जुम्लामा एप्पल फेष्टिबल हुँदै (भिडियोसहित)

तस्बिरः बिएल

भदौ लागेसँगै जुम्लामा स्याउको चर्चा सुरू भएको छ। भदौ स्याउको लागि उपयुक्त मौसम हो।

हाल जुम्लाको स्याउ नेपालगन्ज, सुर्खेतलगायतका बजारमा पुगिसकेको भए पनि स्याउ टिप्न मिल्ने भने भइसकेको छैन। कृषि ज्ञान केन्द्रका जुम्लाका अनुसार रेड डेलिसियस र रोयल डिलसिय टिप्ने र बिक्री गर्ने उपयुक्त समय भदौ दास्रो हप्ताको सुरुवातबाट हो भने गोल्डेन डेलिसियस अन्तिस साता।

गएको वर्ष कृषि ज्ञान केन्द्रले भदौ १० गतेबाट स्याउ टिप्न सुझाएको थियो। यो वर्ष साउन बीस नलाग्दै स्याउ काँचो स्याउ बजारमा आएपछि ज्ञान केन्द्रले सूचना निकालेरै काँचो स्याउ नटिप्न किसानहरुलाई आग्रह गरेको थियो।

स्याउमा भएको अम्लीय पदार्थ ग्लुकोजमा परिणत हुने उपयुक्त समय यतिबेला भएकाले यतिबेला किसानहरु स्याउ टिप्ने र व्यापारीलाई उचित मोलमा बेच्ने तयारी गरिरहेका छन्।

यही समयमा जुम्लाको स्याउको थप चर्चा गर्न र स्याउका विविध  आयामहरुको विषयमा थप छलफल गर्न जुम्लामा दोस्रो पटक एप्पल फेष्टिबल (स्याउ महोत्सव) आयोजना गर्न लागिएको छ।

भदौ १४ गते जुम्ला खलंगामा गरिने एप्पल फेष्टिबलको विषयमा जनाकारी दिन फेष्टिबल आयोजक संस्था कान्जिरोवा टाईम्सले जनाएको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै भदौ १४ गते हुने फेष्टिबलको तिब्र तयारी भैरहेको कान्जिरोवा टाईम्सका निर्देशक सरोज शाहीले जानकारी दिए। 'जुम्लामा हरेक वर्ष स्याउ उत्पादन बढिरहेको भएपनि उत्पादन अनुसार बजार बिस्तार भएको छैन,' उनले भने,'बजारको खोजी, प्रचारप्रसार र एग्रो टुरिजमलाई मध्यनजर गरि एप्पल फेष्टबल गर्न लागेका छौ।'

पछिल्लो समय जुम्लाको स्याउलाई कच्चा पदर्थको रुपमा प्रयोग गरि विभिन्न प्रकारका परिकार बनाउने उद्योहरु खुल्ने क्रम बढ्दो छ। हाल जुम्लामा दुई वटा स्याउको ब्रान्डी बनाउने उद्योगहरु रहेका छन् भने चाना जाम, जुस, साइडर बनाउने साना उद्योगहरु दर्जनौंको संख्यामा खुलेका छन्।

स्थानीय उत्पादनसँग सम्बन्धित रहेर उद्यमशील गतिविधि सञ्चालन गरि रोजगारी प्रवर्द्धन गर्ने सकिने कान्जिरोवा टाईम्सका प्रबन्ध निर्देशक महेन्द्र कार्कीको मत छ। उनी भन्छन्,'युवाहरुलाई उद्यमी बनाउने, आधुनिक तरिकाले खेती गर्न उत्साहित गराउने र बजारको सृजना गर्न सहयोग होस भनेर फेष्टिबल आयोजना गर्न लागिएको हो।’

कार्यक्रममा जिल्लामा रहेका कृषि विज्ञान अध्ययापन हुने कलेजहरुका अनसन्धानात्मक प्रस्तुति रहनेछन् भने, उद्योगी तथा किसानहरुले आफ्ना उत्पादनको प्रदर्शन गर्नेछन्।

कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री विमला केसीले गर्ने आयोजक जनाएको छ।

प्रकाशित मिति: : 2019-08-20 19:02:32

प्रतिकृया दिनुहोस्