कर्णालीका कथित दलितहरूको कथा
कर्णाली प्रदेश पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको क्षेत्रमा पर्छ।यस क्षेत्रको उपयोग राम्रोसँग गर्न सके आर्थिक रुपमा यहाँका जनताको जीवनस्तर उकासिन सक्छ।तर, यहाँ प्रशस्त लगानी र प्रवर्द्धन हुन नसक्दा पर्यटन क्षेत्रबाट उल्लेख्य उपलब्धि हासिल हुन सकेको छैन।पछिल्लो समयमा जुम्ला प्याराग्लाइडिङ्गको लागि अर्को सम्भावनाको क्षेत्र बनेको छ।यहाँको मिलेको भूगोल, फराकिलो फाँट, अग्ला डाँडाकाँडा, हावाको चापआदिले जुम्ला साहसिक पर्यटकीय गन्तव्य बन्न सक्ने देखिएको छ।
रुघाखोकीले सताएको चारदिन भैसकेको थियो।जीउ आलस्य भएकोले अध्ययन शुन्य थियो।किताबका पानासँग आँखा जुधे कि तररर आँसु झर्थ्यो। ओछ्यानमै पल्टिएर फेसबुक हेर्नसम्म पनि जाँगर चलेको थिएन। चाँडै सुतियो।
बिहान उठ्दा जीउ थोरै हल्का भएको थियो। फेसबुक खोलेर हेरें थरिथरिका समाचारपत्रमा एउटैखाले न्युज थियो 'जुम्लामा प्याराग्लाइडिङ्गको सफल परीक्षण उडान।' पढ्दै जाँदा जुम्लाकै एकजना युवाले आफ्नै प्रयासमा बनाएको प्याराग्लाइडिङ्गको परीक्षण उडान भएको रहेछ। यसरी आफ्नै प्रयास र मेहेनतले प्याराग्लाइडिङ्ग बनाउने मान्छेको नाम थियो- टक्कबहादुर नेपाली। उनी जुम्ला तातोपानी लाम्राबासी थिए।
एक प्रतिभावान जुम्ली युवा जसले आफ्नै प्रयासमा यस्तो साहसिक कार्य गरे।उनी को हुन् भनेर जान्ने मन भयो। भेट्नुपर्ने महशुस भयो। उनको सम्पर्क नम्बर लिएँ। उनीसँग कुरा हुँदा भोलिपल्ट दुईबजे भेट्ने कुरा भयो।
यो पनि पढनुस्- कर्णालीका कथित् दलितहरूको कहर :
बाटोमुनि फुलेका झ्याँझ्याँ फूल (जसलाई आई लभ यू फूल पनि भनिन्छ।जसको हरेक फूलमा ८ वटा पत्र हुन्छन्।) हरू, लहरै झुलेका कालीमार्सी धान, मसिना पाखाहरू, लपक्क काट्ने भएका घाँसका मेलाहरू, शिरशिर चलेको बतास, मध्यदिनको पाको घामले यात्रालाई आनन्दित तुल्याइरहेको थियो। साउन, भदौको समय जुम्ला बिछट्टै रमणीय हुन्छ। यही रमणीय वातावरणको कावा खाँदै अगाडि बढेको थियो मेरो पैदल यात्रा।
यात्रामा पहिला कहिले पनि भेट नभएका टक्कबहादुर नेपालीको सम्झना आइरहन्छ। उनको साहसिक कर्मको सम्झना हुन्छ। उनले प्याराग्लाइडिङ्ग बनाएर जुम्लामा लगानीको नयाँ सम्भावनालाई देखाइदिएका छन्।
करिब आधाघण्टा बढीको पैदल यात्राले ऐरेनी पुर्यायो।त्यहीँ नजिक सादा पैरनमा एउटा अपत्यारिलो २९/३० वर्षको युवा, औसत उचाईको, गठिलो जीउ भएको, गहुँगोरो वर्णको, मिजासिलो स्वभावमा, हँसिलो मुद्दामा फिसिक्क हाँस्दै पहिलो पटक हात मिलाउन आईपुग्छन्।उही मान्छे थिए- टक्कबहादुर नेपाली।
ऐरेनीबाट सयमिटर जति अगाडि उकालो दक्षिण पश्चिमतिर दुईतलाको एउटा मात्र पक्की घर छ। त्यही घरमा टाँसिएको एउटा कर्णाली इनोभेटिभ टेक्नोलोजी डेभलपमेन्ट उद्योग नामको बोर्ड छ। त्यही बोर्ड टाँसेको घरको मालिक र उद्योगका प्रोपराइटर हुन्- टक्कबहादुर नेपाली।
