चार वर्षपछि तातोपानी नाकाहुदैं भेडा भित्रिए भन्ने खबरले केही साथीसहित हामी पनि तातोपानी पुग्यौं। चौताराबाट तातोपानी पुग्न त्यति सहज छैन्। दुई-तीनवटा गाडी फेरेर हामी त्यहाँ पुग्यौं। सार्वजनिक यातायातको सहज पहुँच नहुँदा तातोपानी आतेजाते गर्न सहज छैन।
तातोपानी धाराबाट अलि माथि कोदारी नपुग्दै सडकमा दुईचारवटा निजी गाडी, बाइक र केही मानिस खोलातर्फ हेरिरहेका थिए। हामी पनि त्यहीँ पुगेर रोकियौं। ओर्लेर हेर्दा भेडा चरिरहेका थिए। मानिसहरु तिनै हेरिरहेका थिए।
सडकबाट अली तल भेटिए जुगल गाउँपालिका हगामका तिलक कुमार श्रेष्ठ। तिलक मुखमा हात राख्दै भोटेकोशी किनारमा ढुगांमा घाम तापिरहेका थिए। भोटेकोशी एकतमासले सुसाइरहेको थियो, उनी भने सुस्ताइरहेका। उनी खोला किनारमा चरिरहेका भेडाको रेखदेखमा खटिएका थिए।
दशैको लागि तिलक लगायत अन्य चारजना मिलेर यो वर्ष पहिलो पटक भेडा लिएर आएका थिए।
हामी त्यहाँ पुग्नासाथ उनले भने, 'भेडा किन्न आउनुभएको हो ?' मैले भने, 'हैन, तपाईंसँग केही कुरा गरूँकी भनेर आएको।' ५५ वर्षका हँसिला तिलक 'हुन्छ, किन नहुनु ?' भन्दै खुशी देखिए।
तिलक घरबाट हिडेको एक सातामा भेडा लिएर नेपाल प्रवेश गरेका रहेछन्। 'सातौ दिन मैले मनभरी भात खान पाएँ', उनले भने, 'आनन्दले सुत्न भने अझै तीन दिन पाउँदिन होला। यी भेडा नबिकुन्जेल के निद्रा लाग्ला र ?'
अब तीन दिनमा उनको काठमाडौं पुग्ने योजना छ। भन्सार गरेपछि दुई दिनसम्म यतै भेडा बेच्ने र तेस्रो दिन ब्वासेरीबाट गाडीमा हालेर भेडा काठमाडौं लैजाने उनको योजना छ। भक्तपुरको सल्लाघारीमा रहेको चौरमा उनीहरुले आफैं भेडा बेच्ने योजना बनाएका छन्। भेडा बेचेर सकिएपछि मात्रै दशै मनाउन उनी आफ्नो घर फर्किन्छन्। त्यसपछि मात्र उनी सहज रूपमा खान र सुत्न पाउनेछन्।
‘जति जे खाए पनि नेपालीलाई भातै प्यारो’ बिस्कुट र चाउँचाउँको भरमा धेरै दिन र रात बिताएका तिलकले भने, 'अरु केही खाएर पनि आतै भरिदैन।' 'खाना खाएपछि पारिलो घाममा सुत्न मन लागेको छ' उनी मुस्कुराउँदै भन्दै थिए 'तर भेडाले कहाँ सुत्न दिन्छ र ?'
मान्छेको निद्राका बारेमा तिनीहरु बुझ्दैनन्। त्यसैले ती कुदिराख्छन् यताउता। अनि तिलकहरु जस्ता रुघिराख्छन्। अर्कोतर्फ उनले सुत्न पनि त कहाँ पाएका छन् र ? सुत्नलाई न ओढ्ने न बिछ्यौने। जीउँमा जे लगायो- त्यही ओढ्ने, त्यही ओछ्याउने। रातभर पालैपालो रुघ्यो, बस्यो। भेडा हराउलान् कि भन्ने चिन्ता मात्रै। अझ पानी आएको रातमा प्लाष्टिक ओढेर रात बिताएका तितो अनुभव तिलकसँग धेरै छन्।
तिलकलगायत उनका साथी एक साताअघि नै भेडाको खोजीमा तातोपानी नाका हुदैं चीन पुगेका थिए। गाउँघरमा नै खेतीपाती गरेर बसेका तिलक २० वर्षको उमेरमा गाउँका अन्य मान्छेले भेडा व्यापार गरेको देखेर यसमा आकर्षित भएका थिए। उनी दशैतिहारमा मात्र भेडा व्यापार गर्छन्।
साधारण लेखपढ गर्न जान्ने तिलक यसपालाको भेडा खरिदप्रति त्यति सन्तुष्ट देखिएनन्। 'भेडाको भाउ असाध्यै महङ्गो भयो। गत सालको भन्दा ५० घोम्रो (चिनियाँ पैसा) बढी पर्यो। यहाँ पुग्दा किलोको सात सय जति पर्न आउँछ', उनले भने।
कोरला नाका हुदैं मुस्ताङबाट पनि दशैका लागि नेपालमा भेडा ल्याइन्छन्। ती भेडा पनि धेरैजसो काठमाडौं नै ल्याइने हुन्। 'ती कति मूल्यका पर्छन् ? तिनीहरू सस्ता भए भने आफूले कसरी बेच्ने होला ?, उनी चिन्तित देखिए।
मध्यम वर्गीय परिवारमा जन्मिएका तिलकको परिवारलाई खान लगाउन कहिले कष्ट भएन तर पढ्न भने उनले पाएनन्। सिन्धुपाल्चोकको दुर्गम मानिने हगाममा कुनै स्कूल नै थिएन। त्यहाँबाट अन्त गएर पढ्ने अवसर उनले पाएनन्। त्यसैले आफ्नो घरपरिवार सहज रुपमा चलाउन उनले भेडा व्यापारलाई आफ्नो पेशा बनाए।
