काठमाडौं प्रहरीको चाडपर्व सुरक्षा योजना
काठमाडौं प्रहरीले दसैं-तिहार सुरक्षा योजना सार्वजनिक गरेको छ।
प्रहरीले विगतका दसैं तिहार तथा छठ पर्वको सुरक्षा ब्यवस्थालाई अध्ययन गरी प्रभावकारी सुरक्षा योजना लागू गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
काठमाडौं प्रहरीले विगतका चाडपर्वमा भएका घटना दुर्घटनालाई अध्ययन गरी दसैं तिहार तथा छठमा कुनै पनि नागरिकले आपत विपत बेहोर्नु नपरोस् भन्नका लागि प्रभावकारी सुरक्षा योजना बनाएको दाबी गरेको छ।
दसैंमा काठमाडौं छाडेर घरजानेहरू धेरै हुने र सोही मौका छोपी उपत्यकामा हुने चोरी डकैती तथा लुटपाटका घटना हुन नदिन ब्यापक प्रहरी परिचालन गरिने काठमाडौं प्रहरीले जनाएको छ।
प्रहरीले घटस्थापनादेखि काठमाडौं बाहिर जानेहरू धेरै हुन्छन्। यस्तो बेलामा काठमाडौंमा कोही नभएको मौका छोपी लुटपाट, पाकेटमार, डकैतीका घटना हुनसक्ने भन्दै प्रहरीले त्यतातिर गम्भीर भएर सुरक्षा योजना बनाएको बताएको छ।
त्यसैगरी दसैंको किनमेलका लागि बढी भिड भाड हुने ब्यापारीक केन्द्र, गहना पसल, बैंक तथा वित्तिय संस्थाको सुरक्षामा पनि विषेश ध्यान दिएको काठमाडौं प्रहरीको भनाई छ।
त्यसैगरी दसैंमा घर जानेले समयमा टिकट नपाउने, टिकटको कालो बजारी, बजारमा हुने कालो बजारी नियन्त्रण तथा निगरानी गर्न पनि प्रहरी परिचालन हुनेगरी सुरक्षा योजना बनाएको छ।
त्यसैगरी राजधानीको ब्यापारीक केन्द्रहरू, न्यूरोड, असन तथा नयाँ बसपार्क लगायतका स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ। साथै राजधानी बाहिरीने नाकामा पनि सुरक्षा ब्यवस्था कडा पारिएको प्रहरीको जनाएको छ।
सुरक्षा ब्यवस्थालाई चुस्त बनाउन प्रहरीले सामुदायसँग सहकार्य गर्दै उपत्यकामा सुरक्षाकर्मी परिचालन गर्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बिएल नेपाली सेवालाई जानकारी दिए।
आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गर्ने भन्दै सुवेदीले काठमाडौंमा हाल परिचालित सुरक्षाकर्मीभन्दा २५ प्रतिशत थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको बताए।
'चाडपर्वमा कुनै पनि नागरिकले आपत विपतको सामना गर्नु नपरोस् भन्ने हाम्रो चाहाना हो, त्यही अनुसार सुरक्षा परिचालन गरिनेछ', उनले भने, 'सर्वसाधारणको घर, सम्पत्ति रहेको स्थान, विशिष्ट ब्यक्ति, महत्वपूर्ण प्रतिष्ठान, मठ मन्दीर, गुम्बा रहेको स्थान, बित्तिय संस्था, आर्थिक कारोबार हुने स्थानहरू, यातायात सञ्चालन हुने स्थान, सरकारी कार्यालय तथा अन्य सरकारी सम्पत्ति रहेका स्थानहरू, काठमाडौं प्रवेश गर्ने नाकालाई लक्षितगरि सुरक्षा योजना तयार पारिएको हो।'
त्यसैगरी होटेल, गेष्ट हाउस तथा रेष्टुरेन्टमा आपराधिक गतिबिधि हुने स्थानहरू, राजमार्ग तथा ग्रामिण बस्तीलाईसमेत लक्षित गरि सुरक्षा योजना तयार पारिएको एसएसपी सुवेदीले बताए।
उनका अनुसार सो अवधिमा १४ वटा एरिया विभाजन गरी सुरक्षाकर्मी परिचालन गरिएको छ।
काठमाडौंभरीमा ४० वटा टोली बनाएर पैदल गस्ती, ६७ स्थानमा पिकेटिङ, ३५ वटा टोली बनाएर साईकल गस्ती, मोटरसाईकल गस्ती, सिआरभीलगायतमा समेत परिचालन गरिने छ।
'हामीले सुरक्षामा कुनै पनि कमी हुन दिने छैनौं, त्यसमा आम नागरिकले साथ दिनुपर्छ, विगतमा भएका कमजोरीलाई केलाएर यो वर्षको चार्डपर्व सुरक्षा योजना बनाएका हौं', एसएसपी सुवेदीले भने।
त्यसैगरी दसैंका बेला राजधानी छाडेर मुलघर जानेलाई डेरा तथा घर खाली छाड्नुपर्दा प्रहरीलाई खबर गरेर जानसमेत आग्रह गरेको छ।
त्यस्तै टिकटमा हुने कालोबजारीदेखि दोहोरो टिकट दिने ब्यवसायीको निगरानिका लागि प्रहरी परिचालन हुने जानकारी दिएको छ।
कुनै व्यवसायीले दसैंमा घर जाने टिकट नदिएमा प्रहरीलाई खबर गर्नसमेत अनुरोध गरेको छ।