सीटीईभीटीइमा राष्ट्रिय कर्मचारी संगठनको एक सातादेखि धर्ना

तस्बिर: बिएल

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटीई) मा कार्यरत कर्मचारीहरू विभिन्न ११ बुँदे मागहरू अघि सारेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन्। 

सीटीईभीटीई ब्यवथापनसँग मिति २०७५/०६/२१ र २०७६/०२/१३ गते भएको सहमतिको कार्यान्वयन गर्नुपर्ने मागहरू सहित भदौ २५ गते सीटीईभीटीईका सदस्य सचिव पुष्परमन वाग्लेको कार्यकक्ष बाहिर १ घण्टा धर्ना दिएर शुरू गरेका थिए।

त्यसैगरी भदौ २६ गते दोस्रो दिन २ घण्टा धर्ना दिँदा पनि आफूहरूको माग पुरा गराउन सीटीईभीटीई ब्यवथापनले कुनै चासो नदिएको भन्दै उक्त राष्ट्रिय कर्मचारी संगठनले मागहरू पुरा गराउने उद्देश्यले चरणबद्ध धर्ना तथा प्रदर्शन जारी राखेका हुन् ।

सीटीईभीटीई प्राङ्गणमा पाल तथा ब्यानर टाँगी दोस्रो दिन शुरू गरेको धर्नामा ब्यवथापनसँग सेवा प्रवेशदेखि हालसम्म परिषदको केन्द्रीय कार्यालय भन्दा बाहिर नगएका कर्मचारीहरूलाई तत्काल पहिलो चरणमा प्रदेश तथा शिक्षालयमा खटाउनुपर्ने, त्यसपछि क्रमशः बढी अवधि परिषद् कार्यालय बसेका कर्मचारीलाई प्रदेश कार्यालय तथा शिक्षालयमा खटाउनुपर्ने लगायतका ११ बुँदे मागहरू सहितको कालो ब्यानर समेत टाँगेका छन् ।

हाल दोस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय कार्यालयमा काम गर्ने ७५ जनाको टोलीले धर्ना शुरू गरेका छन्।

उक्त संगठनका अध्यक्ष तेजबहादुर खत्रीको नेतृत्वमा बिहान १० बजेदेखि शुरू भएको धर्ना साँझ कार्यालय बन्द नहुँदासम्म जारी रहने ३ नम्बर प्रदेशका उपाध्यक्ष बिजेश बस्नेतले बताए।
संस्थागत सुधारका लागि आफूहरूको माग पुरा नभए संगठनमा आवद्ध ४७ वटै इकाइ कमिटी परिचालन गरी देशैभरी धर्ना र प्रदर्शन गर्ने उक्त संगठनको योजना छ।

प्रकाशित मिति: : 2019-09-16 17:49:40

प्रतिकृया दिनुहोस्