यो पनि पढनुस्- कर्णालीका कथित् दलितहरूको कहर :
घरको आँगनमा उनकी श्रीमती गिट्टी कुटिरहेकी थिइन्।घरभित्र राखिएका प्याराग्लाइडिङ्गका सबै सामान प्याराग्लाइडर (१४ मिटर लामो आफैले बनाएको), जुम्ली हार्नेस, टेन्डम प्यारामोटरलगायत हेरेर फेरि आँगनमै आएपछि उनको उद्यम र मेहेनतको बिषयमा कुरा भयो।
पाँच भाइ, तीन बहिनी र बा-आमा भएको जम्बो परिवारमा जेठो भै जन्मेर जीवनको उकाली-ओराली गरिरहेका टक्कबहादुरले एसएलसीसम्म मात्र पढ्ने अवसर पाए। यतातिर एउटा कथन छ- 'राजाको घरमा कान्छो नहुनू, प्रजाका घरमा जेठो नहुनू।' उनी जेठै भएर जन्मिए। त्यसैले स्वभाविक रुपमा उनले पारिवारिक जिम्मेवारीको गर्ह्रौ भारी बोके।
उनले विज्ञानका अप्ठेरा समीकरण बुझेनन्।विभिन्न तत्वको रासायनिक प्रक्रियाबारे पूर्ण जानकारी हासिल गरेनन्। न उनी एरोनटिकल ईन्जिनियर हुन् न उनमा एरोडायनामिक प्रक्रियाबारेको बुझाई नै पूर्ण छ। बस यत्ति बुझेका छन् कि विज्ञान व्यवहारसँग जोडिएको विषय हो।यसले गतिशीलतालाई ध्यान दिन्छ। जीवन र जगतबारे नयाँ दृष्टिकोण दिन्छ। खोज र अनुसन्धानको लागि प्रेरित गर्छ।
एकदिन सरले कक्षा ७ को विज्ञान विषयमा ड्राइसेलबाट विद्युत बाल्ने कुरा सिकाए। त्यसमा विद्युत परिपथको नक्सा थियो। त्यसले विद्युत बाल्ने तरिका सिकायो। घरमा आएर पुराना ब्याट्री खोजेर त्यस्तै बनाउने प्रयत्न गरे। बत्ती बल्यो। जीवनको पहिलो पटक आफ्नो प्राविधिक सीपको प्रयोगात्मक अभ्यास सफल भयो। उनी खुब खुशी भए। जीवनको सबैभन्दा सुखद क्षणको अनुभूति गरे। उडेर चन्द्र छोएजत्तिको खुशी बनायो। त्यति नै सुखानुभूति जतिबेला आफ्नो हजारपटकको प्रयास सफल गरेर थोमस अल्बा एडिसनले बिजुलीको बल्ब बाल्दा गरेका थिए होलान्।
यो पनि पढनुस्- कर्णालीका कथित् दलितहरूको कहर :
उनलाई आफू प्राविधिक माइण्डको रहेछु भन्ने लाग्यो। जुम्लामा पहिलोपटक नेकोन एयरलाइन्सको जहाज दुर्घटना भएपछि उनी आफैँ हेर्न पुगे। एकदुई आल्मुनियमका पाता ल्याएर त्यस्तै आकारको एकपंखे खेलौना प्लेन बनाए। त्यसमा ब्याट्रीबाट गुड्ने खेलौना गाडीको मोटर झिकेर फिट गरे। उनले बनाएको प्लेन उड्ने भएन, गुड्ने भयो।
पछि त्यही प्लेनको मोटर झिकेर, तिनै आल्मुनियमका पाता प्रयोग गरेर काठको हेलिकप्टर बनाए।हेलिकप्टरका ब्लेड भनेर गिद्दका प्वाँख राखे।जुन गिद्द यति एयरलाइन्ससँग ठोकिएको थियो।उनले त्यो हेलिकप्टरमा केही कुरा सुधारे, त्यो अलिकति उड्ने बन्यो। जमिनबाट उड्न नसके पनि घरको छतमा लगेर उडायो भने बिस्तारै उड्दै जमिनमा बस्थ्यो। त्यसको भिडियो उनीसँग अहिले पनि सुरक्षित छ।
उनको प्राविधिक माइण्ड चल्दै गयो। उनले नयाँ नयाँ डिजाइनका विद्युतीय खेलौना मोडेल तयार पारे। डोजर, गाडीजस्ता लगभग सय किसिमका गज्जबका खेलौना मोडेलका सामान बनाए। ती सबैको प्रयोग र सफलताले उनलाई दिन-प्रतिदिन खुशी बनाउँदै लग्यो र उनी उत्साहित हुँदै गए।
