रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निकालिएका पत्रकारलाई पुनर्बहालीको माग गर्दै नेपाल पत्रकार महासंघले सिंहदरबार परिसरमा धर्ना दिएको छ।
क्षेत्रीय प्रसारण केन्द्रमा काम गर्दै आएका पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई एक महिनाअघि रेडियो नेपाल व्यवस्थापनले बिना सूचना निकालेको थियो।
ती पत्रकारलाई पुनर्बहालीको माग गर्दै पत्रकार महासंघ आन्दोलनमा विगत एक महिनादेखि आन्दोलनमा छ।
यसअघि सिंहदरबारभित्र रेडियो नेपाल परिसरमा धर्ना बसेका केही पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको थियो।
आइतबारको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ उपाध्यक्ष विपुल पोख्रेलले राजनीतिक आस्थाका आधारमा श्रमजीवी पत्रकारलाई सरकारले निकालेको आरोप लगाए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले महासंघको आन्दोलन जारी रहेको भन्दै तत्कालका लागि आन्दोलनका कार्यक्रम घोषणा हुन बाँकी रहेको बताएका छन्।
धर्नामा महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल, प्रेस युनियनका बाला अधिकारी, मधेसी पत्रकार मन्चका मोहनसिंह, महासंघ काठमाडौं अध्यक्ष शान्ताराम बिडारी, रेडियो नेपाल शाखाका दुर्गा फुयाललगायतले निकालिएका पत्रकारलाई तत्काल पुनर्बहालीको माग गरेका थिए।