आगमछें र देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गरिने

तस्बिरः एजेन्सी

काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको आगमछें मन्दिर र ललितपुरको दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गरिने भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले आगमछें र देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गर्ने निर्णय गरेको हो।

२०७२ सालको भूकम्पबाट क्षति भएका आगमछें र देगु तलेजु मन्दिर जापान सरकारको आर्थिक सहयतामा पुनर्निर्माण गर्ने सम्झौता छ ।

पुनर्निर्माण प्राधिकरणको पहलमा यसअघि नै आगमछें मन्दिर उपभोक्ता समितिमार्फत गर्न जनप्रतिनिधिहरु, स्थानीय समुदाय र जापान सरकार सहमत भएका थिए ।

टेण्डरमार्फत् गर्ने कि उपभोक्ता समितिमार्फत गर्ने भन्नेमा कुरा नमिकाले आगमछेंको पुनर्निर्माण अघि बढ्न सकेको थिएन । उपभोक्ता समितिमार्फत् पुनर्निर्माण गर्ने सहमति भए पनि पुनर्निर्माणका क्रममा मन्दिरको माथिल्लो भागलाई काठको टेको लगाएर अड्याउने कि ज्याक लगाएर भन्नेमा एकमत हुन बाँकी छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सुरक्षित तरिकाले मन्दिरको पुनर्निर्माण गर्नु महत्वपूर्ण भएकाले प्राविधिक पक्षमा धेरै अल्झिन नहुने बताए।

ललितपुर महानगरापालिकाले उपभोक्ता समितिमार्फत् देगु तलेजु मन्दिर पुनर्निर्माण गर्न माग गरेको थियो ।

‘पाटन संरक्षित स्मारक क्षेत्रभित्र पर्ने देगु तलेजु मन्दिरको पुनर्निर्माण कार्य ललितपुर महानगरपालिकाबाट गठित देगु तलेजु मन्दिर उपभोक्ता समितिमार्फत् गर्न स्वीकृत दिने’ कार्यकारी समितिको निर्णयमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: : 2019-09-29 17:01:10

प्रतिकृया दिनुहोस्