सबै नागरिकले सम्मानजनक तरिकाले बाँच्नसक्ने अवस्था सिर्जना गर्दैछौं: कानूनमन्त्री केसी

फाइल तस्बिर

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशमा सबै नागरिकले सम्मानजनक तरिकाले बाँच्नसक्ने अवस्था सिर्जना हुने बताएका छन् ।

बिहिबार आयोजित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवालमा प्रदेशस्तरीय बहस कार्यक्रममा मन्त्री केसीले सबै समुदायले आत्मसम्मानपूर्वक बाँच्न पाउने कुरा मौलिक हकको विषय भएकाले यसको व्यावहारिक कार्यान्वयन जरुरी रहेको बताए ।

मन्त्री केसीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सवालमा सरकार गम्भीर रहेको बताउँदै आवश्यकता र मागलाई ध्यानमा राखेर प्रदेश सरकारले योजना बनाउने बताए ।

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि रोजगारीको अवसर सिर्जना गर्न लोकसेवा आयोगमा प्राथमिकता दिने गरी विशेष प्रस्ताव बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

एक्लोलाई साहारा दिने वृक्ष समूह रुपन्देहीलगायत विभिन्न संस्थाले आयोजना गरेको सो कार्यक्रममा प्रदेशसभाका सदस्य दीपा विश्वकर्माले सबै समुदायको भावनाको प्रतिनिधित्व हुनेगरी प्रदेशमा नीति तथा कानून बनाउने काम भइरहेको बताए ।

प्रकाशित मिति: : 2019-10-24 14:32:07

प्रतिकृया दिनुहोस्