राप्रपाको गम्भीर ध्यानाकर्षण
पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै हालै सार्वजनिक गरेको एउटा पोस्टर विवादमा परेको छ।
‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश गरेपछि विवादमा मुछिएको हो।
मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद उत्पन्न भएको हो।
स्वच्छ मासु भनिएको पोस्टरमा पाठाले दूध खाइरहेको बाख्राको तस्बिर पनि राखिएको छ ।
कुनै गलत नियत राखेर यो काम गरिएको नभएर जनचेतनाको लागि पोस्टर डिजाइन गरिएको विभागका प्रवक्ता डा.चन्द्र ढकालले बताए।
यस सम्बन्धमा मंगलबार बिहान बसेको बैठकमा समेत छलफल भएको र पोष्टरबाट गाईको तस्वीर हटाउने निर्णय भएको ढकालले बताए।
उनले हाल बजारमा पठाइएका पोस्टर संकलन गरिरहेको जानकारी समेत दिएका छन्।
यसैबिच पशु सेवा विभागले प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको तस्बिर राखिएकोप्रति क्षमा मागेको छ ।
मासुजन्य पदार्थको उपभोगलाई गुणस्तरीय बनाउन तयार पारिएको प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको तस्बिर राखिएको भन्दै सर्वसाधारणले व्यापक विरोध गरेपछि विभागले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर क्षमा मागेको हो ।
'हाल उक्त त्रुटि सच्याईसकिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको र त्रुटिप्रति पशु सेवा विभाग हार्दिक क्षमा याचना गर्दछ,' विभागका महानिर्देशक डा. वंशी शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उनले विज्ञप्तिमार्फत् नै प्रचार–प्रसारका लागि तयार पारिएका पोस्टरहरुमध्ये एउटा पोस्टरमा छपाईको त्रुटिका कारणले गाईको तस्बिर भूलवश पर्न गएको पनि बताएका छन्।
यसअघि गाईलाई मासुजन्य जनावरको रुपमा गरिएको प्रचारप्रति राप्रपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने नेपाल सरकारको लोगो सहितको प्रचार सामग्री पोस्टरमा राष्ट्रिय जनावर गाईकोसमेत तस्विर राखि गाईलाई मासुजन्य जनावरको रुपमा गरिएको प्रचार प्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ,' राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
'महान चाड बडादशैं लक्षित प्रचार सामग्रीमा हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाईको तस्बिर संलग्न गरिनु दु:खद र दुर्भाग्यपूर्ण छ। धार्मिक आस्था जस्तो संवेदनशील विषयमा अक्षम्य त्रूटि गरिनु सामान्य विषय किमार्थ हुन सक्दैन। यो नियतवश वा भुलवश के हो भन्ने बारेमा अबिलम्ब छानबिन गरि दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा माग गर्दछ', विज्ञप्तिमा भनिएको छ।