पछिल्लो समय नेपाल र भारतमा डिजिटल शहरको खुब कुरा उठ्यो। तर, व्यवहारमा न भारतका ठूलो शहरमा काम भयो, न नेपालमा नै।
तर, भारतको उत्तर प्रदेशस्थित एउटा सानो गाउँ लतिफपुरमा एक महिला प्रधानपञ्चले यसलाई व्यवहारमा उतारेकी छिन्।
श्वेता सिंह, लतिफपुर गाउँकी प्रधानपञ्च हुन्। उनले मास्टर अफ कम्प्युटर एप्लिकेशन (एमसिए) मा स्नातकोत्तर गरेकी छिन्। जति बेला उनले यो विषयमा डिग्री गरेकी थिइन, त्यति बेला जागिरको कुनै कमी थिएन। उनलाई धेरै ठाउँबाट अफर पनि आएको थियो।
एक उपसचिवको कथाः पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा (भिडियो सहित)
उनलाई परिवार तथा आफन्तजनले ठूलो शहरमा गएर आफ्नो ‘करिअर’लाई नयाँ उचाई दिन सल्लाह पनि दिएका थिए।
तर, उनी आफ्नो गाउँ ठाउँमै बसेर केही नयाँ गर्न चाहन्थिन्। त्यसैले उनले आफ्नो साथीहरूको सल्लाहलाई पनि महत्व दिइनन्।
सन् २००८ मा उनको विवाह भएको थियो। विवाहपछि सबैलाई लागेको थियो, अब उनी कामकाजी महिला भएर घरमा थन्किने छिन्। तर, उनको हिम्मत र बस्तुगत ज्ञान देखेर किशान पेशामा लागेका श्रीमान अखिलेश सिंहले श्रीमतिलाई साथ दिए।
सन् २०१५ मा प्रधानपञ्चको चुनाव उठिन्। त्यति बेला उनले सबैलाई चकित बनाउने मत प्राप्त गरिन् र कीर्तिमानी भोटसहित कम उमेरमा महिला प्रधानपञ्च बन्ने इतिहास रचिन्।
पढाई छोडेपछि उनी गाउँको सामाजिक कार्यमा खुब रुचि राख्थिन्। यसैले उनलाई चुनाव जित्न मद्दत गर्यो।
कम्प्युटर इन्जिनियर भएका कारण उनी प्रविधि मैत्री त थिइन नै, उनले गाउँको विकाशका लागि आफूले सिकेको ज्ञान प्रयोग गर्ने मन बनाइन्। अहिले उनको त्यही ज्ञानले ४ वर्ष भित्र गाउँमा नसोचेको विकाश भएको छ। वास्तविक समाजवाद उनकै गाउँमा मानिसहरूले महसुस गर्न थालेका छन्।
उनले पछिल्लो एक वर्षभित्र आफ्नो गाउँलाई उत्तर प्रदेशको पहिलो पेपररहित पञ्चायत घोषित गरेकी छिन्। यसको अर्थ हो, लतिफपुर डिजिटल गाउँमा रुपान्तरित भएको छ।
उनको सक्रियताका कारण अहिले गाउँको १६ सय परिवारलाई पेन्सनको व्यवस्था गरिएको छ। सतप्रतिशत व्यक्तिसँग ‘राशन कार्ड’ र घरमा ग्यास कनेक्शन छ। गाउँको सबै समस्या अनलाइनमार्फत दर्ता हुन्छ। गाउँमा ‘डोरस्टेप’ बैकिङ सुविधा छ। अर्थात गाउँलेहरूले घरमै बैकको सुविधा प्राप्त गरेका छन्। गाउँलेहरूलाई उनीहरूको पैसा उपलब्ध गराउन बैक कर्मचारी नै घर पुग्छन्।
उनको प्रभावकारी कार्यलाई महसुस गर्दै भारत सरकारले भर्खरै उनलाई लक्ष्मीबाई अवार्डबाट सम्मानित गरेको छ।