नेपाल विद्युत प्राधिकरणले अब स्वचालित विलिङ कार्यान्वयनमा ल्याउने (भिडियोसहित)

नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गरेर टेलिफोनजस्तै स्वचालित विलिङ कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ। आइतबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीन वर्षको अवधिमा आफूले गरेको काम र आगामी कार्ययोजनाबारे जानकारी दिँदै अब स्वचालित विलिङ कार्यान्वयनमा ल्याउने बताए।

उनले लोडसेडिङ अन्त्य गरेपछि प्राधिकरणको आन्तरिक सुधारमा लागेको जानकारी पनि दिए। घिसिङले चालु आर्थिक वर्षमा प्राधिकरणलाई डिजिटल बनाउने र इन्टरप्राइजेज रिसोर्स प्लानिङ प्रणाली लागू गरिने जानकारी दिए। आफू प्राधिकरण आउनुअघि वर्षायाममा समेत ८ घण्टा लोडसेडिङ्ग व्यहोर्नुपरेको कहाली लाग्ने अध्यारो युगलाई उज्यालोमा परिणत गर्न सफल भएको उनको भनाई छ।

उनले तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक उर्जा खपत करिब १ सय ५० यूनिट रहेकोमा अहिले २ सय ४५ यूनिट पुगेको पनि जानकारी दिए। त्यस्तै उनले काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको ध्यानाकर्षण भएको जनाए। प्राधिकरण होल्डिङ्ग संस्थाको रुपमा रहने गरी हरेक प्रदेशमा स्वायत्त प्रदेश विद्युत वितरण संस्था खोलिने पनि घिसिङले बताए।

 

प्रकाशित मिति: : 2019-09-15 18:15:38

प्रतिकृया दिनुहोस्