दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन् (भिडियोसहित)

तस्बिरः बिएल

२००६ सालमा महाराजगन्जमा जन्मिएकी लक्ष्मी शर्मा दक्षिण एसियाकै  पहिलो महिला टेम्पो ड्राईभर हुन्। यद्यपी उनको परिचय यतीमा सिमित छैन।

चालकबाट अन्तर्राष्ट्रियस्तरको उद्योगीको रूपमा समेत उनी परिचित छिन्। टेम्पो ड्राईभरबाट करियर सुरू गरेकी लक्ष्मी पछिल्लो समय अन्तर्राष्ट्रियस्तरको सफल उद्यमी बनेर उदाएकी छन्।

यस बिचमा उनले अनेकौ आरोह-अबरोहको सामना गर्नुपर्‍यो।

काठमाडौं महाराजगन्ज स्थायी घर भएकी लक्ष्मी शर्मा मामाघरको गाईगोठमा जन्मिएकी हुन्।

विवाह भएको छोरीले माईतमा सन्तान जन्माउनु हुन्न भन्ने परम्पराले गर्दा उनकी आमाले गोठमा बच्चा जन्माएकी थिइन्।

उनी आफूलाई न्वारन नभएको छोरी हुँ भन्छिन् र धर्म बुबाको काखमा हुर्किएको बताउँछिन्। यसभित्रका कथा उनलाई कोट्याउन मन लाग्दैन।

६ वर्षकै उमेरमा राजा त्रिभुवनको बहिनीको घरमा काम गर्न बसेकी लक्ष्मीले ११ वर्षको उमेरसम्म दरवार भित्रै बसेर पूजाको भाडा माझ्ने, भगवानको कपडा फेराईदिने, धोईदिनेदेखि घर सफा गर्नेसम्मका काम गरिन्।

'मलाई साना साना कपडाको टालोबाट पुतली बनाउन असाध्यै मन पर्थ्यो। म सानैदेखि पुतली पेन्टिङ गर्न खुब रमाउँथे', उनले भनिन्।

११ वर्षको उमेरमा दरबारबाट बाहिर निस्किएपछि १३ वर्ष टेक्दै गर्दा उनको बिहे भयो। नेपाल प्रहरीमा काम गर्ने मानिससँग भएको उनको बिहे धेरै समय टिकेन।

'जेठी छोरी पाएको ४ दिनमै कोही महिलाले 'म तेरो श्रीमानको प्रेमिका हुँ, तलाई तेरो श्रीमानले माया गर्दैन' भनेर मलाई दुर्व्यवहार गरेपछि मेरो भर्खरै सुरु भएको जिन्दगीमा ठूलो तुषारापात भयो', उनले विगत सम्झिइन्, 'त्यसै दिनदेखि मलाई मन भित्रैबाट उसलाई छाड्ने निर्णय गरेँ। तर, हिन्दु संस्कारमा हुर्किएकी छोरी भएकाले मेरो निर्णय त्यती सजिलो थिएन। दुई छोरी जन्मिएपछि हामी कानुनी रूपमै अलग भयौं।' 

लक्ष्मीको संघर्षको दिनहरू एकपछि अर्को गर्दै थपिए। काखका ३ छोरीहरू हुर्काउनुपर्ने बाध्यता उनैमा थियो। यस बिचमा उनले विभिन्न विदेसी कुटनीतिक व्यक्तिको घरमा खाना पकाउनेदेखि घर सफा गर्नेसम्मका काम गर्न थालिन्।

राम्रोसँग अंग्रेजी बोल्ने उनी स्कुलको औपचारिक शिक्षा लिएकी छैनन्। 'म जिन्दगीमा जम्मा २ दिन स्कुल गएकी छु। तर, विदेसीको सुसारे भएर काम गर्दा गर्दै मैले त्यहीबाट अंग्रेजी बोल्नेदेखि नैतिक शिक्षा सिकेँ, जसले आज मलाई व्यापारमा सफल हुन सघायो,' उनले भनिन्।

लक्ष्मीलाई पेन्टिङमा असाध्यै रूचि थियो। उनी आफ्नो भान्साको काम सकेर साना कपडामा पेन्टिङ कोर्थिन्। र तिनै पेन्टिङ विदेसीलाई बेच्थिन्।