पहिला भेडा लिन व्यापारीहरु छेमाङ, बुग्रुङ, चेपा, माम्जासम्म पुग्थे। भेडीगोठमा आफैँ जान्थे। अनि खाइलाग्दा भेडा च्याङग्रा छानीछानी लिएर आउँथे। भेडा व्यापारीले मानसम्मान पनि मज्जैले गर्थे। बाटोमा आठ, नौ दिन बास बस्दै भेडा ल्याइन्थ्यो। धेरै साथी हुँदा रमाइलो हुन्थ्यो। '
पहिला चीनका आर्मी, प्रहरी, र कुल्लीहरुले भेडा, पैसा लुट्थे। निकै दु"ख दिन्थे', उनी सम्झन्छन, 'अहिले उनीहरु सभ्य भइसके छन् । लुटपाट केही सहनु परेन। बरु उनीहरुले ठाउँ-ठाउँमा गरेको कडा चेकिङ्ग भने सामना गर्नुपर्यो।'
यसपटक उनीहरु कुतीसम्म मात्रै पुगे। त्यहीं भेडा दलालसँग उनीहरुको कुरा भयो। पहिलाजस्तो साहुहरुसँगै भेट पनि हुन नपाउने रहेछ। दलालहरुले सबै काम गर्दा रहेछन्। होटलमा पनि उनीहरुलाई दलालले नै राखे। दुई दिनसम्म कही कतै जान पाएनन्। भेडाहरु दलालले नै छानेर ल्याइदिए। त्यो बापत दलाललाई ५० घोम्रो (नेपाली आठ सय) दिए। र, भेडा लिएर फर्किए उनीहरू।
'अहिले धेरै कडाइ रहेछ, किन होटलमा बन्देज गर्यो?, हामीलाई थाहा नै छैन ', उनले भने।
फर्किदा बाटोमा कोहीसँग भेट नै भएन। भेटै भएपनि भाषाका कारण दोहोरो कुराकानी गर्न सकिदैंन। बाटोमा न कुनै बस्ती देखे, न कोही मान्छे नै। वनपाखा मात्रै। भेडा हराउने/चोर्ने भन्ने चाहिँ यो पाला भएन। उनीलगायत अन्य तीनजनालाई बाटोमा चिनियाँ प्रहरीले भने निकै सोधखोज चाँहि गरे।
तिलकलगायत नेपाली टोलीले यसपटक खोजेजति भेडा नै पाएनन्। नाका बन्द भएपछि चारवर्ष नेपालीहरु भेडा लिन नै गएनन् तिलकले भने, 'त्यहाँका भेडा एकलौटी रुपमा मुसलमानहरुले लैजादा रहेछन्। त्यहाँका व्यापारी र हाम्रो सम्बन्ध टुट्दा उनीहरुले अरुलाई नै ग्राहक बनाइसकेछन्।' थप भेडाको खोजीमा उनीहरुका दुई साथी १० लाख घोम्रो (चिनियाँ पैसा) लिएर कुतीमा नै बसिरहेका छन्। यता दशै आइसक्यो उता भेडा पाउने हो वा होइन ?', उनले अनुहार अँध्यारो पार्दै भने।
नाकामा प्रहरीले भेडा गन्दा ६ सय ८४ रहेछन्। अनि पो उनलाई बल्ल थाहा भो दुई भेडा बाटोमै हराएछन्। 'पहिला—पहिला २०,२५ वटा भेडा हराउँथे। अहिले त्यस्तो भएन। धेरै भेडा हुँदा र थोरै “थपौरे” हुदा भेडा कहाँ जान्छ थाहा नै नहुदो रहेछ', तिलक भन्दै थिए- 'वर्षमा यही दशै-तिहारमा भेडा ल्याउने हो, त्यही पनि भनेजति नपाउने कसरी गरिखाने होला ?'
कुतीबाट भेडा हिडाएको तेस्रो दिन तिलकको टिम नाका क्रस गर्ने भनेर बिहान तीन बजेदेखि साँझसम्म गरी ५५ किलोमिटर हिडेको थियो। 'जसरी पनि बोर्डर क्रस गर्नुपर्छ भनेर हामी भेडा जतिकै कुद्यौं। बाटोमा कही चराएनौं। भेडाहरु आफै छिटो हिड्ने भएका कारण हामीले बोर्डर क्रस गर्न सक्यौं', तिलक भन्छन्। नेपाल प्रवेश गरेपछि भने उनीहरूलाइ केही आराम महसुश भएको थियो। 'अब खान चाहि राम्रैसँग पाइन्छ', उनले हाँस्दै भने। साथीहरु भन्सार तिर्न गएका थिए, उनी भने भेडाको हेरचाह गर्दै।
चिनियाँ कुल्लीले सात दिन हिडाएपछि भेडा तिलक बसेको ठाउँ कुती आइपुगेका थिए। त्यहाँबाट तीन दिन हिडेपछि बल्ल भेडा तातोपानी आइपुगे। जति दिन लागे पनि चीनमा भने भेडाहरु हिडाएरै ल्याउनुपर्ने रहेछ,त्यसैले यी भेडालाई यहाँ आइपुग्न दश दिन लाग्यो उनले भने, ‘अबका तीन दिनमा यी काठमाडौंमा पुग्नेछन्।’
चीनमा गाडी चढ्न नपाए त के भयो र ? जीवनको अन्तिम समयमा दशैंको मासु बन्नुअघि गाडी नै चढेर काठमाडौं पुग्छन् भेडाहरू।