नेपालमा बढ्दैछन् ज्यानसम्बन्धी घटना : अधिकांशमा श्रीमान् श्रीमतीले नै लिन्छन् ज्यान

नेपालमा  घटेका ज्यानसम्बन्धी पछिल्ला पाँचसय मुद्दामा एक सय ५३ घटनामा श्रीमानले श्रीमतीको र ३० घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाइएको छ।यस अतिरिक्त अधिकांश अरू घटनामा पनि घर-परिवारकै सदस्य र आफन्तहरूको संलग्नता रहेको पाइएको छ। 

नेपाल प्रहरीले नेपालमा घटेका ज्यानसम्वन्धी पछिल्ला पाँचसय मुद्दाको सुक्ष्म अध्ययन गरेर यस्तो तथ्य निकालेको हो ।  

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदी भन्छन्-'घटनामा कहीँ न कहीँ चिनेजानेका व्यक्तिकै संलग्नता खुल्ने गरेको छ। पाँचसय घटनामा अधिकांशमा घरपरिवारका सदस्यकै संलग्नता पाइयो।'

जघन्य प्रकृतिका हत्यामा श्रीमानले श्रीमतीको र श्रीमतीले श्रीमानको हत्या गरेको संख्या बढी छ। पाँचसय घटनामा करिव दुईसयमा श्रीमानको हत्यामा श्रीमती वा श्रीमतीको हत्यामा श्रीमानको संलग्नता देखिएको छ। 'सामाजिक अपराध बढेर गएका छन्। घरभित्र नै हत्या भएका छन्। यसको कारण र न्युनीकरणका लागि हामीले गम्भीर भएर हेर्ने समय आएको छ' प्रवक्ता सुवेदी भन्छन्।

अधिकांश घटना तराईका जिल्लामा घटेको बताउँदै सुवेदी भन्छन्- 'दाइजोप्रथा, बैदेशिक रोजगारीका कारण, मदिरासेवनको लतका कारण धेरैजसो घटना भएका छन्।'

प्रहरी प्रवक्ता सुवेदीले पछिल्ला दुई घटनाको उदाहरण दिएका थिए।

उनका अनुसार गत मंगलवार ललितपुरको गोदावरी नगरपालिका-१ बिसंखु गोदामचौरबाट ४२ वर्षिय जयबहादुर वाइवा पक्राउ परे।उनलाई श्रीमतीको हत्या गरी टाउको बोकेर हिड्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो।

वाइवाले मंगलबार बिहान करिव साढे ५ बजे सिन्धुली माइत भएकी ४१ वर्षीय श्रीमती मनमाया वाइवाको विभत्स हत्या गरेका हुन्। इटाभट्टामा काम गर्ने वाइवाले आफूलाई श्रीमतीले टर्चर दिएकाले खुर्पाले हानेर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्।

यसैगरी अर्को एक घटनामा गत सोमवार मात्र एक श्रीमतीले ढुङ्गा प्रहार गरी  आफ्नै श्रीमानको हत्या गरेकी छिन्।अर्घाखाँचीको पाणेनी गाउँपालिका २ का ४१ वर्षीय लोकबहादुर कुमाललाई ३९ वर्षीया श्रीमती मेगली कुमालले ढुंगा प्रहार गरी हत्या गरेकी हुन्।

 

 

प्रकाशित मिति: : 2019-04-26 00:08:23

प्रतिकृया दिनुहोस्