ट्राफिकमा धेरै सुधार भएको छ,ठमेल क्षेत्रमा जाँदा राहतको अनुभूति हुन्छ : आईजीपी खनाल

फाइल तस्बिर

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनको कार्यमा धेरै सुधार भएको बताएका छन् । उनले भएका संरचनामा ट्राफिक प्रहरीले अहोरात्र खटिएर हिजोजस्तो विकरालरुपको अन्तय गरेको समेत बताए ।

युवा परिचालन वर्ष–२०७६ अन्तर्गत ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै खनालले ट्राफिक व्यवस्थापनमा टड्कारो रुपमा रहेको समस्या भनेको सडकको संरचना र सडकलाई अनुशासित बनाउने पूर्वाधार रहेको बताए ।

उनले मलेसियामा जाँदा १० किलोमिटरको बाटो हिँड्न ४० मिनेट लागेको स्मरण गराउँदै भने, ‘यहाँ त १० किमीबाट हिँड्न १० सै मिनेट मात्र हो ।’ उनले सरकारको सहयोगमा केही ट्राफिक लाइट मर्मत भएर सुधार भएको पनि स्मरण गराउँदै भने, ‘नेपाली इञ्जिनियरले पनि ट्राफिक लाइट मर्मत गर्न सक्छन् भन्ने पनि प्रमाणित भइसकेको छ ।’

उनले सडकमा दिनरात खटिने ट्राफिक प्रहरीको दर्दनाक अवस्था देखेर भत्ताको व्यवस्था मिलाइएपछि सडकमा काम गर्न जाँदा जवान उत्साहित भएको बताए । उनले भने, ‘हामी बैंकक, चीन, भारतदेखि अन्य देशको अवस्था हरौं र हामी कहाँ छौं हेरौं ।’ उनले आफू प्रहरी निरीक्षक र डीआईजी हुँदा ट्राफिक महाशाखामा काम गरेको स्मरण गर्दै धेरै परिवर्तन भएको सुनाए ।

उनले मेल क्षेत्रमा जाँदा अहिले राहतको अनुभूति हुने बताउँदै भने, ‘पशुपतिको अवस्था पनि सुधारिएको छ । भित्री सडकमा सवारीसाधन प्रवेश निषेध गर्दा तीर्थालुलाई सहज भएको छ ।’

 

 

प्रकाशित मिति: : 2019-09-22 12:15:09

प्रतिकृया दिनुहोस्