करारमा नियुक्त हुन लागेका शिक्षकसँग एक लाख घुस माग्ने प्रधानध्यापकसहित ६ जना पक्राउ

तस्बिरः बिएल

घुस लिएको आरोपमा प्रधानाध्यापकसहित ६ जना पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले वीरगन्जको एक विद्यालयमा करारमा शिक्षक नियुक्तिका लागि १ लाख रूपैयाँ घुस लिएको आरोपमा प्रधानअध्यापकसहित ६ जनालाई शुक्रबार पक्राउ गरेको हो।

वीरगन्ज ८ घण्टाघरस्थित शिवा आँखा अस्पताल पछाडिको बाटोमा रहेको एउटा चिया पसलबाट वीरगन्ज ३१ वेल्वा प्रसौनीस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन्दर कुमार कापरसहित ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विद्यालयका सहायक प्रधानाध्यापक बारा परवानीपुर गाउँपालिका वडा नम्बर १ का मनिर मियाँ, शिक्षक जितपुर सिमरा नगरपालिका वडा नम्बर १० का सुरेश महतो, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू वीरगन्ज ३१ वेल्वा कै ईलियास मियाँ अन्सारी, सदिया खातुनका श्रीमान् जमिल मियाँ र नजमुदिन मियाँ देवान छन्।

विद्यालयले गणित शिक्षककालागि करारमा नियुक्त गर्न विज्ञापन निकालेको थियो। तर, अनुदानको कोटामा समेत नियुक्त गर्न एक जनासँग १ लाख घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरेको आयोग हेटौडाका अधिकृत नर बहादुर चन्दले बताए।

पक्राउ परेका ६ जनालाई आवश्यक अनुसन्धानको लागि हेटौडा लगिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: : 2019-09-13 20:34:00

प्रतिकृया दिनुहोस्