आफू जे जस्तो भए पनि उनले छोरीहरूलाई राम्रै शिक्षा दिक्षा दिइन्।

आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मान्यता बोकेकी लक्ष्मीलाई विदेशीले नै यसमा सघाए। विदेसीकै सम्पर्कबाट ६ महिनाको उद्योग अवलोकन कोर्सका लागि २०३९ सालमा भारत गईन्। साना छोरीलाई आमासँग छोडेर गएकी थिइन्।

त्यहाँ उनले जैशवाल अटो रिक्साको सिफारिसमा बनारसमा साढे दुई महिना टेम्पो बनाउने कोर्स पुरा गरिन्।

यसैगरी भारतमा काठका सामान बनाउने, छालाका सामान बनाउनेलगायतका धेरै तालिम लिएर उनी नेपाल फर्किइन्।

आवश्यक तालिम त लिईन्। तर, व्यवसाय गर्न उनीसँग सुको पैसा थिएन।

उनले भारतबाट फर्किएपछि साईली आमासँग १० हजार रूपैया ३६ प्रतिशत् व्याजमा लिएर सेकेन्ड हयाण्ड टेम्पो किनिन्।

२०४१ साल चैत १४ गते उनले चालक अनुमति पत्र लिइन्। त्यसपछि टेम्पो चलाउन थालिन्।

टेम्पो चलाउँदा पछाडिबाट कपाल तानिदिने, आईमाईले चलाएको टेम्पोमा पनि पैसा तिर्छ भनेर नदिएर हिँड्नेदेखि पिटाई पनि खानुपरेको घटना सम्झदै दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभरसमेत रहेकी उनले भनिन्, 'टोलटोलमा पैसा उठाउन पल्केका गुण्डासँग लड्दा ओठमा लागेको घाउको निशाना अझै छ।'

टेम्पो नं ९ बाट सुरु भएको उनको चालक यात्रा टेम्पो न. २२६, टेम्पो नं २७१ र दरबारबाटै लिलामी अवस्थामा रहेर किनेको टेम्पो नं २५४ सम्म पुगेर ५ वटा टेम्पोको मालिक भइन्।

२०४३ सालमा टेम्पो छाडेकी उनले विष्णुमति र धोविखोलाबाट फयाँकिएका राँगा र भैसीका वेवारिसे  सिंह र हाडखोर जम्मा गरेर टाँकलगायतका हस्तकलाका समान बनाउने पेसाको सुरुवात गरिन्।

अहिले शर्माको 'लक्ष्मी उड क्राप्ट' मा लगभग १५ सय किसिमका विभिन्न हस्तकलाका समानहरु उत्पादन हुन्छन्।

‘त्यो बखत सानो कचौरा, लामाले बजाउने डम्मरु, विभिन्न किसिमका हाण्डक्राफ्टहरु बनाएँ मैले,’ उनले भनिन्, ‘पछि गएर निडिल केशहरु,लेसहरुलगायत थुप्रै निर्माण गरेँ । ‘माइ क्रियशन’ भनेर अहिले त किताब नै निकालेको छु । मलाई बुन्नेमा धेरै रहर थियो । ढाका कारखाना राखे । विश्वका अधिकांश देशहरुमा हाम्रा उत्पादनहरु जान्छन् ।
यस उद्योग सञ्चालन गर्दा पहिला मैले बनारसबाट कालिगढहरु ल्याएर काम चलाएको थिएँ स्वयं म पनि थिएँ । त्यसबेला २७ जनासम्म बनारसीहरु भएका थिए । पछि उनीहरुले नेपालीहरुलाई टुल्स (औजार) छुन नदिने गुनासो गरेपछि नेपालीहरुलाई काम सिकाउन सुरु गरेँ । काम सिकाउने क्रममा वि.सं. २०५० सालसम्ममा मकहाँबाट धेरैले सीप सिकेँ । म आफैंले नपढेको कारण नपढेकाहरुलाई यो काम सिक्न पढ्नु पर्दैैन भन्ने तरिकाले यो काम सिकाएँ, चार जात छत्तीस वर्ष ल्याएर राखेँ । पछि समस्या पनि चारजात छत्तीस वर्णकै समस्या भयो । समग्रमा भन्नुपर्दा १० हजार जना मानिसलाई काम सिकाएर काम दिएर त्यो प्रोजक्ट बेच्न सक्ने क्षमता ममा थियो, अहिले पनि छ । तर के गर्नु, ‘यो सतीले सरापेको देशमा के गर्ने ?’

