प्रहरी भन्छ: झोला र पर्समा धेरै पैसा नबोक्नू
चार्ड पर्व र मानिसको भीड बढेपछि पाकेटमार (ठिनुवा) को बिगबिगी हुन्छ।
दसैंमा घर जाने र किनमेलका लागि ब्यापारिक केन्द्र, बैंक तथा बित्तीय संस्था र यातायातका साधनमा हुने मानिसको बाक्लो भिडमा पाकेटमारले मौका खोजिरहेका हुन्छन्।
काठमाडौं प्रहरीले दसैंको सुरूवाती दिनमै २० जना पाकेटमारलाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीका अनुसार २० जना पाकेटमारलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ।
काठमाडौंको कंलकी, बसपार्क, कोटेश्वर, गौशालालगायतका क्षेत्रका पाकेटमारलाई प्रहरीले पक्राउ गरेको हो।
ठिनुवाको हातबाट नागरिकको खल्ती जोगाउन काठमाडौं प्रहरीले विषेश सुरक्षा सर्तकतासमेत बढाएको बोगटीले जानकारी दिए।
काठमाडौंको न्यूरोड, असन, विभिन्न ब्यापारिक मल, बसपार्क र काठमाडौं बाहिरीने नाकामा प्रहरीले पाकेटमार समाउनै लागि विषेश टोली परिचालन गरेको छ।
'यतिबेला किनमेलका लागि धेरै जसो मानिसहरू बजारमा हुन्छन्, भिडभाड पनि उत्तिकै हुन्छ, त्यही मौका छोपी पाकेटमारहरू सक्रिय हुन्छन्, त्यो कुरा प्रहरीलाई राम्रै हेक्का छ, त्यसैले हामीले पाकेटमारबाट जोगाउन विषेश टोलीनै खठाएका छौं', काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले भने।
उनका अनुसार यतिबेला काठमाडौंका ब्यापारिक केन्द्र, बसपार्क, काठमाडौं बाहिरिने नाका र बैंक तथा वित्तीय संस्थामा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ।
त्यसरी सादा पोशाकमा खटिएका प्रहरीले सूचना संकलन गर्ने र बर्दीधारी प्रहरीको सहयोगमा उनीहरूलाई ठाँउको ठाँउ समाउने प्रहरी रणनीति छ।
चाडपर्वका बेला कुनै पनि नागरिकले दुःख र आपतविपत खेप्न नपरोस् भनेर प्रहरी लागिपरेको प्रवक्ता बोगटीले बिएल नेपालीसँग भने।
प्रहरीले विगतमा कारबाहीमा परि छुटेका पाकेटमारको नियमित निगरानी बढाएको डिएसपी बोगटीले बताए।
प्रहरीको आँकलन अनुसार काठमाडौंमा डेड सयको हाराहारीमा पाकेटमारहरू सक्रिय छन्।
त्यसमध्ये केही नाईकेलाई प्रहरीले पक्राउ गरिसकेको छ, भने केहीलाई निगरानीमा राखेको छ। नाईके मार्फतनै अन्य सदस्य चल्ने भएकाले प्रहरीले नाईकेसँगै उसका बाँकी सदस्यलाई पक्राउ गर्न निगरानीमा राखेको हो।
त्यसैगरी प्रहरीले दसैंमा घर गएको मौका पारी हुने चोरी र डकैतीलाई निरूत्साहीत गर्न सुरक्षा सर्तकता बढाएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता बोगटीले बताए।
राजधानीमा बसोबासगर्नेहरू दशैंमा मूल घर जाने भएकाले यो समय चोरका लागि चौतारो जस्तै हो।
घर जानेलाई सर्तकता अपनाउन साथै घरै खाली छाडेर जानुपरेमा नजिकको प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ।
त्यसैगरी दशैं तिहारको बेला मानिसहरू रकम बोकेर हिड्ने भएकाले डकैती हुने सम्भावना धेरै हुने भएकाले चोरी डकैतीमा पनि प्रहरीले विषेश निगरानी बढाएको छ।
त्यसैगरी दशैंका बेला हुने बजारमा कालोबजारी, विषेश गरी यातायातको टिकटमा हुने कालोबजारी नियन्त्रण तथा निगरानीका लागि विषेश सुरक्षा टोली परिचालन गरेको छ।
त्यस्तै दशै तिहारको अवसर र भीडभाडको मौका छोपी विभिन्न अपराध हुनसक्ने र अपराधीको चलखेल हुने भन्दै प्रहरीले त्यतातिर पनि विषेश टोली खटाएको प्रवक्ता बोगटीले बताए।
‘हामीले चाडबाड लक्षित सुरक्षाअन्तर्गत बैंक वित्तीय संस्था, सपिङ मल धेरै भीडभाड हुने क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरेका छौं,’ उनले भने।
काठमाडौंले जस्तै ललितपुर र भक्तपुर परिसरले पनि सुरक्षा योजना तयार पारेको छ।तीनै परिसरले विशेष गरी उपत्यकाबाट बाहिर जाने–भित्रिने नाकामा कुकुरले जाँच गर्ने व्यवस्था मिलाएको छ।
पाकेटमारका केही कोड शब्दहरू यस्ता छन्।