खाद्यान्न स्वच्छताको आधारमा जुम्लाका होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरिएको छ।
होटल तथा रेष्टुरेन्ट व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले स्तरीकरण गरेको हो ।
जुम्लाका नौ होटल तथा रेष्टुरेन्टको अनुगमनपश्चात स्तरीयकरण गरिएको हो । होटल तथा रेष्टुरेन्टको अनुगमन हुँदा अति उत्तममा कोही पनि नपरेको खाद्य अनुसन्धान अधिकृत अमित भूषण सुमनले जानकारी दिए।
पौवा र कान्जीरोवा होटलले उत्तमको उपमा पाएका छन्। उत्तमको सूचीमा परेका पौवा र कान्जीरोवा होटललाई दुई स्टार भएको खाद्य स्वच्छताको लोगो प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले दिए।
सन्तोषजनक रहेका होटल सुन्दर रारा कर्णालीले एक स्टार भएको लोगो पाएको छ। निर्देशिकानुसार खाद्य स्वच्छता स्तर अति उत्तम भएका होटल, रेष्टुरेन्टमा ‘क’ वर्गको तीनतारे हरियो ‘स्टिकर’ टाँस्ने व्यवस्था छ। यस्तै उत्तम भएका ‘ख’ वर्गको दुईतारे हरियो ‘स्टिकर’ र सन्तोषजनकमा ‘ग’ वर्गको एकतारे हरियो ‘स्टिकर’ र सामान्यमा ‘घ’ वर्गको पहेलो ‘स्टिकर’ टाँस्ने व्यवस्था छ।
‘स्टिकर’ टाँससँगै व्यवसाय सञ्चालकलाई खाद्य स्वच्छता स्तरको प्रमाणपत्र समेत प्रदान गरिएको छ। पहिलो चरणमा सदरमुकामस्थित नौ होटल तथा रेष्टुरेन्टलाई स्तरीकरण गरिएको अनुसन्धान अधिकृत सुमनले बताए।
स्तरीकरणमा होटल अमर सन्देश, रिग्मो, नेवा किचन, स्टार, दौतरी र मान सरोबर होटेलको अनुगमन गरिएको थियो।
क्षेत्रीय होटल सङ्घका अध्यक्ष दिलबहादुर महतको संयोजकत्वमा रहेको स्थानीय खाद्य स्वच्छता समूहले अनुगमन तथा मूल्याङ्कन गरेको हो। खाद्य स्वच्छता बढाउन उत्प्रेरित गर्ने उद्देश्यले होटल, रेष्टुरेन्टको वर्गीकरण गरिएको हो। खाद्य अनुसन्धान अधिकृत सुमनका अनुसार कानुनी रूपमा दर्ता भएका होटल तथा रेष्टुरेन्टलाई मात्र स्तरीकरण गर्ने गरिएको छ। अबका छ महिनापछि पुनः अनुगमन गरिने उनले जानकारी दिए।