ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम बिष्फोटन घटनामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर लुभु बस्ने कालिकोट नरहरिनाथ गाउँपालिका–१ घर भएका ४३ वर्षीय हितमान भन्ने नविन बिश्वकर्मा रहेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले सोमबार साँझ ललितपुर महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीस्थित प्रदेश ३–०२–००३ प ५१३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको परिसरले जनाएको छ ।
प्रहरीका अनुसार २०७५ बैशाख ९ गते ललितपुर महानगरपालिका–२३ धापाखेलस्थित तत्कालिन प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवको घर कम्पाउण्डमा बम बिष्फोटन भएको घटनामा समेत बिश्वकर्मा संलग्न रहेको खुल्नमा आएको छ ।
पक्राउ बिश्वकर्मालाई आवश्यक कार्वाहीको लागि मंगलबार जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । साथै उक्त घटनामा संलग्न सुर्दशन भन्ने हेमन्त प्रकाश ओली २०७५ चैत ९ गते ललितपुर चापागाँउ ठेचोबाट पक्राउ परेका थिए ।
उनलाई बिष्फोटक पदार्थ (बम) बिष्फोटन गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य बिरुद्दको कसुर र संङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा रहेका छन् ।
२०७५ फागुन १० गते भएको बिष्फोटनमा परि ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंह बहादुर गुरूङको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए ।