के हाम्रा छोरीहरु सुरक्षित छन् ?

तस्बिरः बिमला गुप्ता

मुस्कान खातुनमाथि एसिड प्रहार भएपछि छोरी-चेलीहरु असुरक्षित भएको महसुस गरी बिहीबार वीरगन्जमा 'के हाम्रा छोरीहरु सुरक्षित छन्,' भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ।

कार्यक्रममा छोरीहरूको सुरक्षा र यसका चुनौतिबारे छलफल भयो ।

प्रदेशसभा सदस्य प्रह्लाद गिरीले एसिड प्रहारको घटनालाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको बताए । 'दोषीलाई कानुन बमोनिम कडा कारवाही हुनेछ ।

छोरी सुरक्षाको लागि र नेपालमा यस्ता घटना हुन नदिन कडा कानुन बनाउनु पर्छ,' उनले भने, 'सरकारले एसिडपीडित १५ वर्षीय बालिका मुस्कानको खर्चको जिम्मा सरकारको हुँदा घोषणा गर्ने बित्तिकै रकम उपलब्ध गराउन कठिनाई भएको छ । चाँडै नै मन्त्रिपरिषदबाट पास गराई पीडितका अभिभावकलाई सहयोग रकम उपलब्ध गराइने छ ।'

कार्यक्रमा सहभागी छात्राले मुस्कानको घटनालाई लिएर आफूहरु चिन्तित भएको बताए । 'अब कसरी घर बाहिर निस्किने?, कसरी सुरक्षित हुने? हामी त्रसित छौं, वीरगन्ज महानगरको फितलो सुरक्षा व्यवस्था छ। सीसी क्यामेरा तथा बिजुलीको पहुँच हरेक चोक र गल्लीमा पुग्नुपर्छ,' सबैले एक स्वरमा भने, 'निर्मलाका हत्यारा अझै पक्राउ परेका छैनन् । देशमा कानुनको कडा कार्यान्वयन र प्रहरी प्रशासनको काम चित्तबुझ्दो नभएकाले हामी असुरक्षित छौ।'

प्रदेशसभा सदस्य ओम प्रकाश शर्माले महिला हिंशाको घटनामा महिलाहरु आफैं सुरक्षित हुनुपर्नेमा जोड दिए । 'अहिलेको कानुन फितलो छ। दोषी कुनै पनि उमेर समूहको होस् कडाभन्दा कडा सजाय हुनुपर्छ,' अहिलेको समयमा महिला नभई हरेक व्यक्ति अपराधीबाट सचेत हुनुपर्ने कुरामा जोड दिदै उनले भने, 'महिलाहरुको लगाउने छोटो लुगाले बलात्कार तथा एसिडको घटनाको कारण भन्नु गलत सोच हो । अपराधी मानसिकता भएका जो कोहीलाई सिकार बनाउने हुँदा यस्तो सोचको अन्त्य गर्न म सबैलाई आग्रह गर्छु । साथै वीरगन्जलाई सुरक्षित राख्न मेनरोडमा लगाइएको सीसी क्यामेरा आन्दोलनको समयमा केही अपराधिक गतिविधि गर्ने व्यक्तिले तोडफोड गर्ने हुँदा यसतर्फ सबै सचेत हुनुपर्छ ।'

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले महानगरको प्रत्येक विद्यालयमा तीनवटा गुनासोपेटी राखिएको भए पनि अहिलेसम्म गुनासो नआएको बताए । 'विद्यालयमा भएको समस्यादेखि आउँदा-जाँदा बाटोमा आइलाग्ने समस्या र पारिवारिक समस्याको लागि गुनासो नआउँदा आफूहरुलाई समस्या बुझ्न कठिनाई भएको छ,' उनले भने, 'समयमै गुनासा आए सुरक्षाको पाटो बलियो बनाउनेतर्फ आफूहरु जागरुक हुने हुँदा यसतर्फ बालिका पनि सचेत हुन आवश्यक छ । वीरगन्ज महानगरले 'सेभ फर वीरगन्ज' अभियानलाई लगातार १५ लाख रुपैयाँ उपलब्ध गराइरहेको हुँदा अब हरेक स्कुल र कलेजअगाडि सीसी टिभि क्यामेरा जडान गरिनेछ । हरेक गल्ली तथा चोकमा वडा अध्यक्षहरुको ध्यानाकर्षण गराई बिजुलीको व्यवस्था गर्न लगाइनेछ ।'

पर्साका डिएसपी अनन्तराम शर्माका अनुसार अहिले एसिड प्रहारको घटना भएपछि अभिभावक पनि सचेत भएका छन् । उनले भने, 'सो घटना भएपछि अहिले जिल्ला प्रहरी कार्यालयमा अभिभावकहरु स्वयं आएर आफ्ना छोरीलाई जिस्काउने केटालाई कारबाही हुनुपर्‍यो भन्ने क्रम बढेको छ। अपराधीको बारेमा जानकारी पाउने बित्तिकै प्रहरीलाई खबर गर्न अनुरोध गर्छु।'

वीरगन्ज ग्लोबल कलेजकी निर्देशक डा. निभा दासको अध्यक्षतामा भएको अन्तरक्रियामा सरोकारवाला पक्षसँग, 'के हाम्रा छोरीहरु सुरक्षित छन्,' भन्ने विषयमा अभिभावक, बालिका तथा विभिन्न संघसंस्थाका व्यक्तिहरुले सुरक्षा व्यस्थाको बारेमा र पत्रकारहरुसँग सवाल-जवाफ पनि गरेका थिए । 

ग्लोबल कलेजका निर्देशक ओमप्रकाश श्रेष्ठले सहजिकरणमा गरेको कार्यक्रममा समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष मोनिका सिंह, सामाजिक अभियन्ता ओम प्रकाश शरार्फ, चेली कृषि सहकारीकी कमला घिमिरे, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम तथा डा. अशोक दासले आ-आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति: : 2019-09-12 18:49:08

प्रतिकृया दिनुहोस्