वीरगन्जमा एक लाखसम्मको सहुलियत उपचार, काठमाडौं जानुपर्ने बाध्यता हट्यो

बिएल

वीरगन्ज १४ बहुअरीस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलले प्रदेश २ मा प्रति बिरामी रू १ लाख राशीको सहुलियत उपचार सेवा शुरू गरेको छ ।

अस्पतालले मुटुरोग, स्पाइनल इन्जुरी (व्यक्तिगत दुर्घटना) र हेड इन्जुरी शीर्षकमा सहुलियत सेवा दिने भएको सञ्चालन समितिका अध्यक्ष डा. अबुल हैस अन्सारीले बताए।

विजया दशमीको अवसर पारी आयोजना गरिएको शुभकामना आदानप्रदान तथा पत्रकार सम्मेलनमा अन्सारीले २०७६ असार १७ गतेको निर्णयअनुसार पहिलोपटक वीरगन्जमा यस्तो सहुलियत सुविधा आएकाले यो प्रदेश २ को लागि गौरवको विषय भएको बताए।

यी तीन प्रकारका रोगमा विपन्न नागरिकलाई वडापालिकाले सिफारिस गरेपछि अस्पतालले रू १ लाखसम्मको निःशुल्क उपचार दिनेछ। पछि सो रकम अस्पतालले स्वास्थ्य मन्त्रालयबाट बेहोर्ने नियम छ। अस्पतालले हालसम्म एक सय जना मुटुरोगी र १० जना स्पाइनल इन्जुरीका बिरामीको उपचार गरिसकेको उनले बताए।

यो सेवा आरम्भ भएपछि काठमाडौं गएर सेवा उपभोग गर्नुपर्ने बाध्यता हटेको छ। यस्तो सुविधा काठमाडौंको गंगालाल अस्पताल, ट्रमा सेन्टर, पश्चिममा गौतम बुद्ध अस्पताल र पूर्वमा नोवेल मेडिकल कलेजमा सरकारले उपलब्ध गराएको छ।

अस्पतालमा २४ सैं घण्टा विशेषज्ञ सेवा, ट्रामा केयर, जेनरल सर्जरी, एनआईसीयू, आईसीयू, सिसीयू, नियुरो सर्जरी, डाइलोसिस, हाई एण्ड एक्सरे मेसिन, कार्डियक यूनिट, लगायत विभिन्न किसिमको सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2019-10-04 21:41:18

प्रतिकृया दिनुहोस्