राँगाका सिंह हाडखोरका बस्तुदेखि आरूका बियाँका टाँक,झिक्राबाट बनाईएका कलात्मक स्वरुपका सामानहरु अमेरिका, जापान, क्यानडा, जर्मनी, फ्रान्स, अष्ट्रलियादेखि विभिन्न देशमा पठाउने गर्छिन्।

व्यापारिक कामको शिलशीलामा अ‍मेरिकी प्रथम महिला हिलारी क्लिन्टनलाई समेत भेटेकी लक्ष्मी शर्माले देशमा भएका यस्ता हाडलाई विदेश जान रोकी यसको सही सदुपयोग गर्न सके देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताउँछिन्।

उनको व्यवसायलाई भाजो हाल्न ट्रेड युनियनदेखि सरकारसम्म लागि परेको उनको गुनासो छ।

मुद्दा मामिला खेप्नुपर्‍यो। करौडौंको क्षति व्यहोर्नु पर्‍यो। तर पनि उनले हार मानिनन्। ‘एक्लै सुरू गरेको व्यवसायमा मैले ४ हजार जनालाई रोजगारी दिएँ’, उनले भनिन्,‘राष्ट्रिय मात्र होइन गत वर्ष मात्र १० महिला अन्तर्राष्ट्रिय उद्दमीमा पर्न सफल भएँ।’

कुनै समय एक अवला नारी भनि हेलाको पात्र बनेकी लक्ष्मी शर्माको उत्पादनको प्रशंसाका साथ उनले सयौ अन्तर्राष्ट्रिय पुरस्कार समेत पाईसकेकी छन्।

यतिवेला ३ जना छोरी सबैको विवाह भईसकेको छ। १० हजार रूपैयाबाट सुरू भएको उनको व्यवसाय आज करौडौंको भइसकेको छ।

लक्ष्मी शर्मा यति बेला महाराजगन्जस्थित आफ्नो ठूलो हवेलिमा एक्लै भेटिन्छिन्। तर,उनलाई काममा सघाउने मानिसको कमि भने छैन। घरका भित्तामा जताततै उनका पेन्टिङका सामान राखिएका छन्।

सानोमा भान्से भएर काम गर्दा ५ रूपैयाँमा बेच्ने गरेका उनका केही पेन्टिङहरू उनले अहिलेसम्म सुरक्षित राखेकी छन्।

‘दीपलक्ष्मी’ नामक संस्था दर्ता गरेर उनी यतिबेला संग्रहालय र माईग्रेसन लाईव्रेरी बनाउने काममा व्यस्त छन्। ‘अब घरमै लाईबेरी बनाउने तयारी गर्दैछु। जहाँ एकल महिलाको मेहेनतले बनाएका सम्पूर्ण समानहरु संचित गरेर राखिदिन्छु। यसले भावि पीडिलाई एक्लै पनि धेरै काम गर्न सकिन्छ भन्ने प्रेरण मिलोस्।’

एक्लै भए पनि आफू धेरै खुसी रहेको बताएकी छन्। ‘एक्लै छु। तर पनि धेरै खुसी छु,’ उनले हँसिलो मुद्रामा भनिन्।

मनलाई शान्त खुसी राख्न उनी घरमै शिक्षक बोलाएर संगीत सिक्छिन्। उनले आफूले गाएको गीतको एल्वम समेत निकालेकी छन्।

बिहान राँग तान्दै गर्दा भेटिएकी उनले भनिन्,‘मनभित्रको चोट व्यथा सबैलाई यही राँगबाट बाहिर निकालेर फ्याक्ने गर्छु। त्यसैले ७० वर्षमा पनि आफुलाई २० वर्षको ठिटी जस्तै अनुभव गरेकि छु।’

प्रकाशित मिति: : 2019-09-14 11:17:13

प्रतिकृया दिनुहोस्