विनापूर्वाग्राही ढङ्गबाट कलम चलाउनु: मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट,फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चारकर्मीलाई निष्पक्ष, इमान्दारिता र विनापूर्वाग्राही भएर कलम चलाउन सुझाव दिएका छन्।

आज धनगढीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को प्रथम सुदूरपश्चिम प्रादेशिक महाधिवेशनको उद्घाटन समारोहमा उनले कुनै पनि विषयवस्तुका बारेमा निष्पक्ष, इमान्दार र विनापूर्वाग्राही भएर कलम चलायौँ भने सत्तामा बसेकालाई सहज हुन्छ र जनतालाई पनि लाभ हुने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री भट्टले कलममा धेरै ठूलो शक्ति रहेकाले सकारात्मक सुझाव दिन सञ्चारकर्मीलाई आग्रह गरे । “कलमको शक्ति भनेको सबभन्दा ठूलो शक्ति हो”, मुख्यमन्त्री भट्टले भने, “यदि त्यस शक्तिलाई सही तरिकाले प्रयोग गरिएन भने हामी सबैलाई धेरै ठूलो क्षति हुन्छ ।”

कार्यक्रमका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारकर्मी देशका पहरेदार रहेको बताउँदै सञ्चारकर्मीका क्षमता, अभिवृद्धिलगायत भौतिक संरचनाका लागि हरदम प्रदेश सरकारबाट सहयोग रहने उल्लेख गरे ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, केन्द्रीय उपाध्यक्ष लक्की चौधरी, नेकपाका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य तारालामा तामाङ, प्रदेशसभा सदस्य वीरमान चौधरीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति: : 2019-10-24 21:23:34

प्रतिकृया दिनुहोस्