बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ।
एक करोड ६४ लाख १४ हजार रुपैयाको लागतमा निर्माण भएको सो भवन तीन तले नौ कोठे रहेको छ। भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री सो भवनमा कार्यालय प्रमुख, प्रशासन, लेखा, सहायता कक्ष, प्रविधि, तालीम हल, स्टोर, अतिथि गृह, आवास र सूचना प्रविधि कक्ष रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सुविधा सम्पन्न भवन निर्माण भएपछि कार्यालय सञ्चालन र सेवा प्रवाहमा सहजता आएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए। उनका अनुसार म्याग्दीमा हालसम्म ३९ हजार २६९ पुरुष, ४२ हजार १७७ महिला र एक जना तेस्रो लिङ्गीसहित कूल ८१ हजार ४७७ को तस्वीरसहितको मतदाता नामावली सङ्कलन भएको छ।