त्यही बीचमा उनले सोलार क्याप पनि बनाए। छत्रे टोपीमा सोलार प्यानल जोड्दा बत्ती निस्कने सोलार क्याप, साइकलको पाइडल घुमाउदा बत्ती निस्कने डाइनामो पनि आफ्नै प्रयासमा बनाए। उनले त्यस्तै काम गरेबापत शिक्षा कार्यालयबाट पुरस्कार र प्रमाणपत्र पनि पाएका छन्।
एसएलसी पास भएपछि उनले केही समय नुवाकोटको सेतीबाडा स्कुलमा पढाउने काम पनि गरे। त्यहिबेला देशमा पहिलो संविधानसभाको निर्वाचन भयो, २०६४ चैतमा।त्यो निर्वाचनको बेला काठमाडौंको क्षेत्र नम्बर १ मा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो। जहाँ नेपाली कांग्रेसका प्रकाशमानसिंह बिजयी भएका थिए। उक्त भोटिङ मेसिन भारतबाट ल्याइएको थियो।त्यसबारे गोरखापत्र दैनिनमा विस्तृत जानकारी थियो।
उक्त जानकारी टक्कबहादुरले पाए। त्यसै आधारमा उनले विद्युतीय भोटिङ मेसिन बनाए। पत्रकार बोलाएर प्रचार-प्रसार गरे। त्यो लिएर विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) सम्म पनि पुगे। पछि त्यसको पेटेन्ट राइट(अग्राधिकार) भारतसँग छ भन्ने थाहा पाएपछि उनको उक्त परियोजना त्यहीँ स्थगित भयो। त्यसले उनलाई निराश बनाएन, बरू धेरै कुरा सिकायो।
यो पनि पढनुस्- कर्णालीका कथित् दलितहरूको कहर :
उनको पारिवारिक जिम्मेवारी बढ्दै गयो। गुजारा गर्न केही गर्नुपर्ने सोचले पिरोल्यो। साथीभाइ र अग्रजहरूको सल्लाहले आफ्नै सीपसँग मिल्दो व्यवसाय गरे। घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गराएर।त्यसरी स्थापना भएको हो- कर्णाली इनोभेटिभ टेक्नोलोजी डेभ्लप्मेन्ट उद्योग।
यसले उनलाई सजिलो बनायो। आफ्नो क्षमताको सही प्रयोग र आम्दानी दुबै हुन थाल्यो। सातजना कामदार लगाए आफूपनि काममै लागे।मेहेनत गर्न छोडेनन्। कुनै तालिम नलिएर विद्युत मेसिनको मर्मत गर्न जान्ने भए। जिल्लामा सञ्चालन भएका माइक्रो हाइड्रोपावर बिग्रेमा उनी सजिलै बनाउँन सक्छन्।ठाउँ-ठाउँमा उनको माग भइरहन्छ।
यसैबीरमा उनी आफू पढेको स्कुल दुर्गा मावि लाम्राको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए। एक वर्षअघि स्कुलमा वाईफाई जडान भयो। त्यसबाट उनी नेटको पँहुचमा पुगे। युटुब चलाउन सिके।त्यतिकैमा उनको स्कुलेजीवनका साथी शिवशंकर चौलागाईले 'तँ प्राविधिक कुरामा चासो दिन्छस्। युटुबमा यस्ता कुराहरू प्रशस्त हुन्छन् खोज्दा भेटिन्छ। हाउ टु मेक एन एरोप्लेन? हाउ टु मेक अ हेलिकप्टर? हान्यो भने कसरी बनाउने भन्ने प्रशस्तै भिडियो भेटिन्छन् र सिक्न पनि सजिलो हुन्छ।' खोज भनेर भने।
