राष्ट्र बैंकले तोक्यो नयाँ नोट साट्ने स्थान, कहाँ–कहाँबाट पाइन्छ ?

फाइल तस्बिर

नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

उपत्यकाभित्र विभिन्न बैंकसँग मिलेर नयाँ नोट सटहीको व्यवस्था मिलाएको बैंकले उपत्यका बाहिर भने आफ्ना कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराएको छ ।

थापाथली कार्यालयबाट नयाँ नोट नपाइने

राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । तर, यसपटक राष्ट्र बैंकले रकम वितरण गर्ने सूचीमा थापाथली कार्यालय छैन । थापाथलीस्थित कार्यालयको भवन पुनर्निर्माणको काम जारी रहेकाले यस वर्ष थापाथलीबाट नयाँ नोट नबाँड्ने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं उपत्यकाका यी स्थानबाट पाइन्छ नयाँ नोट

उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

 Image result for नयाँ नोट

राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट उपलब्ध गराउने छन् ।

राष्ट्र बैंकका अनुसार, कृषि विकास बैंकले काठमाडौं उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट बाँड्दै छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ ।


उपत्यका बाहिर कहाँ–कहाँबाट पाइन्छ?

राष्ट्र बैंकले काठमाडौं उपत्यकासँगै अन्य जिल्लामा पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ ।राष्ट्र बैंकका अनुसार, उसका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुनेछ ।

 

प्रकाशित मिति: : 2019-09-23 11:08:31

प्रतिकृया दिनुहोस्