद गरिन् तर त्यसपछि मेरो यस्तो भएको हुनुपर्छ ।’ 

अमेरिकाको १४ वर्षको बसाइँपछि नेपाल फर्किइन्। नेपाल आँउदा छोडेर गएको जस्तो काठमाडाै‌ उनलाई लागेन।

धेरै परिवर्तन आइसकेको थियो। काठमाडाै‌ंमा आफूलाई चिनाउन र साथीहरुसँग सम्बन्ध रिन्यू गर्न केही समय लाग्यो। थोरै समयमा पुनः अमृतालाइ छोडेर गएको काठमाडाैंसँग नयाँ साइनो जाेडियाे।

हजुरआमाको कथाको लागि उनले केही संचारगृह चारिन्। धेरैले आश्वासन मात्र दिए। कसैले पत्याएनन्। आफ्नै सहकर्मीले पनि महिला भनेर भित्रभित्रै होच्याए। तर नपत्याउने खोलाले बगाउँछ भने झै अमृताको हजुरआमाको कथाको श्रृंखलालाई सेतोपाटीले पत्यायो। सेतोपाटीमा छापिएका २३ वटा श्रृंखलाको पुस्तक निस्कियो। 

डेउडा सम्राटका ती दिनहरू

अमृता समाजिक संजालमा पनि उत्तिकै सक्रिय छिन्। उनले समाजिक संजालबाट नै आर्थिक सहयोग जुटाएर गाउँवस्तीमा धारा बनाउनेदेखि घर बनाउनेसम्मकाे कार्य  गर्दैआइरहेकी छिन्।

उनी अधिकारका कुराले सम्बन्धित निकायलाई पनि झकझकाउने काम गर्दै आइरहेकी छिन्। अबको दिनमा हजुरआमाको कथा लेखिरहने अमृता आफै छोरा र छोरी पट्टीबाट तीन नातीकी हजुरआमा भइसकेकी छिन्। उनको कथा भोलिका नातिनातिनाका लागि प्रेरणाको पाटो बन्ने पक्का छ।

प्रकाशित मिति: : 2019-10-10 11:37:38

प्रतिकृया दिनुहोस्