नजिकिँदै गरेको बडा दसैं, तिहार, छठ पर्वलगायत अन्य चाड पर्वलाई ध्यानमा राखेर नेपाल-भारत सीमा क्षेत्रमा आवतजावत गर्नेलाई सुविधाका लागि सशस्त्र प्रहरीले वीरगन्ज नाकामा बिहिबारबाट हेल्प डेस्क स्थापना गरेको छ ।
भारतमा रहेका नेपाली चाडपर्व मनाउन आउने क्रम शुरू भएसँगै सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि तथा चाडपर्वको बेला हुने चोरी, लुटपाट, ठगी, तस्करी, हात हतियार, बिष्फोटक पदार्थ लागूऔषध ओसारपसार तथा अन्य अपराधजन्य क्रियाकलापलाई नियन्त्रण गर्न तथा सर्वसाधारण जनताको गुनासो सुनुवाई गर्न हेल्प डेस्क स्थापना गरिएको सशस्त्र प्रहरी वीरगन्ज भन्सार गुल्मका गुल्मपति अमर बहादुर खत्रीले जानकारी दिए।
संविधान दिवसको पूर्वसन्ध्यामा बिहिबार वीरगन्जमा सशस्त्र प्रहरी भन्सार गस्ती गुल्मद्वारा राष्ट्रिय झण्डा रिले दौड प्रतियोगिताको आयोजनासमेत गरिएको थियो।
वीरगन्जको रजत जयन्ती चोकबाट शुरु भएको रिले दौड प्रतियोगिता इदगाह चोक, माईस्थान, घण्टाघरहुँदै बसपार्कबाट बाईपासको बाटोहुँदै नेपाल भारत सीमा क्षेत्र शंकराचार्य गेटमा पुगेर समापन भएको थियो।
दौड प्रतियोगितामा ३५ जना सशस्त्र प्रहरीका धावकको सहभागिता जनाएका थिए।
संविधान दिवसकै अवसर पारेर सशस्त्र प्रहरी भन्सार गुल्मले गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीको कमाण्डमा वीरगंजको शंकराचार्य गेटदेखि रामजानकी मन्दिर परिसर लगायतको क्षेत्रमा वृहत सरसफाई गरेको छ।
यता सशस्त्र प्रहरीले बिहिबार आफन्तलाई जानकारी नगराई घरबाट भागेर हिँडेका २०/२१ बर्षका युवा, युवतीको एक जोडीलाई नियन्त्रणमा लिई स्थानीय प्रहरीलाई बुझाएको छ।