ताप्लेजुङको घुन्सामा १३ बर्षअघि भएको श्री एयरलाईन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका डा. हर्क गुरुङको सम्झनामा स्मृति दिवस मनाइएको छ। स्मृति दिवसका अवसरमा तमु बौद्ध सेवा समाजले सोमबार काठमाडौंमा १३ औं हर्क गुरुङ स्मृति दिवस मनाएको छ। कार्यक्रममा सहभागीहरुले गुरुङको योगदानको चर्चा गरेका थिए।
२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी डा. हर्क गुरुङलगायतका संरक्षणविद्हरुको निधन भएको थियो। हेलिकप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन सचिव डा. दामोदर पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पालगायत २४ जनाले ज्यान गुमाएका थिए।