त्यसपछि टक्कबहादुर हाउ टु मेक एन एरोप्लेन, हेलिकप्टर मै सीमित भएनन्। उनी हाउ टु मेक अ प्याराग्लाइडिङ्गसम्म पुगे।युटुवमा यससम्बन्धी प्रशस्त भिडियोहरू हेरे। नेट स्लो भएकाले भिडियो गतिलरी देखिएन। मनमा प्याराग्लाइडिङ्ग कसरी बनाइन्छ?, भन्नेबारे उत्सुकताले घोचिरहयो। त्यसपछि उनी नेट गतिलो चल्ने ठाउँको खोजी गर्न थाले। जुम्लामा गतिलो नेट चल्ने ठाउँ नपाएपछि उनी नेपालगञ्जसम्म पुगे।एउटा गतिलो नेट चल्ने होटलमा बसे र प्याराग्लाइडिङ्गबारेका झण्डै हजार बढी भिडियो डाउनलोड गरे।
सबै भिडियो हेरेपछि प्याराग्लाइडिङ्ग निर्माणका लागि चाहिने सामानको लिष्ट उतार्न थाले। प्याराग्लाइडर, प्यारामोटर, हार्नेस, टिपहार आदि सबै जुटाउने प्रयत्न गरे। प्याराग्लाइडर आफै बनाउने योजना बनाए। त्यसको लागि काठमाडौंको महाबौद्दबाट छाता बनाउने नाइलनको कपडा, डोरी, फिता आदि सामाग्री मगाए। ग्लाइडरको नक्सा आफै बनाए। नक्साअनुसार ग्लाइडर सिलाउने काम त्यहीँका एकजना हरिभक्त परियारले गरिदिए। १४ मिटरको ग्लाइडर बनाउन झण्डै पाँच महिना लाग्यो।
उनले प्याराग्लाइडर त बनाए। तर, कपडा बाक्लो, डोरी मोटो, फित्ताहरू चाख्लो भएको, दुबै साइडतिरको वेट एण्ड व्यालेन्स नमिलेको र एरोडाइनामिक मुभमेन्ट पनि नमिलेको जस्ता कमजोरीका कारण केही समय आकासमा उडेपनि लामो समय उड्न नसक्ने भयो। कमजोरी के के हुन् भन्ने पनि पत्ता लाग्यो। न्युटनको तेस्रो नियम र बर्लोनीको नियमलाई ध्यान दिनुपर्ने लाग्यो। सकभर समस्या नआउने गरी बुझाईको दायरा फराकिलो बनेको छ। अब नयाँ बनाउदा कुनै पनि कमजोरी नदेखिने गरी सिकाई भएको छ।
अब कुनै पनि हालतमा नेपाली झण्डा भएको होममेड प्याराग्लाइडर, जुम्लामै बनेको प्यारामोटर, टिपहार र हार्नेस सबै बनाएर जुम्ली आकासमा उडाउँने प्रतिबद्धता टक्कबहादुरको छ। यदि आफूले बनाउन नसके कसैले जुत्ताको माला लगाउ भन्यो भने पनि आफू तयार रहेको कुरा उनी निर्भिकताका साथ भन्छन्।
उनले केही समय अगाडि उडाएको प्याराग्लाइडर भारतबाट ल्याएको सेकेन्ड हेण्ड थियो, सत्तरी हजार दामको। प्यारामोटरको आकार यहीँ दिइएको हो भने मोटर (टेम्पोमा लाग्ने बढी सीसी क्षमता भएको) बाहिरबाट ल्याइएको थियो। टिपहार र हार्नेस दुबै होममेड हुन्। अब आवश्यक पर्ने सब सामग्री आफै बनाउने योजना छ र उनको आत्मविस्वाश पनि बढेको छ। यो सब गरेर छोड्छु भन्ने कुरामा उनी दृढ छन्।
पहिलोपटक प्याराग्लाइडिङ्गको उडान गर्ने जिम्मा कुडारी साँपुल्लीका लोकेश शाही र पदम शाहीले लिए। उनीहरू दुबैजना भारतको मनालीमा प्याराग्लाइडिङ्गको पाइलट भएर पाँच वर्ष काम गरेका हुन्। उनीहरूले बेलाबेलामा सुधार्नुपर्ने र नपुगेको थप्नुपर्ने सल्लाह दिए। टक्कबहादुरले पनि उनीहरूले भनेअनुसारको काम गरे। त्यसैले पनि टक्कबहादुरको आत्मविश्वास बढ्यो। उनी प्याराग्लाइडिङ्ग बनाउने काममा लागिरहे।
