काठमाडौं । बलात्कृत बालिकाबाट जन्मिएको शिशुलाई विक्री गरेको आरोपमा पक्राउ परेका नेपाल बाल संगठनका निर्देशक बालकृष्ण डंगोललाई जेल चलान गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा डंगोललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।डंगोललाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले नक्सालस्थित बाल मन्दिरको गेटअगाडिबाट २९ साउनमा पक्राउ गरेको थियो । बाल मन्दिर जस्तो पवित्र संस्थाको निर्देशक तहमा रहेका डंगोल २०६० सालदेखि उपनिर्देशक हैसियतमा थिए भने अहिले निर्देशकको हैसियतमा कार्यरत थिए ।
डंगोलमार्फत ११ लाखमा शिशु खरिद गरेर बेलायत लान खोज्ने डोना स्मिथलाई पनि प्रहरीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए ।डंगोलले २८ जुलाई अर्थात साउन १२ गते ३६ वर्षीया स्मिथलाई बच्चा बेचेको पाइएको थियो ।
डंगोलले बच्चा एडप्टको आवश्यक पर्ने सम्पूर्ण डकुमेन्टहरु तयार पारेपछि ती डकुमेन्टहरुसहित स्मिथले बच्चालाई ब्रिटिश दूतावासमा लगेर यो मेरो बच्चा भन्दै ‘अन्नाबेला लक्ष्मी श्रेष्ठ स्मिथ’को नाम दिइएको पाइएको थियो । १२ दिनको बच्चाको ब्रिटिश पासपोर्ट पनि बनाइएको छ ।
यता, गर्भपतन गराउन पुगेकी बालिकालाई प्रसुति गृहसम्म पठाएको आरोप लागेकी कलंकीको सञ्जीवनी बर्थिङ सेन्टरकी स्टाफ नर्स निर्मला मगरलाई भने ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।
शिशुलाई विदेश लैजाने क्रममा गलत कागजपत्र बनाउन सहयोग गरेका ३ जना डाक्टरले भने उन्मुक्ति पाएका छन् । उनीहरुलाई अदालतले सामान्य तारेखमा छाड्ने आदेश दिएको जनाइएको छ ।