त्यसभन्दा अगाडि आफैले पनि धेरैपटक उडाउने प्रयास गरे।धेरैपटक असफल पनि भए, धेरैपटक चोट लाग्यो, घाउ बन्यो, बिरामी हुनुपर्यो तर हिक्मत हारेनन्। धरैपटकको असफलताले धेरै सिक्ने अवसर मिल्यो। जति सफल भए, उति छिटो घाउ पनि निको भएजस्तो भयो।
मेसिन फ्लाईबाट(जमिनबाट उड्ने) उड्न तत्काललाई सम्भव भएन पोखराकै (डाँडाबाट उड्ने) शैलीमा उड्नुपर्ने निश्कर्ष निकाले। त्यहीअनुसारको निर्माण कार्य सम्पन्न भएपछि उडान पनि सफल भयो। अब जसरी पनि मेसिन फ्लाई गराउने अठोट छ उनको।
अहिले दुईजना पाइलट, टक्कबहादुरलगायत साथीहरू मिलेर कर्णाली एरोडाइनामिक रिसर्च क्लब एण्ड एड्भेन्चर ग्रुप खोलेका छन्। यसबारे अनुसन्धान पनि गर्ने र साहसिक कार्यप नि गर्ने योजना छ। यसको उदेश्य भनेको पर्यटन प्रवर्द्धन र व्यावसायिक रुपमा जुम्लामा उडान गर्ने हो।
यदि प्राकृतिक सुन्दरता, हिमाल, हरिया डाँडापाखालाई मात्र पर्यटन आकर्णषको केन्द्रविन्दु मान्ने हो भने पर्यटन व्यवसाय मौसमी हुन्छ। कुनै एउटा सिजनमा मात्र पर्यटक भित्र्याउन सकिन्छ। तर, साहसिक पर्यटन केन्दको रुपमा विकास गर्न सकियो भने पर्यटकको लागि कुनै एउटा सिजन कुर्नु पर्दैन। पर्यटन व्यवसायको निम्ति 'अप सिजन' समाप्त हुन्छ र सदावहार रुपमा आम्दानी लिन सकिन्छ।
पछिल्लो समय साहसिक पर्यटन केद्रको रुपमा विकास भएदेखि पोखराले नयाँ ढंगले आम्दानी गरिरहेको छ। हामीले पनि पोखराजस्तै जुम्लाको विकास गर्न सक्छौं साहसिक पर्यटन केन्द्रको रुपमा। हामीले पनि अथाह आम्दानी लिन सक्छौं पोखराको जस्तै। हरेक घरले होमस्टेबाट आम्दानी लिन सक्छन्। त्यसका लागि टक्कबहादुर जस्ताको सिप उपयोग गर्न सक्नुपर्छ।
प्याराग्लाइडिङ्गलगायत अलट्रालाइट (पुतलीजहाज), जिप फ्लायर, बञ्जी जम्प, चट्टान आरोहण, साइकिलिङ्गजस्ता साहसिक कार्यसँग सम्बन्धित पर्यटन व्यवसायको सम्भाव्यताबारे थप अध्ययन गर्न सकिन्छ र सम्भव छ। त्यसका लागि हामी, हाम्रो आँगनको सरकार, प्रदेश र केन्द्र सरकार सबैले बेलैमा ध्यान दिन जरुरी छ।
टक्कबहादुर नेपालीजस्ता केही गर्न खोज्ने युवालाई सरकारले ऊर्जा दिन सक्नुपर्छ ताकि अन्य सिप र क्षमता भएकाहरूले पनि आफ्नो कला-कौशललाई उचित ढंगले उपयोग गर्न सकुन्। उनीहरूको सिप र क्षमताबाट सरकारले पनि नाफा लिन सकोस्।
उनले यो सब उद्यम गर्न पाँचलाख जति खर्च गरेका छन्। केही आफ्नो पैसा हो भने धरै ऋण गरेर खर्च जुटाएका छन्। नेपालमा उडान अनुमति छैन। यस्ता सिर्जनात्मक गतिविधिलाई अगाडि बढाउने अनुमति दिनुपर्यो। सरकारले ज्यान जाने खतरा भनेर उडान अनुमति नदिने कार्य गर्नु भएन। बरु बिमा गरिदिनु पर्यो।जसले सम्भावित जोखिम व्यवस्थापन हुन्छ।
केही गर्न चाहने युवालाई सरकारले सहुलियत ब्याजदरमा ऋण दिनुपर्यो। उनीहरू तोकिएको समयमा साँवा तिर्न सक्छन्। ब्याज तिर्न तयार छन् र सरकारलाई कर तिर्न पनि तयार छन्। त्यसैले सरकारले उनीहरूबाट फाइदा लिने काम गरोस्।
( टक्कबहादुरसँगको कुराकानीमा आधारित )